अमेरिका समाचार

ग्रेटर अस्टिनमा चुनावी रौनक

ग्रेटर अस्टिनमा चुनावी रौनक


अस्टिन, टेक्सस – ग्रेटर अस्टिन नेपाली सोसाइटीमा यसपालि हुन लागेको निर्वाचनले अस्टिन क्षेत्रको नेपाली समुदायमा व्यापक चासो, उत्साह र बहस सिर्जना गरेको छ। पहिलोपटक हुन लागेको  प्रतिस्पर्धात्मक चुनावलाई धेरैले निर्णायक चुनावका रूपमा व्याख्या गरिरहेका छन्। निर्वाचन आगामी मे २४, २०२६ मा टेक्ससको हट्टोस्थित ग्रेटर अस्टिन नेपाली सोसाइटीको सभा हलमा सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ।

मतदान बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म हुनेछ। सोही दिन मतगणना गरी परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ। संस्थामा कुल ११०६ जना रजीस्ट्रड मतदाता रहेका छन्।  ट्रस्टी मेम्बरहरूले बोर्ड अफ ट्रस्टी र ज्ञान्स कार्यसमितिको लागी मतदान गर्नेछन् भने सदस्यहरूले ज्ञान्स कार्यसमितिको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नेछन्। 

Advertisement

यसपालिको निर्वाचनमा अध्यक्ष पद सबैभन्दा बढी चर्चामा रहेको छ। प्रारम्भमा अध्यक्ष पदकालागि उम्मेदवारी दर्ता गराएका रामकुमार महतोले निर्वाचन आयोगले तोकेको समयसिमा पार गरिसकेपछी उम्मेदवारी फिर्ता लिएपछि चुनावी माहोलले नयाँ मोड लिएको थियो। उम्मेदवारी फिर्तापछि अब प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषयमा समुदायभित्र व्यापक अन्योल देखिएको थियो। त्यसपछि निर्वाचन आयोगले उम्मेदवारको नाम मतपत्रमा यथावत् रहने निर्णय सार्वजनिक गर्दै टेक्सस निर्वाचन कानुनअनुसार प्रक्रिया अगाडि बढाइने स्पष्ट पारेको थियो। 

यो घटनाले समुदायभित्र नयाँ बहस जन्माएको छ। केही सदस्यहरूले उम्मेदवारी फिर्तापछि नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखेका छन् भने केहीले यसलाई संस्थागत स्पष्टताको अभावको उदाहरणका रूपमा लिएका छन्। धेरै सदस्यहरू अब विवादभन्दा पनि स्थायित्व र सहकार्य खोजिरहेको देखिन्छ।

अध्यक्ष पदमा अहिले पदम ठकुराठीको उम्मेदवारी पनि निकै चर्चामा रहेको छ। ठकुराठी टिमले घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राखेको देखिन्छ भने, महतोको टिमले व्यक्तिगत नेटवर्कमार्फत समर्थन जुटाउने प्रयास गरिरहेका देखिन्छ। दुबै टिमको चुनावी माहोलसँगै समुदायमा उत्साह, जिज्ञासा र अपेक्षाको मिश्रित वातावरण देखिएको छ। 

यसपालिको कार्यसमिति निर्वाचनमा अध्यक्ष पदबाहेक अन्य पदहरूमा पनि प्रतिस्पर्धा रोचक बनेको छ। वरिष्ठ उपाध्यक्ष पदमा अशोक कुमार शाही र विनोद कुमार साह आमनेसामने छन् भने महिला उपाध्यक्ष पदमा सपना राउत र ज्ञानु कुमारी कोइराला चुनावी मैदानमा छन्। उपाध्यक्ष पदमा धिरेन्द्र कुमार यादव र बोधराज घिमिरेबीच प्रतिस्पर्धा हुँदैछ। महासचिव पदमा सूर्य कार्की र विष्णु पहाडी चुनावी प्रतिस्पर्धामा छन् भने सचिव पदमा रोशन बुढाथोकी र प्रिन्स भट्ट आमनेसामने छन्। कोषाध्यक्ष पदमा नारायण प्रसाद रिजाल र यात्री ओली प्रतिस्पर्धामा उत्रिएका छन्।

सदस्य पदमा मुकुन्द कँडेल, दीपक हुमागाईं, बिनम आचार्य, इन्दिरा दाहाल काफ्ले, प्रदीप कुमार भडेल, एलिजा थापा–पौडेल, शिव प्रसाद अधिकारी र उर्मिला चौलागाईं चुनावी मैदानमा छन्।

त्यसैगरी बोर्ड अफ ट्रस्टीतर्फ प्रमुख पदमा देवराज न्यौपाने निर्विरोध भएका छन् भने उपप्रमुख पदमा निरोज मानन्धर निर्विरोध चयन भएका छन्। सदस्य पदका लागि हर्ष बहादुर नाकर्मी, रोशन गोसाई, सुरज अधिकारी, सूर्य नारायण साह, टिका माया गुरुङ, वर्षा गौतम, देवी भेटुवाल, ईश्वर बास्तोला, राजेश्वर निरौला र शर्मिला थापा खनालबीच प्रतिस्पर्धा हुँदैछ।

एकातिर पछिल्ला वर्षहरूमा आफूहरूले गरेका काम, समाजसेवाको निरन्तरता र अनुभवको आधारमा विजय हासिल गर्नेमा महतो टिम आत्मविश्वासी देखिन्छ। अर्कोतर्फ, ठकुराठी टिम भने नयाँ सोच, नयाँ भिजन र परिवर्तनको एजेन्डासहित मैदानमा आएको दाबी गर्दै यसपालि अस्टिनको नेपाली समुदायले नयाँ नेतृत्व रोज्नेमा विश्वस्त देखिएको छ।

यही फरक दृष्टिकोण, प्रतिस्पर्धात्मक माहोल र समुदायभित्र बढ्दो चासोका कारण पनि यसपालिको ज्ञान्स निर्वाचनलाई अत्यन्त रोचक र निर्णायक रूपमा हेरिएको छ।

समुदायका धेरै सदस्यहरूले अब निर्वाचित भएर आउने नेतृत्वले मन्दिर व्यवस्थापन, संस्थागत अनुशासन र समुदायलाई विभाजनभन्दा एकताको दिशामा लैजाने अपेक्षा गरेका छन्। समुदायका धेरै सदस्यहरूले अब लामो समयदेखि चल्दै आएको दोषारोपण, गुटगत राजनीति, व्यक्तिगत विवाद तथा सामाजिक सञ्जालमा देखिने कटाक्षको अन्त्य चाहिरहेका छन्। विशेषगरी खराब राजनीतिमा होमिन नचाहने, तर समुदायको भविष्यप्रति चिन्तित अस्टिनवासी नेपालीहरू यसपालिको निर्वाचनलाई अत्यन्त निर्णायक अवसरका रूपमा हेरिरहेका छन्। 

GANS Ballot
Trustee Ballot