अमेरिकामा मन्दिर अभियान
महाशिवरात्री पर्वका बेलामा नेपालमा श्री पशुपतिनाथ मन्दिर लगायतका शिव पीठहरुमा भक्तजनहरुको भीड लाग्नु स्वभाविक हो। हिन्दुहरुको आराध्य देव श्री पशुपतिनाथमा महाशिवरात्रिमा नेपालीहरु दर्शनका लागि जाने परम्पराले प्रवासमा समेत निरन्तरता पाउन थालेको छ। काठमाण्डौंस्थित श्री पशुपतिनाथ मन्दिरमा दशौं लाख भक्तजनहरुले दर्शन र पूजा-अर्चना गर्दछन् भने नेपाल बाहिर नेपालीहरुको बढी घनत्व भएका देश/शहरहरुमा महाशिवरात्रि पर्व विशेष धार्मिक उत्सवका साथ मनाउने क्रम बढिरहेको छ।

अमेरिकाको विभिन्न शहरहरुमा नेपालीहरुले पशुपतिनाथ मन्दिर एवं नेपाली सामुदायिक केन्द्र बनाउने अभियान निकै हाल तिब्र भएको छ। नेपालीहरुको आफ्नै मन्दिर वा सामुदायिक भवन भएको स्थानहरुमा हिजो महाशिवरात्रि पर्व धुम-धामले मनाएकाछन्।

यसैबीच बृहत्तर ह्युस्टनको रिचमण्डस्थित श्री पशुपतिनाथ मन्दिरमा पनि हिजो महाशिवरात्रि पर्व विशेष पूजा अर्चना सहित मनाइएको छ। श्री पशुपति मन्दिर व्यवस्थापन समितिले महाशिवरात्री पर्वका अवसरमा मन्दिर आउने भक्तजनहरुका लागि बिहानैदेखि पूजा-अर्चना गर्ने व्यवस्था गरेको थियो। निश्चित शुल्क लिएर पूजा सामग्री सहित विहान र बेलुकी दुई सिफ्टमा विशेष पूजा गर्ने व्यवस्था मिलाएको मन्दिर व्यवस्थापन समितिले भक्तजनहरुलाई महाप्रसादको समेत व्यवस्था गरेको थियो भने मन्दिर परिसरमै शिवरात्री होम गर्ने व्यवस्था समेत गरेको थियो। मन्दिरका पुजारी गुरु दिलीप शास्त्रीले धार्मिक विधिपूर्वक सामूहिक शिव पूजा, होम एवं महाआरती गराएका थिए भने भक्तजनहरु शिवलिंगको दर्शन र पूजाका लागि लामबद्ध देखिन्थे। महाशिवरात्रि विशेष पूजाका लागि बृहत्तर ह्युस्टन वरिपरिका करिब दुई हजार जना नेपाली तथा भारतीय समुदायका भक्तजनहरु भगवान शिवको पूजा-अर्चनाका लागि पुगेका थिए।

महाशिवरात्रि उत्सवकाबीच कैयन भक्तजनहरुले बृहत्तर ह्युस्टनमा बन्दै गरेको भव्य श्री पशुपतिनाथ मन्दिर तथा सामुदायिक भवन निर्माण अभियानमा सहयोगको घोषणा समेत गरेका थिए। आगामी नेपाली नयाँ वर्षसम्ममा करिब ५०० जना अट्ने सामुदायिक भवनको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नेप्लिज एशोसियसन (एनएएच)का अध्यक्ष ज्ञानेश्वर श्रेष्ठले जानकारी गराएका छन्। नयाँ मन्दिर र सामुदायिक भवन निर्माण अभियान शुरु भएसंगै मन्दिरमा आउने भक्तजनहरुको संख्या पनि उल्लेख्यरुपमा बढिरहेको देखिन्छ। महाशिवरात्रीका अवसरमा आएका सयौं भक्तजनहरुको भिडले उत्साहित अध्यक्ष श्रेष्ठ नयाँ पशुपतिनाथ मन्दिर र सामुदायिक भवन निर्माण सम्पन्न भएपछि झन् धेरै नेपाली तथा भारतीय मूलका भक्तजनहरु आउनेमा विश्वस्त देखिन्थे।

मन्दिर निर्माण अभियानमा शुरुदेखि नै सक्रिय सल्लाहकार द्रोण गौतम बृहत्तर ह्युस्टनका नेपालीहरुको आफ्नै मन्दिर र सामुदायिक भवन निर्माणका लागि जारी सहयोग सङ्कलन अभियानमा देखिएको सहभागिता देखेर निकै उत्साहित देखिन्थे। हामी पशुपतिनाथ मन्दिर र सामुदायिक भवन तोकिएको समय सीमा भित्रै बनाइछाड्ने अठोटका साथ सहयोग सङ्कलन अभियान चलाइरहेका छौं। जो ह्युस्टन वरिपरि बस्नुहुन्छ, यस अघि सहयोग गर्न पाउनु भएको छैन भने हाम्रो नेपाली मन्दिर बनाउने अभियानको हिस्सा बन्न नछुट्नु हुन पनि गौतमले सबै नेपाली समुदायलाई अपील गरेका छन्।

बिहानैदेखि मन्दिर परिसरमा पूजा व्यवस्थापन र स्वंय सेवामा सक्रिय एनएएच र मन्दिर व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरुले महाशिवरात्रिका अवसरमा पूजा-अर्चनाका लागि आएका भक्तजन/दर्शनार्थीहरुलाई सहजीकरण गरिरहेका देखिन्थे। आर्थिक सङ्कलन समितिका सदस्य हरि न्यौपाने सहयोग सङ्कलन रजिष्टर बोक्दै मन्दिरमा आउने भक्तजनहरुलाई आफ्नो मन्दिर बनाउने अभियानमा सकेको सहयोग गर्न भनिरहेका देखिन्थे। न्यौपानेका अनुसार श्री पशुपतिनाथको नयाँ मन्दिर तथा सामुदायिक भवन निर्माणका लागि हालसम्म करिब २४ लाख डलर सहयोगको प्रतिबद्धता प्राप्त भएको छ भने करिब पाँच लाख ५० हजार डलर नगद संङ्कलन भइसकेको छ। दिनभर मन्दिरमा आएका भक्तजनहरुलाई महाप्रसाद बनाउने, वितरण व्यवस्थापन मिलाउने काममा दर्जनौं स्वंयसेवीहरु खटेका देखिन्थे।

स्थानीय सरकारको नेपाली मन्दिर र चाडपर्वहरुमा सहभागिता/सहयोग बढाउन पनि एनएएच लागिरहेको छ। हिजो महाशिवरात्रीका अवसरमा स्थानीय फोर्टवेण्ड काउण्टीका कमिश्नर तथा आगामी चुनावमा काउण्टी जजका संभावित उम्मेदवार डेक्स्टर म्याकोय समेत पशुपति मन्दिरको दर्शनमा सहभागी भएका थिए। कमिश्नर म्याकोयले नेपाली समुदायको बढ्दो उपस्थिति र नेपालीहरुको साँस्कृतिक पर्वहरुमा देखिने उल्लेखनीय उपस्थिति निकै प्रशंसनीय रहेको बताए। उनसे काउण्टीका तर्फबाट भविष्यमा नेपाली समुदायलाई सहयोग गर्न आफू सकारात्मक रहेको समेत बताए। एनएएचकी प्रथम उपाध्यक्ष प्रशान्ती पण्डितले कमिश्नर म्याकोयलाई एनएएच र श्री पशुपतिनाथ मन्दिर एवं सामुदायिक भवन निर्माण लगायतका विषयमा जानकारी गराएकी थिइन भने एनएएचका वर्तमान एवं पूर्व अध्यक्षहरु, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिनकर अमात्य लगायतले कमिश्नर म्याकोयलाई स्वागत गरेका थिए।

यसैबीच टेक्ससमा सबैभन्दा धेरै नेपाली बसोबास गर्ने शहरर ड्यालसमा करिब १० हजार दर्शनार्थीले यूलेशस्थित नेपाली मन्दिरमा पूजा-अर्चना गरेको बताइन्छ। यसैगरी अमेरिकामा नेपालको श्री पशुपतिनाथ मन्दिरकै ढाँचामा तयार पहिलो श्री पशुपतिनाथ मन्दिर- अस्टिनमा पनि सयौंको संख्यामा श्रद्धालु-भक्तजनहरु महाशिवरात्रि पर्वमा सहभागी भएको स्थानीय आयोजकहरुले जानकारी गराएका छन्।














प्रतिक्रिया