मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

स्मृति भित्रका कुरा: सुशीला कार्की र मोरङ्ग कलेज

स्मृति भित्रका कुरा: सुशीला कार्की र मोरङ्ग कलेज


शेयर गर्नुहोस:

3.6k
Shares

  • change font
  • change font
  • change font

म अहिले मोरङ्ग कलेजको एकदम नजिक आफ्नो दिदीको घरमा बसेको छु । आज बिहानै गएर आफ्ना पुराना कक्षाहरू चाहर्न मनलागेर लुरूलुरू क्याम्पस भित्र छिरेँ ।

कलेज त एकदम थाकेको घोडा जस्तै निस्तेज भएछ ! स्याहार सम्भार नपुगेको घर कस्तो हुन्छ ?

म छक्क परेँ र आफ्नो सम्झनाको तरेलीका पात्रहरू खोज्नथालेँ । मन मस्तिष्कमा झट्ट सुशीला कार्की उदाऊनु भयो । यस्को कारण हालैको नेपालको राजनीतिमा विकसित भएको घटनाक्रमले गर्दा पनि हुनसक्छ ।

प्रधानमन्त्री -सुशीला कार्की

एउटा कोठामा तल निहुरिएर केही लेख्दै गरेकी सुशीला कार्कीको सम्झना भयो । सुशीलाजीलाई अहिले उहाँ प्रधानमन्त्री हुनभएकोले हुनसक्छ,झट्ट सम्झेँ ।

कक्षा कोठामा कालोपाटी उसैगरी उदास भित्तामा टांगिएको थियो । हामी बस्ने बेन्चहरू पुराना भएछन् ।

सुशीलाजी र मेरो नेपाली र अग्रेजी क्लास संयुक्त हुन्थ्यो । म कमर्श पट्टी थिएँ, उहाँ आर्टस पढनुहुन्थ्यो । यो त्यस्तै २८/२९ साल तिरको कुरा हो ।

इतिहास मेरो विषय थिएन ,तै पनि म गणेशगुरूको पढाऊने तरिका र उहाँको कहिले नरम कहिले गरम स्वभावले गर्दा छात्रहरूमा पर्ने प्रभाव हेर्न उहाँको क्लासमा गएर थपक्क बस्थेँ र सरले भन्नुभएका कुरा बडो ध्यान दिएर सुन्थें । मजा लाग्थ्यो ।
सुशीलाजी र म हामी दुबै २५ साले एस एल सी व्याचका हौं ।

पढाई पछि बर्षौंसम्म उहाँसंग भेटघाट भएन । उहाँले धरानवाट एस.एल.सी गर्नुभएकोले भूपेन्द्र कार्किको व्याच हुनुपर्छ । पछि हाम्रा अग्रज दुर्गा सुवेदीसंग सुशीलाजीको बिवाह भएछ । तर म उहाँभन्दा दुर्गादाइको नजिक हुनपुगेँ, राजनैतिक रूपमा । तैपनि हाम्रो राम्रै परिचय थियो । आज म बिराटनगर आएको वेला मोरङ्ग कलेजले फेरि सुशीलाजीलाई सम्झायो ।

म आज सम्झनाको तरेलीमा २८/२९साल देखि ४६ साल हुँदै ५८ साल र आज ८२ सालको कालखण्डका घटना क्रमलाई उन्ने प्रयास गर्दैछु ।

अहिले सुशीलाजी जेनजी विद्रोहले जन्माएको नेपालको नागरिक प्रधानमन्त्री हुनुहुन्छ । उहाँलाई अहिले नै सवल त भन्न मिल्दैन तर सुदीक्षित र सहयोगी भने हुनुहुन्छ । सवल भन्न यसकारण मिल्दैन कि उहाँले हालमा चालेका केही कदमहरूको दृढ भनिएका अडानमा लुलोपन देख्छु ।
सुशीलाजी मैले चिनेसम्म कानूनको ज्ञाता त हो तर राजनीतिको गाह्रो गाँठो फुकाऊने दक्षता उहाँमा देखिएको छैन ।

कलेजको सहपाठी हुनुभएकीले उहाँले कलेज भित्र पनि हुने राजनैतिक कुचालहरूको मेलो पाएको हुनपर्छ । तिन्ताका मोरङ्ग कलेज राजनीतिको अखाडा हुने गर्थ्यो ।

साथीहरू विभिन्न खेमामा बाँडिएर उपद्रो गरेको उहाँले अवश्य पनि देखेको हुनुपर्छ । उहाँ आई.ए मा हुँदा कलेजमा विसाक्त राजनैतिक माहौल थियो । खुँडा र तरवार हानाहान हुन्थे । त्यसबाट त केही सिकियो होला नि ! म आईकममा गुल्टिएको हुनाले सुशीलाजीले मलाई पढाईमा उछिन्न सक्नुभयो । म उहाँलाई राम्ररी चिन्दछु । सामान्य पारिवारिक पृष्ठभूमि भएकी आफ्नो पेशाप्रति एकदम ईमानन्दार हुनुहुन्छ, त्यसमा कसैले शड्का नगरे हुन्छ । विराटनगर अदालतमा काम गर्दा पनि अत्यन्तै भद्र मृदुभाषी र सहयोगी हुनुहुन्थ्यो ।

एकचोटी मेरो सम्पतिको किचलो हुँदा उषा भाऊजु (नेपाल)ले मलाई सुशीलाजीको जिम्मा लगाईदिनु भएको थियो । बडो सुझवुझ र व्यवसायिक कुशलताले मेरो जेथा जोगाईदिनु भएकोले म एकप्रकारले ऋणि पनि छु ।

फेरि हामी दुवैको बनारससंगको सम्वन्धले नजिक्यायो र प्रजातन्त्रप्रति उहाँको अडानले मलाई मेरो सुशीला सहपाठी हुनुमा गर्व पनि गरायो ।

यता, दुर्गादाइ( सुवेदी) संग मेरो परिचय कैले देखि भयो, त्यो म आफैलाई थाहा छैन । शायद २४/२५ साल देखि नै होला , फेरि २०४६ सालको जनआन्दोलनमा हामीले सहकार्य पनि गऱ्यौं । वेलुकी थकाईले चूर भएका हामी बानेश्वरमा सुमन( मेरी श्रीमती)को हातले प्रेमपूर्वक पकाएको तातो भात पनि संगै खायौं ।

एकचोटी दुर्गादाइ र मेरो एक भद्रपुरूषले खुवै चाकडी गरे, यो ४८ साल तिर हुनुपर्छ । उनका छोरा बिराटनगरको प्रहरी ईन्चार्ज हुँदा अशोक कोईराला र अन्य काँग्रेसी कार्यकर्ताको मलद्वारमा खुर्सानी कोचेका रैछन् । चतुर बुढाले कतैबाट सोर्श भिडाएर त्यो काण्ड नै लुकाईदिए , म र दुर्गा दाइ दुबै छक्क पऱ्यौं र निज पुलिस अधिकारीको फूली माथि फूली थपिदै गयो ।

घटनाक्रम यसरी परिवर्तन भएको पृष्ठभूमि भएको हाम्रो देशमा मेरो सहपाठी बडो असहजताको बीच काँडै काँडा भएको सिंहाशनमा विराजमान् हुनुभएको देख्छु ।

सुशीलाजी, नेपालमा शीर्षस्थानमा बसेर गोटी चाल्न गाऱ्हो छ । यो लुँडो र चेस दुवै खेलको ककटेलले चल्ने देश हो । सर्प पनि छ, सिंडी पनि छ, मन्त्री पनि छ , प्यादा पनि छ र घोडाको नपत्याउँदो चाल पनि छ । कतै प्यादा मात पो भईन्छ कि भन्ने डरले अहिले उहाँलाई पिरोली राखेको हुनुपर्छ ।

उहाँका पुराना पुराना ईन्टरभ्यू हेर्दा र अहिलेको कुराहरू सुन्दा ईजार विनाको सुरूवाल लगाएको अवस्था देखियो । सुशीला आफै भन्नुहुन्थ्यो पाँचदिनमा सबैलाई पक्रेर ठिक पार्न सकिन्छ !

लु भन्नुस आज कति दिन भयो ? सर्पलाई जिस्काऊन मान्छेलाई हौसाऊनु भयो , अव त्यही सर्प बदला लिने दाऊ हेर्दैछ ।

नेपालको राजनीतिमा डिप्लोमेसीको ठूलो भूमिका रहन्छ, त्यसलाई व्यालेन्स गर्न धेरै गाऱ्हो छ । जनता सुशीलाजीलाई भारत परस्त भएको हेर्न चाहदैनन्, तर उहाँले भारतमा अडेस नलगाई उभिन सक्नुहुन्न् । यो नेपालको वास्तविकता हो ।
जनताको कन्फिडेन्स जित्नु र भारतसंग समदूरी राख्न अति आवश्यक र कठीन दुबै छ ।

यो देशमा ठूल्ठूला व्रिफकेश बोकेर सरकार बनाऊने र ढाल्ने माफियाहरू पनि छन् ।
उचाल्ने पनि छन् , थेचार्ने पनि छन् ।

म सम्झन्छु सुशीलाजी,तपाई पनि गणेशगुरू( हिस्ट्रीसर) को विध्यार्थी हुनुहुन्थ्यो । उहाँले भन्नुभएको सम्झना छ कि छैन, फलाम सेलाए पछि प्रहार व्यर्थ हुन्छ । उछ्छिटिएर आफ्नै नाक भाचिन्छ ।

सेप्टेम्बर २० सम्म फलाम तातो थियो । नेपालको राजनीतिले एउटा सेप लिन सक्थ्यो । अव त ढीला भयो, फलाम सेलायो र प्रहारले आफ्नै नाक भाँचिने डर रहन्छ ।

म तपाईको शुभचिन्तक र मित्र दुबै हुँ ।मेरो विचारमा सरकारमा जानु नै तपाईको गलत निर्णय थियो । यस्तो तरल अवस्थामा अस्तित्वको शंड्कटको जोखिम किन लिनुपर्थ्यो ? लौ भै गयो , जेनजीले प्रस्ताव गरे , रहर पनि गर्नु भयो । नेपालको राजनीतिको शीर्षमा बसेर हेर्न मन गर्नु भयो । बधाई छ, तर गोडा दरो हुनुपऱ्यो , यो लुलोपन किन ? दृढ इच्छाशक्तिले काम गर्नुस् ।
आशा छ , मेरो जिज्ञासा र टिप्पणीलाई अन्यथा लिनु हुनेछैन ।

१०/२९/२५
हाल :विराटनगर

शेयर गर्नुहोस:

3.6k
Shares