मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   
राजनीति-समाज   

किन अध्यक्ष पदमा उमेदवारी दिएनन् बलरामले ?

किन अध्यक्ष पदमा उमेदवारी दिएनन् बलरामले ?


टेक्सस, (अमेरिका) । नेपाली समाज टेक्सस (एनएसटी)को निवर्तमान उपसभापति बलराम पौडेलले यसपटक (सन् २०२५–२०२७) को निर्वाचनमा अध्यक्ष पदमा उमेदवारी नदिएको स्पष्ट गरेका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पौडेलले आफूले सामाजीक एकता र सद्भाव कायम गर्न उम्मेदवारी नदिएको उल्लेख गरेका छन् । सन् २०११ देखि टेक्ससको ड्यालास फोर्टवर्थ (डिएफडब्लु) क्षेत्रमा बसेर व्यवसाय, सामुदायिक विकास तथा सामाजिक सेवामा निरन्तर रूपमा संलग्न हुँदै आएका उनले यसअघि नै दुईपटक नेपाली समाज टेक्ससको सदस्य बनेर समाजलाई राम्ररी बुझ्ने मौका पाइसकेको बताउँदै यस लामो यात्रामा समुदायले प्रदान गरेको विश्वास, प्रोत्साहन र साथप्रति म कृतज्ञ रहेको जनाएका छन् ।

‘यो समाजले आजको अवस्थामा आवश्यक ठानेको महत्त्वपूर्ण पक्ष भनेको एकता, सहकार्य र परस्पर सम्मान हो भन्ने मैले गहिरोसँग बुझेको छु’, उनले विज्ञप्तिमा भनेका छन्, ‘वर्तमान परिस्थितिमा अस्वस्थ चुनावी प्रतिस्पर्धाले अनावश्यकरूपमा विभाजन, समूहगत प्रतिस्पर्धा वा बेमेल निम्त्याउन सक्ने संकेत देखिनुका साथै समाजमा उत्पन्न हुनसक्ने असमझदारीलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यले मैले अध्यक्षमा उमेदवारी नदिने निर्णय गरेको हुँ ।’

उनले उल्लेख गरेका छन्, ‘म पद पाउने वा नपाउने कुरामा भन्दा पनि समुदायको स्थिरता र प्रगतिलाई पहिलो प्राथमिकतामा राख्ने व्यक्ति हुँ । पदमा बस्दा मात्र समाजसेवा सम्भव हुन्छ भन्ने सोच मेरो छैन । मेरो विगत १५ वर्षको यस समाजको सक्रियताले पद, शक्तिको संरचना वा औपचारिक हैसियतभन्दा पनि सद्भाव, निष्ठा र निरन्तर योगदान नै वास्तविक समाजसेवा हो भन्ने प्रमाणित गरिसकेको छ ।’

उनले धेरै शुभेच्छुक, समर्थक तथा मतदाताबाट प्राप्त अत्यधिक समर्थन, प्रोत्साहन र उत्साहजनक आग्रहका बाबजुद पनि समाजका अग्रज व्यक्तित्व, पूर्वप्रतिनिधि तथा एकतामुखी समाजसेवीहरूबाट प्राप्त सुझावलाई सम्मान गर्दै यसपटक उमेदवारी नदिने निर्णय लिएको स्पष्ट गरेका छन् ।

उनले अगाडि भनेका छन्, ‘मेरो यो निर्णयले मलाई अध्यक्षको प्रत्यासी बनाउनका लागि सदस्यता लिने, अभियान सञ्चालन गर्ने तथा मेरो पक्षमा निर्वाचनको वातावरण बनाउन सक्रियतापूर्वक लागेका सम्पूर्ण शुभचिन्तकलाई दुःखी बनाएको छ भन्ने मैले बुझेको छु । यस क्रममा मलाई सहयोग गर्ने सम्पूर्णप्रति आभारसहित धन्यवाद व्यक्त गर्दछु ।’

उनले आफूले लिएको उक्त निर्णय आफ्नोे व्यक्तिगत आकांक्षाभन्दा समाजको साझा हित, दीर्घकालीन स्थायित्व र सहअस्तित्वलाई प्राथमिकता दिने उद्देश्यले गरिएको हो भनेर बुझिदिनसमेत आग्रह गरेका छन् । साथै, उनले आगामी दिनमा पनि उही समर्पण, उही उत्साह र उही जिम्मेवारीभावसहित समुदायको हितमा काम गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समाजले आजसम्म दिएको विश्वास, माया र साथप्रति हार्दिक आभार व्यक्त गर्दै सबै मतदाता, समाजसेवी तथा अभियन्तासमक्ष आगामी निर्वाचनलाई उत्साहपूर्वक, शान्तिपूर्ण, सभ्य, निष्पक्ष, धाँधलीरहित, समावेशी र सकारात्मक वातावरणमा सम्पन्न गर्न पनि उनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

शेयर गर्नुहोस:

5.3k
Shares