अमेरिका, टेक्सास। राजनीतिक विश्लेषक सञ्जय उपाध्यायले नेपालमा उत्पन्न संकटसँग जुध्न सबै पक्षबीच राष्ट्रिय एकता हुनु पर्नेमा जोड दिएका छन्।
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेशनद्वारा भर्चुएल माध्यमबाट शनिबार आयोजित अन्तरक्रियामा बोल्दै अमेरिकामा बसोबास गर्ने विश्लेषक तथा लेखक उपाध्यायले जेनजी पुस्ताले हालै गरेको आन्दोलन मूल रुपमा सुशासन (गुड गभर्नेन्स) को लागि भएको बताए । ‘जेनजीको पहलमा बनेको सरकारले चुनावको घोषणा गरेको र चुनावबाट राष्ट्रिय सुधार तथा नवीकरण (रिन्यु) हुन सक्ने सम्भावना देखिन्छ’ उनले भने “युवाहरूले राखेका माग पुरा होलान् नहोलान् भन्ने अझै अन्योल छ। भोलीका दिनमा भ्रष्टाचार नियन्त्रण हुने नहुने ठेगान छैन। जेन जी विरोधको ऊर्जालाई सकारात्मक रुपमा लैजान सकिन्छ कि सकिन्न भन्ने कुरा छ। तर एलिटहरुनै फेरि सत्तामा आएपनि विस्तारै केही सुधार हुन् सक्छ।”
आन्दोलन पश्चात भोलिको दिन कसरी बढ्छ भन्ने कुरामा आन्तरिक र बाहिरी कुराले समेत प्रभाव पार्ने उनले बताए। नेपालमा हुने अस्थिरता पनि बाहिरी शक्तिले चलखेल गर्ने आधारको रुपमा रहेको हुन्छ। नेपालको पावरमा रहेको शक्तिसँग समन्वय गर्दै बाहिरी शक्तिले आफ्नो प्रभुत्व जमाउने गर्छन् । तर अहिलेको सन्दर्भमा भारत तथा चीन दुवैले नेपालमा केही हद सम्म स्थिरता होस् भन्ने चाहेको देखिन्छ। यदि हामीले युवा विद्रोहको भावनालाई समयमा बुझेर नै उनीहरूका मागलाई समायोजन गर्न सकेमा राम्रो हुन सक्छ, उनले भने।
सहभागीहरुका प्रश्नको जवाफ दिंदै उपाध्यायले २००७, ०४६ र ०६२/६३ को आन्दोलन हेर्ने हो भने पनि नेपालको आन्तरिक राजनीतिलाई धेरैजसो भूराजनीतिले निर्देशित गर्ने गरेको बताए। ” श्री ३ मोहन शम्सेरको सट्टा श्री मोहन शमशेर आए। राजा वीरेन्द्रले निर्दल मात्रै हटाएका थिए । राजा फालेर गणतन्त्र ल्याए पछि पनि गिरिजा प्रसादले राजाबाटै शपथ लिए । हाम्रा आन्दोलनहरु ‘लजिकल कंक्लुजन’ हुन नपाउँदै सहमति, सम्झौतामा टुंगिने गरेका छन्। हाम्रो राजनीति र भू राजनीतिले गर्द खेरि यस्तो हुने गरेको छ,” उनले भने ।
” जेन जी आन्दोलनमा वैदेशिक रोल कति थियो, आन्तरिक भूमिका कति थियो, त्यसको थप अध्ययन गर्न बाँकी छ । त्यसको स्टेकहोल्डर धेरै भए। हामीले त्यसलाई कुन किसिमले रि कन्साइल गर्न सक्छौं त्यो हाम्रो नेतृत्वमा भर पर्छ। कामले देखाउन सक्ने लिडरशिप चाहिन्छ। अधुरो परिवर्तनका आकांक्षा र उपलब्धि तोड्दै जेन जी आन्दोलन अगाडी बढोस् भन्ने हाम्रो इच्छा छ,” उनले भने।
छलफलमा भाग लिंदै अर्थशास्त्री तथा प्राध्यापक आलोक बोहराले जेनजी पुस्ताको आन्दोलन नेपालमा कायम संरचनात्मक विभेद विरुद्धको विद्रोह भएको बताए। उनले नेपालमा एक पटक सत्तामा पुगे पछि राज्यको श्रोतसाधनको दोहन गर्ने र सुविधा भोगी वर्ग को ‘ओभर प्रोडक्शन’ भएको बताए। उनले नेपालमा एक स्वतन्त्र नागरिक, लोकतान्त्रिक ट्राइब्युनाल आवश्यक रहेको पनि धारणा राखे।
प्रा. केशव भट्टराईले नेपालमा हरेक महिना बाड्ने वृद्ध भत्ताले थुप्रै उद्योग स्थापना गर्न पुग्ने बताउँदै यसमा सुधार गर्नु पर्ने बताए । “आफ्नो गाउँ आफै बनाउँ’ अभियाको राम्रो मनसाय थियो, तर नेपालमा जथाभावी डोजर चलाउने गर्दा ५ प्रतिशत सम्म मिटिगेशनमा खर्च गर्नु पर्छ। नेपालमा आइटी हब बनाउनु पर्यो। मेडिकल टुरिजम र आधुनिक कृषिमा जोड दिनु पर्यो। अर्थतन्त्रमा सुधार ल्याउनु पर्यो,” उनले भने।
अर्थशास्त्री डा.थोमस बास्तोलाले नेपालको राजनीतिक समस्या आर्थिक समस्या अन्तरसम्बन्धित रहेको बताए । उनले प्रवासबाट च्यारिटीको क्षेत्रमा, नलेज शेयारिंग र टेक्नलजी ट्रान्सफरका साथै साना साना लगानी, स्टार्ट अपलाई मदत गर्न सकिने बताए। उनले भुटानी समुदायलाई पनि जोडेर रिटायरमेन्ट टुरिजमलाई प्रवर्धन गर्न सुझाव पनि दिए।
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेशनका अध्यक्ष डा. यादव पण्डितको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन ग्लोबल नलेज नेटवर्कका संयोजक डा निरज श्रेष्ठले गरेका थिए।












प्रतिक्रिया