मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल नेपाली   
बोस्टन   
मुख्य समाचार   

नेपाली जनसम्पर्क समिति, अमेरिकाको च्यापटर अधिवेशन सम्पन्न

नेपाली जनसम्पर्क समिति, अमेरिकाको च्यापटर अधिवेशन सम्पन्न

३३ च्याप्टरहरुमा सर्वसम्मत नयाँ कार्यसमिति चयन, केन्द्रीय अधिवेशन डिसेम्बर २७ मा


अमेरिका, बोस्टन। नेपाली जनसम्पर्क समिति, अमेरिकाको च्याप्टर अधिवेशन सम्पन्न भएको छ। पूर्व घोषित कार्य तालिका अनुसार अमेरिकाको विभिन्न राज्यहरुमा आज डिसेम्बर २०,२०२५ शनिवारका दिन च्याप्टर अधिवेशन सम्पन्न भएको हो।

नेपाली काँग्रेस पार्टीले आगामी पौष २६, २७ र २८ गते नियमित महाधिवेशन गर्ने निर्णय गरेसंगै प्रवासमा रहेका आफ्ना क्रियाशील सदस्यहरु आबद्ध भातृ संगठन नेपाली जनसम्पर्क समितिको अधिवेशन आगामी पौष १५, २०८२ भित्र सम्पन्न गर्न निर्देशन दिएको थियो। सोही बमोजिम नेपाली जनसम्पर्क समिति, अमेरिकाले आफ्नो अधिवेशनको कार्यतालिका तय गरी च्याप्टरहरुको अधिवेशन आज सम्पन्न गरेको हो।

Advertisement

३० राज्यहरुमा एकै साथ सम्पन्न भएको च्याप्टर अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमितिहरु चयन गरेको जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले बताए। आज सम्पन्न च्याप्टरहरुको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको दाबी गर्दै उनले अधिवेशनले वर्तमान अवस्थामा सहमति, सहकार्य र एकतालाई प्राथमिकताका साथ जोड दिएर अघि बढ्नु पर्ने सन्देश दिएको जिकिर गरे।

केन्द्रीय सभापति बिष्टले च्याप्टरहरुको अधिवेशनले दिएको सन्देशलाई आत्मसात् गर्दै केन्द्रीय अधिवेश पनि सम्पन्न गरिने विश्वास दिलाए। उनले वर्तमान अवस्थालाई मध्यनजर गर्दै नेपाली काँग्रेसले पनि सहकार्य, सहमति र एकतालाई मूल मन्त्र बनाएर महाधिवेशन सम्पन्न गर्नु पर्ने बताए। आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा निर्वाचित हुन सफल भएका सबै च्याप्टरहरुका कार्यसमितिहरुलाई बधाई ज्ञापन गर्दै उनले सफलताका लागि शुभकामनासमेत व्यक्त गरे।

न्यू योर्क च्याप्टरको अधिवेशन उद्घाटन गर्दै केन्द्रीय सभापति आनन्द बिष्ट।
संस्थाका सञ्चार विभाग प्रमुख तथा प्रवक्ता गौतम दाहालले च्याप्टर अधिवेशनको दौरानमा पुराना ३० च्याप्टरहरुलाई निरन्तरता दिदै थप तीन राज्यहरु नेभाडा, नेब्रास्का र कान्सास सिटीमा च्याप्टर कार्यसमिति गठन गरिएको जानकारी दिए।

च्याप्टर अधिवेशनका सम्बन्धमा प्रतिक्रिया दिदै उनले अधिवेशन निकै उत्साहजनक र उपलब्धिमूलय भएर सम्पन्न भएको बताए। सिमित समय सिमा र असहज परिस्थितिका बाबजुद पनि च्याप्टरहरुको अधिवेशनका दौरानमा देखिएको उत्साह कदरयोग्य रहेको उनले बताए। अधिवेशन अपेक्षाकृत नै सम्पन्न भएको बताउदै प्रवक्ता दाहालले भने, ‘नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति, अमेरिकामा काँग्रेसीजन तथा शुभचिन्तकहरुको आकर्षण बढेको छ। लामो समय पछि भएको अधिवेशनले सबैमा उत्साह र उर्जा थपिदिएको छ।’

मेरिल्याण्ड च्याप्टर ।
प्रवक्ता दाहाले च्याप्टर अधिवेशन सफलतापूर्वक सम्पन्न भएको खुशी व्यक्त गर्दै थपे, ”३० वटा च्याप्टरहरुमा एकै दिन अधिवेशन सम्पन्न हुनु, ३ थप नयाँ च्याप्टर गठन गरिनु र सर्वसम्मत रुपमा कार्यसमिति चयन गर्न सक्नु निकै खुशी र उपलब्धिको कुरा हो। सबैलाई धन्यवाद ! बधाई तथा शुभकामना पनि। अब यसैरी केन्द्रीय अधिवेशन पनि एकताबद्ध भएर सम्पन्न गर्नु पर्दछ। त्यसका लागि सबैलाई आव्हान गर्दछु।”

समितिले आगामी डिसेम्बर २७, २०२५ मा केन्द्रीय अधिवेशन गर्ने निर्णय पनि यस अघि नै गरिसकेको छ। तर, अधिवेशनको मिति निश्चित गरे पनि, अधिवेशन गर्ने स्थानको भने टुङ्गो लगाइसकेको छैन। प्रवक्ता दाहालले दिएको जानकारी अनुसार च्याप्टरहरुको अधिवेशन सम्पन्न भइसकेकाले अब छिट्टै नै च्याप्टरहरुसंग सरसल्लाह गरेर सबैलाई पायक पर्ने स्थानलाई चयन गरेर तयारीमा जुट्ने बताए।

यद्यपि, नेपालमा नेपाली काँग्रेसको क्रियाशील सदस्यताको विषयलाई लिएर पार्टी भित्र विवाद उत्पन्न भएसंगै अमेरिकाको जनसम्पर्क समितिको केन्द्रीय अधिवेशन पनि त्यही बहानामा अन्योलमा पर्ने सम्भावनालाई भने नकार्न सकिदैन।

संस्थामा हाल नेपाली नागरिकता कायम रहेका (अमेरिकाको नागरिकता नलिएका) र अमेरिकाको नागरिकता लिएका गरी दुइ प्रकृतिका सदस्यहरु रहेका छन्। नेपाली नागरिकता कायम रहेका सदस्यहरुले मात्र नेपाली काँग्रेसको महाधिवेशन प्रक्रियामा भाग लिन पाउने छन् भने, नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनमा दुबै प्रकृतिका सदस्यहरुले सहभागिता जनाउन पाउने व्यवस्था छ।

नेपाली जनसम्पर्क समिति, अमेरिकाले बताए अनुसार हाल संस्थामा ४ हजार पाँच सय बढी सदस्यहरु रहेका छन्। सन् २०१४ मा अमेरिकाको टेक्सास राज्यमा एकताको अधिवेशन भएको थियो। त्यस पश्चात् अधिवेशन हुनसकेको थिएन। लामो समयसम्म अधिवेशन हुन नसक्दा संस्थाको गतिशीलता र क्रियाशीलतामा अवरोध आएको भन्दै सदस्य तथा शुभचिन्तकहरुले असन्तुष्टि प्रकट गरिरहेकाले यस सन्दर्भमा संस्थाका नेतृत्व कर्ताहरुले निकै ठूलो आलोचना खेप्दै आइरहेका छन्।

शेयर गर्नुहोस:

4.6k
Shares