राजनीति-समाज

बूढीगण्डकी बाढीप्रभावितको उद्धार र राहतमा जुट्न लामिछानेको निर्देशन

बूढीगण्डकी बाढीप्रभावितको उद्धार र राहतमा जुट्न लामिछानेको निर्देशन


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखाको चुमनुब्रीस्थित बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा जुट्न पार्टीका सदस्यलाई निर्देशन दिएका छन्।

लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत बूढीगण्डकी नदीमा आएको बाढीले चुमनुब्री क्षेत्रमा व्यापक क्षति पुर्‍याएको र न्याक्चेत-फिलिम तथा धादिङ-गोरखा जोड्ने महत्त्वपूर्ण पुलसमेत बगाएको खबरले आफूलाई मर्माहत बनाएको बताएका हुन्।

Advertisement

उनले बाढीबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

‘आज बिहान बूढीगण्डकी नदीमा आएको अकल्पनीय बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा व्यापक क्षति पुर्‍याएको र न्याक्चेत–फिलिम, धादिङ-गोरखा जोड्ने महत्त्वपूर्ण पुलसमेत बगाएको खबरले मलाई अत्यन्त मर्माहत बनाएको छ। यस क्षतिको घडीमा सम्पूर्ण प्रभावित नागरिकहरूप्रति म गहिरो सहानुभूति प्रकट गर्दछु,’ उनले लेखेका छन्।

बाढीको जोखिम अझै कायम रहेकाले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न पनि उनले अपिल गरेका छन्।

‘बाढीको जोखिम अझै रहेकाले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मको तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशनलाई पूर्ण रूपमा पालना गर्न म अपिल पनि गर्दछु,’ लामिछानेले भनेका छन्।

विपद्का बेला प्रभावित नागरिकको तत्काल उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले सरकारी निकायसँग समन्वय गरेर आवश्यक सहयोगमा जुट्न पार्टीका सदस्यलाई निर्देशन दिएका छन्।

‘विपद्को यस कठिन समयमा प्रभावित नागरिकहरूको तत्काल उद्धारमा सरकार सक्रिय रूपमा लागिरहेकाले सम्बन्धित निकायहरूसँगको समन्वयमा राहत तथा आवश्यक सहयोगका लागि जुट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य साथीहरूलाई निर्देशन पनि दिन्छु,’ उनले लेखेका छन्।