ड्यालस (अमेरिका) । नेपालीहरुद्वारा नेपालीकै लागि अमेरिकामा स्थापित एभरेष्ट फेडरेल क्रेडिट युनियनले आफ्नो पाँचौ साधारण सभा शनिबार टेक्ससको युलेसमा सम्पन्न गरेको छ ।
साधारण सभाले आउँदो बर्षहरुका लागि आर्थिक तथा प्रगति विवरण पारित गर्नुका साथै कर्जा तथा निक्षेप वृद्धि, सदस्यता व्यापक रुपमा बढाउने र अमेरिकामा नेपालीहरुको बाहुल्यता रहेको बिभिन्न शहरहरुमा पनि सेवा विस्तार गर्ने नीति तय गरेको छ । साधारण सभामा संस्थाका अध्यक्ष डा. मदन उप्रेतीले नेपाली समुदायको आर्थिक समुन्नतीका लागि स्थापना गरिएको उल्लेख गर्दै सदस्यता विस्तारसँगै सेवा विस्तार समेत हुने हुँदा अमेरिकाका नेपाली समुदायका सबैजना जोडिन आग्रह गरे ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुमन तिमिल्सिनाले संस्थाको हालसम्मको अवस्थाका बारेमा जानकारी गराउँदै विगत एक वर्षमा संस्थाको सदस्यता विस्तार, निक्षेप संकलन, कर्जा विस्तारमा गुणात्मक फड्को मारिएको उल्लेख गरे ।
आफ्नै भवन उदघाटनः
यसैबीच संस्थाले पहिलो पटक आफ्नै भवन खरिद गरेको छ । युलेसको हाइवे टेनमा जोडिएको भवन संस्थाले खरिद गरेको हो । युलेसको निकै महत्वपूर्ण स्थानमा संस्थाले सम्पत्ति जोडेर सेवा सुरुवात गरेको अवसरमा शनिबार बिहान सरोकारवालाहरुले निकै खुशी व्यक्त गर्नुका साथै सफलताको शूभकामना समेत व्यक्त गरेका छन् ।
युलेस सिटी टेक्ससमा नेपाली समुदायको सबैभन्दा बाक्लो वस्ती भएको सिटी हुनुका साथै व्यसायीक दृष्टिले समेत निकै महत्वपूर्ण मानिन्छ ।

नयाँ कार्यालय भवनको विशेष समारोहबीच उद्घाटन गरिएको छ । प्रमुख अतिथि टेक्सस हाउसका कंग्रेसम्यान सलमान भोजनी लगायत उपस्थित अतिथिहरुले कार्यालयको रिबन काटेर उद्घाटन गरेका थिए ।
समारोहमा भोजनीले नेपाली समुदायको आर्थिक प्रगतिको आधार क्रेडिट युनियन हुने चर्चा गर्दै शुभकामना व्यक्त गरे ।
कार्यक्रममा पाँचौ साधारण सभाका कन्भेनर मोहन ज्ञवालीले नेपाल बाहिरका नेपालीहरुले स्थापना गरेको पहिलो वित्तिय संस्था आउँदो पुस्ताका लागि अमूल्य उपहार हुने भएकोले सबैको साथ र सहयोगको अपेक्षा राखिएको उल्लेख गरे ।
नयाँ कार्यालय भवन एउटा अफिस मात्र नभएर नेपाली समुदायको आर्थिक भविष्यको आधार पनि हो ज्ञवालीले भने ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले आफ्नो कार्यकालमा देखेको सपना अहिले यथार्थतामा परिणत हुँदै गएकोमा खुशी व्यक्त गर्दै शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा कन्सुलेट जनरल सुरेश अधिकारी, एनआरएनए अमेरिकाका पूर्ब अध्यक्ष डा. केशव पौडेल, युलेस सिटी काउन्सिल सदस्य टीका पौडेल, नेपाली समाज टेक्ससका अध्यक्ष विजय भुुसाल, संस्थाका प्रमुख वित्तिय अधिकृत विराज रिजाल लगायतले एभरेष्ट फेडरल क्रेडिट युनियनका बिभिन्न पक्षबारे बताएका थिए ।












प्रतिक्रिया