ड्यालस (टेक्सस) । नेपाली समाज टेक्ससको दुई साता पछि हुन लागेको निर्वाचनमा उम्मेदवारी दिएकाहरु मध्य धेरैले यसपटक घरपरिवारका सदस्यहरुलाईनै प्रस्तावक समर्थक राखेका छन् ।
उम्मेदवारी दिएका पुरुष उम्मेदवारहरु मध्य अधिकांशले पत्नीलाई प्रस्तावक या समर्थक मध्य एक राखेको देखिएको छ । विगतमा नजिकका साथीहरु, इष्टमित्रलाई प्रस्तावक समर्थक राख्ने चलन रहेकोमा यसपटक भने घरपरिवारको सपोर्ट रहेको सन्देश दिनका लागि पत्नीलाई राखेका छन् ।
अध्यक्षमा उम्मेदवारी दिएका वर्तमान महासचिव विजय भुसालले धर्मपत्नी शान्ती शर्मा भुसाललाई आफ्नो उम्मेदवारीको प्रस्तावक राखेका छन् । ‘समाजसेवामा मनैदेखि लाग्न परिवारको साथ, सहयोग र समर्थन नभै हुँदैन । नत्र घरपरिवारनै अस्तव्यस्त र विचल्लीमा पर्छन । त्यसोहुँदा मलाई पत्नीलेनै अघि बढ्नुस भनेका कारण नेपाली समाजमा लागिरहेको छु’ अध्यक्षका उम्मेदवार भुसालले हिमालयखबरसँग भने ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार चण्डी भण्डारीले पनि पत्नी चेतना पाण्डे भण्डारीलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएका छन् । ‘मलाई यहाँसम्म ल्याइपुर्याउन मेरी धर्मपत्नीको ठूलो योगदान छ । उनैले तपाई समाजसेवामा रमाउनुहुन्छ अघि बढ्नुस भनेपछि उम्मेदवारी दर्ता गरेको हुँ । मेरो विचारमा धर्मपत्नी सबैभन्दा नजिकको साथी भएकोले उनको साथ र सहयोगबाट मात्र जुनसुकै क्षेत्रमा अघि बढ्न सकिन्छ’ भण्डारीले भने ।
वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका जीवलाल भुसालले पनि धर्मपत्नी हिरा भट्टराई भुसाललाई समर्थक राखेका छन् । भुसाल ड्यालस फोर्टवर्थबाट ८५ माइल टाढा रहेको ग्रीनभिलबासी हुन् । वर्तमान कार्यकालमा कार्यसमिति सदस्य रहेका भुसालले परिवारको साथ सहयोग रहेको सन्देश दिन धर्मपत्नीलाई समर्थकमा राखेका छन् ।
त्यस्तै सचिवमा उम्मेदवारी दिएका सुशील बर्तौलाले धर्मपत्नी लक्ष्मी भण्डारीलाई प्रस्तावक राखेर उम्मेदवारी दर्ता गरेका छन् । कोषाध्यक्षका उम्मेदवार भोला मैनालीले पनि पत्नी योजना अधिकारीलाइ समर्थक राखेर उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै अन्य केही उम्मेदवारहरुले पनि आफ्नी पत्नीलाई प्रस्तावक या समर्थक मध्य एक राखेर दर्ता गराएका छन् ।
‘प्रस्तावक र समर्थक नपाएर होइन, परिवारको साथ र सहयोगको निरन्तरताको रुपमा मैले चाहि पत्नीलाई राखेको हुँ’ अध्यक्षका उम्मेदवार भुसालले भने-‘हरेक पुरुषको प्रगतिमा पत्नीको ठूलो हात हुन्छ । मैले पनि मेरी पत्नीको साथ र सहयोगले समाजमा अहिलेको अवस्थामा आइपुगेको हुँ ।’
विगतमा घरपरिवारको समर्थक र इच्छा विपरित समाजसेवामा लाग्दा धेरैको परिवार विखण्डन भएका उदाहरणबाट अमेरिकाका नेपाली समुदायले पाठ सिक्दै गएका छन् । त्यसैको फलस्वरुप पत्नी र परिवारसँग सल्लाह गरेर, समर्थन लिएर मात्र संघसंस्थामा लाग्ने ट्रेण्ड विकास भइरहेको छ ।















प्रतिक्रिया