अमेरिका, बोस्टन । अमेरिकाको ऐतिहासिक सहर बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)ले श्रीमतभागवत सप्ताह ज्ञान महायज्ञ “बोस्टन सप्ताह ज्ञान महायज्ञ-२०२६”को आयोजना गर्ने भएको छ।
पहिलो श्रीमतभागवत सप्ताह ज्ञान महायज्ञ “बोस्टन सप्ताह-२०१७”मा उठेको दान रकमले जोडिएको भवनमा दोश्रो श्रीमतभागवत सप्ताह ज्ञान महायज्ञ “बोस्टन सप्ताह ज्ञान महायज्ञ-२०२६” आयोजना गर्न लागिएको हो। उक्त महायज्ञमा पहिलो महायज्ञमा कथा वाचनको मूख्य भूमिका निवाह गरेका कथा वाचक पण्डित दीनबन्धु पोखरेलले नै यस महायज्ञमा पनि कथा वाचकन गर्ने भएका छन्।

धार्मिक ज्ञान प्रवाह गर्ने तथा संस्थाका लागि आवश्यक आर्थिक रकमको जोहो गर्ने मुख्य उद्देश्य राखेर आयोजना गर्न लागिएको यस महायज्ञ, यही आउदो अगस्ट १६ देखि अगस्ट २३, २०२६ सम्म सञ्चालन हुने गरी आवश्यक तयारी थालिएको छ।
संस्थाले दिएको जानकारी अनुसार, कार्यसमितिका प्रथम उपाध्यक्ष मिलन कुमार कार्कीको संयोजकत्वमा श्रीमतभागवत ज्ञान महायज्ञ “बोस्टन सप्ताह ज्ञान महायज्ञ-२०२६”मूल समारोह समिति गठन गरिसकिएको छ। त्यसैगरी, सल्लाहकार समितिको संयोजकमा संस्थाका संस्थापक अध्यक्ष विष्णुमणि आचार्यलाई चयन गरिएको छ। मूल समारोह समितिमा संस्थाको बोर्ड अफ ट्रस्टिज समिति, कार्यसमिति, प्रवासी नेपाली समुदायका संघ संस्थाहरु लगायत सक्रिय सामाजिक व्यक्तित्वहरुलाई समेटिएको संस्थाले जनाएको छ।
महायज्ञको मिति नजिकिँदै गर्दा आवश्यक तयारीलाई तिब्रता दिइरहिएको मूल समारोह समितिका संयोजक कार्कीले बताए। समितिले महायज्ञलाई ऐतिहासिक, प्रभावकारी तथा उपब्धिमूलक बनाउन अनुभवी तथा सक्रिय व्यक्तित्वहरुलाई समेटेर विभिन्न उपसमितिहरु पनि गठन गरिएको र उक्त कार्य जारी रहेको उनले बताए। संयोजक कार्कीले दिएको जानकारी अनुसार हालसम्म पूजा व्यवस्थापन उपसमिति, आवास तथा भोजन उपसमिति, यातायात तथा पार्किङ व्यवस्थापन उपसमिति, सञ्चार व्यवस्थापन उपसमिति, भजन कीर्तन उपसमिति, अतिथि सत्ककार उपसमिति, कलश यात्रा उपसमिति, महाप्रसाद व्यवस्थापन उपसमितिलगायत दुइ दर्जन बढि उपसमितिहरु गठन गरिसकिएको छ।
तयारी अन्तर्गत मूल समारोह समितिले आगामी जुन २८, २०२६ आइतबार दिनको ठिक ३बजे आफ्नै सामुदायिक भवनमा बृहत् बैठक गर्ने भएको छ। संयोजक कार्कीका अनुसार महायज्ञलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण सुझाव सल्लाहरु सङ्कलन गर्ने, जिम्मेवारी बाँडफाँड गर्ने , गठित समितिहरुलाई पूर्णता दिने, आवश्कता परे थप समितिहरु गठन गर्ने र सामुदायिक एकतालाई थप मूर्त रुप दिने बैठकको उद्देश्य रहेको छ। उनले उक्त बैठकमा सहभागिता जनाउन न्यू इङ्गल्याण्डबासी सबै प्रवासी नेपालीहरुलाई अनुरोधसमेत गरेका छन्।
संयोजक कार्कीले महायज्ञ केवल धार्मिक कार्यक्रम मात्र नभएर प्रवासी नेपालीहरुको पहिचान तथा गौरवलाई थप बलियो बनाउने अभियान पनि भएको जिकिर गरे। उनले महायज्ञ संस्थाको आर्थिक पाटोलाई मजबुत बनाउनका लागि आवश्यक आर्थिक सहयोग जुटाउन र समुदायका सदस्यहरुबीच भाइचाराको सम्बन्धलाई थप कसिलो बनाउनमा पनि केन्द्रिकृत रहने बताए। संयोजक कार्कीले यस अभियानमा जोडिन सबै न्यू इङ्गल्याण्डबासी प्रवासी नेपालीहरुलाई अनुरोध गर्दै भने, “यो धार्मिक कार्यक्रम मात्र नभएर नेपालीहरुको पहिचान र गौरवलाई थप कसिलो बनाउने सामूहिक एकताको अभियान पनि हो। यस अभियानमा जोडिन सबैलाई आयोजकको तर्फबाट अनुरोध गर्दछु।”
मुख्य गरी प्रवासी नेपाली समुदायको हितार्थ आवश्यक सामाजिक कार्य गर्ने मूख्य उद्देश्य लिइ सन् २०१२मा स्थापित यस संस्थाले सामुदायिक भवन जोड्ने महत्वकाँक्षी लक्ष्य लिएर आफ्नो अभियानलाई अगाडि बढाएको थियो। उक्त अभियानलाई सार्थक बनाउन आवश्यक पर्ने अर्थको जोहो गर्ने उद्देश्यले नेपालीहरुको महान चाड तिहारमा द्येउसी भैलो खेल्न सुरु गरेको थियो। जसलाई हालसम्म निरन्तरता दिदैआइरहेको छ।

(फाइल तस्बिर : सन् २०१७अगस्ट ६देखि १२सम्म शिवालय मन्जमन्दिरमा आयोजना गरिएको महायज्ञको झलक )
उक्त अभियानलाई तिब्र बनाउने मुख्य उद्देश्यले सन् २०१७को अगस्ट ६ देखि १२सम्म (सात दिन)शिवालय मन्दिर परिसरमा श्रीमतभागवत सप्ताह ज्ञान महायज्ञ तथा बृहत् आध्यात्मिक महोत्सव “बोस्टन सप्ताह-२०१७” आयोजना गरिएकको थियो। चर्चित बाचन पण्डित दीनबन्धु पोखरेलद्वारा वाचन गरिएको उक्त सप्ताह ज्ञान महायज्ञमा दाताहरुले गरेको दान रकम र दान गर्ने प्रतिबद्धतासहित घोषणा गरिएको कूल रकम १७ लाख डलर रहेको थियो।
त्यही दान स्वरुप प्राप्त रकम र अपुग रकम बैंकबाट कर्जा लिएर बोस्टन नजिकैको ब्रेनट्री सिटीको 594 Washington Street, Braintree स्थित फष्ट वाप्टिष्ट चर्चका रुपमा रहेको भवन कूल १७ लाख ५० हजार अमेरिकी डलर खर्चिएर अगष्ट ७, २०१९ का दिन खरिद गरिएको थियो। खरिद गरिएको भवन “पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू ईङ्गल्याण्ड” को नाममा रहेको छ। १४ हजार ४ सय स्क्वायर फुट जमिनमा रहेको उक्त भवनमा पशुपतिनाथको मन्दिर र स्वयम्भु स्तुपा स्थापना गरी सञ्चालनमा ल्याइएको छ।
सन् २०२२को मे २७ देखि ३० तारिखसम्म ४ दिने बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न गरी विधिवत मन्दिर तथा स्तुपा सञ्चालनमा ल्याइएको थियो। तत् पश्चात् मन्दिरमा हिन्दू धार्मिक पात्रो अनुसारका धार्मिक तथा सांस्कृतिक चाड पर्वहरुमा विशेष कार्यक्रमहरुको आयोजन गरी विविध धार्मिक क्रियाकलापहरु गरिदै आइरहिएको छ । श्रद्धालु भक्तजनहरुलाई देवीदेवताहरुको दर्शन तथा पूजापाठका लागि मन्दिर दैनिक खुला गरिने गरिएको छ।












प्रतिक्रिया