अमेरिका, बोस्टन। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन) यतिबेला आगामी कार्यकाल(सन् २०२५-२७) का लागि नयाँ कार्यसमिति चयनको तयारीमा जुटेको छ। नयाँ कार्यसमिति चयनको कार्य पुरा गर्नका लागि संस्थाको कार्यसमितिका पूर्व अध्यक्ष बिष्णु कार्कीको संयोजकत्वमा, डा.उषा शर्मा र प्रकाश अधिकारी सदस्य रहेको निर्वाचन समिति गठन गरी कार्यभार सुम्पिएको छ।
उक्त निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सेप्टेम्बर २१,२०२५ आइतवार प्याब्फोनको आफ्नै भवनमा निर्वाचन हुने भएको छ। विगतमा खासै चर्चा नहुने गरेको यस संस्थाको निर्वाचन, यस पटक भने निकै चर्चामा रहेको छ। मूलत: सदस्यहरुमा संस्थाको जिम्मेवार पदहरुमा रहेर संस्थालाई थप योगदान पुर्याउने चाहन बढेको, हालसम्म नेतृत्व लिने आकाङ्क्षीहरु मध्य कुनै एक व्यक्तिमा सहमति जुट्न नसकेको र संस्थाप्रति नेपाली समुदायको आकर्षण, चासो, चिन्ता, र जिम्मेवारी बढ्दै गइरहेकोले पनि यस पटकको निर्वाचनले बढि चर्चा र महत्व पाएको हो। जसका कारण चुनावी चहलपहल चुलिएको छ।
यतिबेला संस्थाको बागडोर सम्हाल्नका लागि वर्तमान कार्यसमितिकी वरिष्ठ उपाध्यक्ष यलीना श्रेष्ठ र बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष ध्रुव घिमिरे चुनावी मैदानमा उत्रिने चर्चा चलिरहेको छ। आफू संस्थाको बागडोर सम्हाल्न योग्य रहेको जनाउदै श्रेष्ठ गत सेप्टेम्बर ८, २०२५ मै अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेसंगै चुनावी प्रचारप्रसारमा जुटिरहेकी छिन्। प्रचारप्रसारका क्रममा उनले संस्थाको नेतृत्व लिएर राजनीति गर्नु आफ्नो उद्देश्य नभएको प्रस्ट्याएकी छिन्।
श्रेष्ठले पशुपतिनाथ तथा बुद्ध मन्दिरलाई अझ शसक्त, साझा र पवित्र बनाउन, नेपाली संस्कृतिलाई मजबुत र समुदायलाई थप एकजुट बनाउन आफूले नेतृत्व लिन चाहेको बताइन्। उनले यस अघिका चार कार्यकाल कार्यसमितिको नेतृत्व पुरुषहरुले गरेको र सफल बनाउन महिलाहरुले साथ र सहयोग गरेको बताउदै यस पटक महिलालाई नेतृत्व सुम्पेर सेवा गर्ने अवसर दिनु पर्ने जिकिर गरिन्। यस पटक सहमतिमै आफूले अध्यक्षको जिम्मेवारी पाउनेमा ढुक्क रहेको श्रेष्ठले बताइन्।
संस्थाको संस्थापक महासचिव तथा वर्तमान बोर्ड अफ ट्रस्टिजका उपाध्यक्ष ध्रव घिमिरे पनि आगामी कार्यकालका लागि संस्थाको नेतृत्व लिने तयारीमा जुटिरहेका छन्। उनले सार्वजनिक रुपमा अध्यक्ष पदमा उमेदवारी दिने घोषणा नगरेको भएतापनि अग्रज तथा मतदाताहरुले आफूलाई नेतृत्व सम्हाल्न अनुरोध गरिरहेकाले आफू पनि नेतृत्व लिन तयारीमा जुटेको बताए। प्याब्फोन एक पवित्र संस्था भएकाले सहमतिमै आगामी कार्यसमिति चयन गरिनु पर्ने पक्षमा आफू रहेको र सहमतिमै नयाँ कार्यसमिति चयन हुनेमा आफू विश्वस्त रहेको घिमिरेले बताए।
संस्थाका अग्रज तथा शुभचिन्तकहरु सकेसम्म सहमतिबाटै नयाँ कार्यसमिति चयन गर्ने प्रयासमा जुटिरहेका छन्। यद्यपि, हालसम्म नेतृत्वका सवालमा मतैक्य हुन नसक्दा आकाङ्क्षी र नेतृत्वका आकाङ्क्षीहरुका समर्थक, सहयोगी तथा शुभचिन्तकहरु आ-आफ्नै ढङ्गबाट चुनाव प्रचारप्रसारमा जुटिरहेका छन्। अध्यक्ष पद बाहेक अन्य पदहरुका लागि आकाङ्क्षीहरुको चर्चा नभएकाले ति पदहरुको खासै चासोका साथ चर्चा भइरहेको छैन।
यस अघि संस्थाले गत सेप्टेम्बर १४, २०२५ आइतवार साधारण सभा र नयाँ कार्यसमिति चयन गर्न निर्वाचन गर्ने तयारी गरेको थियो। तर, मातृभूमि नेपालमा घटेको घटनालाई कारण देखाउदै गत सेप्टेम्बर ९, २०२५ मङ्गलवार एक सूचना जारी गरी घोषित साधारण सभा तथा निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो।
निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो निर्वाचन कार्यतालिका अनुसार सेप्टेम्बर २१,२०२५ आइतवार १०:०० बजेदेखि मध्यान्ह १२:०० बजेसम्म उमेदवारी दर्ता गर्न सकिने, १२:३० बजे उमेदवारहरुको नामावली प्रकाशन, १२:३० बजेदेखि १:०० बजेसम्म उमेदवारहरुको नामावली माथि दावी विरोध तथा उमेदवारहरुले आफ्नो उमेदवारी फिर्ता गर्न सक्ने, १:०० बजे उमेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने, १:३० बजेदेखि ३:०० बजेसम्म मतदान गर्न सकिने र मतदान कार्य सम्पन्न पश्चात् मतगणना गरी मत परिणाम घोषणा गरिने भएको छ। निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यहरु प्याब्फोन भवनमा रहेको निर्वाचन समितिको कार्यालयबाट हुने जनाइएको छ।
निर्वाचन समितिका अनुसार संस्थाको संशोधित विधान २०१९ को दफा ८.८ अनुसार कार्यसमितिको अध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता र १७ सदस्य पदहरुमा निर्वाचन हुनेछ। निर्वाचन समितिले अध्यक्ष पदका लागि तीन सय डलर, प्रथम, दुतीय र तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रवक्ता पदका लागि २५० डलर र सदस्य पदका लागि १५० डलर दस्तुर तोकेको छ।
प्याब्फोन आफ्नो संस्थागत उद्देश्यहरु पुरा गर्नका लागि विधानमा कार्यकारी समिति र बोर्ड अफ ट्रष्टीज गरी दुइ समिति रहने संस्थागत ढाँचाको व्यवस्था गरेको छ। सोही बमोजिम नियमित कार्य सञ्चालनको भूमिकाका लागि गठन गरिने कार्यसमितिको निर्वाचन गर्न लागिएको हो। संस्थाको विधान अनुसार हरेक दुइ वर्षमा निर्वाचन प्रक्रिया मार्फत नयाँ कार्यसमिति चयन गर्नु पर्दछ।
साधारण सभा हुने
यसैबीच, सोही दिन सेप्टेमबर २१, २०२५ आइतवार दिनको ठिक ३:०० बजे प्याब्फोनले आफ्नै भवनमा संस्थाको वार्षिक साधारण सभा गर्ने भएको छ।त्यसका लागि सूचना जारी गर्दै सम्पूर्ण सदस्यहरु, दाताहरु, भक्तजनहरु लगायत संस्थासंग सम्बद्धहरुलाई साधारण सभामा सहभागी भइदिन अनुरोध समेत गरेको छ। उक्त वार्षिक साधारण सभामा छलफलका लागि संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखापरीक्षक नियुक्ति, आगामी वार्षिक योजना लगायत विषयहरु चयन गरिएको छ।












प्रतिक्रिया