मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
मुख्य समाचार   
विचार / ब्लग    

धीतसँगको सहयात्रामा अमेरीका

धीतसँगको सहयात्रामा अमेरीका


हामी नेपाल फर्केको पनि दुइहप्ता हुन लाग्यो । तर किन हो आँखाभरी झलझली अमेरिका नै आइरहन्छ ।

बितेको जेठ २ गते काठमाडौँमा अत्यन्त शालीन समारोहमा घुम्टो उघारेपछि ” धीत ” ले पाएको चर्चा र मायाप्रति म सम्पूर्ण सुभेच्छुक , पाठकहरु समक्ष नतमस्तक छु ।

काठमाडौँमा लोकार्पण भए लगत्तै साथी भाइहरुको आग्रहमा हामी हाम्रो गृह जिल्ला झापा गयौं । पत्रकार महासंघ झापाको आयोजनामा त्यहाँ भब्य समारोह वीच धीतको चर्चा परिचर्चा भएको थियो ।

करिब दुइ वर्षको अन्तराल गत महिना जुलाइ १६ मा फेरि हाम्रो अमेरिका भ्रमणको साइत जुरेको थियो । खासगरी यसपाली अमेरिका भ्रमणको मुख्य उद्देश्य बोस्टन गजल उत्सवमा सरिक हुनुको साथै साथीभाइ र आफन्त भेट्ने नै थियो ।

बोस्टन गजल उत्सव

तर अमेरिका भ्रमणको दौरानमा साथीहरुको आत्मीय साथ र सहयोगले गर्दा मेरो गजलसंग्रह धीतले सभ्य र शालीन माहोलमा टेक्सासको डालस र ह्युस्टनमा चर्चित हुने सुअवसर प्राप्त गर्यो ।

यसको लागि हिमालय खबरका प्रबन्ध सम्पादक बिकास राज न्यौपाने एवं सम्पूर्ण टिमप्रति म अनुग्रहित छु ।
स्रष्टा साँझ अमेरिकाकाका प्रभात दीक्षित र टिम अनि नेपालिज एशोसिएसन अफ ह्युस्टनका अध्यक्ष ज्ञानेश्वर श्रेष्ठ , प्रिय साथी नयना अमात्य र टिम , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सतिश त्रिपाठी र साथीहरुप्रति पनि आभारी छु ।

अमेरिकामा धीतले जेजति माया पायो त्यो मेरो लागि भने अपार भयो । यो माया मुटु्भरी साँचेर नेपाल फर्केकी छु । मैले र मेरो धीतले पाएको यो मायामा सम्मान ,आशीर्वाद , प्रेम, हौसला , प्रेरणा , स्नेह र शुभकामना मिसिएको छ । गज्जबको सकारात्मक उर्जा प्राप्त भएको छ । त्यो उर्जा यतिखेर स्पष्ट मैले आफूभित्र महसुस गरिरहेकी छु ।

तोकिएको मूल्य भन्दा दोब्बर , तेब्बर , बेहिसाब साथीहरुले , शुभचिन्तहरुले स्वतस्फुर्त धीतलाई अमूल्य बनाइदिनु भयो । सबैप्रति कृतज्ञ छु।

त्यतिखेर धीत आफैमा अनमोल बन्यो ,जतिबेला साथी चम्पा भट्टराईले हामी बसेको मित्र बिकास , सबिताकै घरमा ( जुन घरलाई हामी हाम्रो दोस्रो घर भन्ने गर्छौं ) आउनुभयो धीत लिन भनेर । उहाँको मप्रतिको प्रेम , धीत हात परेपछिको खुशी , मलाई दिनु भएको महत्वपूर्ण समयले धीतलाई अत्यन्त मुल्यवान बनाइदिनु भयो ।

शुभचिन्तक तथा साथीहरु कतिले दुइ , तीन पाँच , दश र एघारवटा पुस्तकहरु एकमुष्ट लिइदिनु भयो ।

प्रिय साथी उमा कार्की डालसको धीत पुस्तक परिचर्चा कार्यक्रममा सरिक हुन पाउनु भएको थिएन । पछि याम थापा दाइसँगै घरमा आएर खुशी हुँदै छ वटा पुस्तक लिनुभयो । साथी उमाको मप्रतिको अगाध स्नेह थियो यो ।

नेपाल फर्किने अघिल्लो दिन डालसमा नेपाल ल क्याम्पस देखिको साथी बिनोद योगीले फोन गर्‍यो र भन्यो – ” बिटु मलाई दशप्रति धीत बिकासको घरमा छोडीदेउ । ”
डालसको धीत परिचर्चा कार्यक्रममा बिनोदसँग भेट भैसको थियो । त्यहाँ उसले हस्ताक्षर सहितको धीत प्राप्त गरिसकेको थियो तर उसलाई अझै धीत मरेको रहेनछ ।

एउटा लेखकलाई यो भन्दा ठूलो सम्मान अरु के होला !

काठमाडौंमा भएको धित लोकार्पणमा हिमालय खबरका प्रबन्ध सम्पादक हाम्रा प्रिय मित्र बिकासराज न्यौपाने सरिक हुनुभएको थियो । उहाँले त्यतिनै बेला दशप्रति धीत मात्रै लिनु भएन समय मिले हिमालयखबरले डालस टेक्सासमा धीत परिचर्चा कार्यक्रम गर्ने कुरा समेत उल्लेख गर्नुभएको थियो । त्यही अनुसार पछि डालसमा अत्यन्त भव्य र शालीन समारोहमा धीतले चर्चित हुने अवसर प्राप्त गर्यो ।

” माया तपाईंको धीत पुस्तक जसरी पनि मलाई पठाइदिनु होस् । ” लसएन्जलसबाट प्रिय आशा गुरुङको मायालु अनुरोध आयो । पोस्ट गर्ने झन्झटबाट उम्कन मैले इबुक पठाउन सजिलो हुने कुरा बताएँ तर उहाँले पुस्तकनै पठाउन आग्रह गर्नुभयो । त्यतिखेर हामी कान्छी बहिनी समिता केसी र जवाँइ उदय प्रसाद रन्जितको घर भर्जिनिया वीचमा पारिवारिक आनन्दमा रमाइरहेका थियौं ।

मैले प्रिय आशालाई पुस्तक त पोस्ट गरें । तर भोलिपल्ट ब्यागबाट अरु किताब निकाल्दा ” प्रिय आशा सप्रेम ” भनेर हस्ताक्षर गरेको पुस्तकको पाना मेरै हातबाट पल्टिदा मन खिन्न भयो ।

प्रिय बहिनी गितकार राखी गौचन सन्फ्रान्सिस्कोलाई कर्मथलो बनाएर बसेकी छिन् । हाम्रो कुराकानीमा उनले सोधिन् – ” दिदी मैले तपाईंको धीत कसरी प्राप्त गर्ने ? ” उसलाई मैले धीत इबूक इमेल मार्फत पठाएँ । राखीले अत्यन्त खुशी भएर फोन गरिन् । हामी त्यो बेला पेन्सेलभेनियामा थियौं ।

गजल उत्सव – ६ बोस्टनमा अमेरिकाका र नेपालबाट आएका गजलकारहरुको उत्कृष्ट सहभागितामा मैले पनि सरिक हुने सौभाग्य प्राप्त गरेकी थिएँ ।
” दिदी तपाईंको धीत खोइ ” भन्दै प्रिय भाइ बासु पुष्पा अधिकारीले पार्किङ लटमै रोके ।

गजल लेखनमा मलाई हौस्याउने ,सुझाउने प्रिय भाइ पवन लामिछाने , भाइ शतिस त्रिपाठी त्यहीँ थिए ।
भूपेन्द्र महत , शुरेस वाग्ले , रोशन श्रेष्ठ , शारदा धिताल , राजु सिटौला , रोहित राना , खिम केसी , प्रमोद अमात्य लगायत त्यहाँ उपस्थित अरु सबै गजलकार कविहरुसँग धीत सहित उभिन पाउँदा र समारोहमा धितलाई सम्मान गर्दाको क्षण अत्यन्त सुखद थियो ।

हाम्रा परम मित्र सुशील नेपाल र दिज्जु इश्वरी नेपालको आशिर्वाद मेरो शीरमा बसेको छ । सुशील नेपालले त धीतबारे हिमालय खबरमा एउटा आलेख नै लेख्नुभयो । यो आलेख मेरो लागि पुरस्कार समान छ । तल दिइएको लिन्कमा क्लिक गरेर आलेख पढ्न सकिन्छ ।

सम्झनाको तरेलीमा :
धीत नमरेको ‘धीत’

ह्युस्टन मेरो कर्मथलोमा धीत पुस्तक परिचर्चा गरिने तय भैसकेको थियो । साथी नयना अमात्यले त्यो भन्दा अगाडि नेपलिज एशोसिएशन अफ ह्युस्टनको आत्मीय ग्रुप बसेर धीतका कुरा सुनौं , गजल सुनौं भनेर छुट्टै एउटा कार्यक्रम तय गरिन् । हाम्रा प्रिय मित्र ज्ञानेश्वर श्रेष्ठ र शैलेजा कुवँर पनि डालस जाने कार्यक्रमलाई थाँती राखेर उक्त कार्यक्रममा सहभागी भए । सबै मित्रहरुसँग भेटुँ भन्ने मेरो मनको इच्छा पनि त्यही थियो । आफ्ना पुराना मित्रहरूहरुसँग गजल र गजलका कुराहरु शेयर गर्न पाउँदा म खुशीले गदगद भएँ ।
हामी त्यो जमघटबाट निस्कदा अरु सबै त्यहीँ थिए । पछि अबेरसम्म बसेर सबैले धीतबाट एकएक गजल पढ्ने , सुन्ने , सुनाउने र वाह ,वाह ! भन्दै ताली बजाएर खुब रमाइलो गरेका थिएरे । द्रोण गौतमले बाचन गर्नुभएको भिडियो मैले पोस्ट पनि गरेकी थिएँ ।

त्यसपछि ह्युस्टनमै अगस्ट १७ मा बृहतरुपले NAH र INLS – Houston को संयुक्त आयोजनामा धीत परिचर्चा सम्पन्न भयो ।
धेरै जस्तो मेरा ह्युस्टनबासी अग्रज , साथी र सुभेच्छुकहरुलाई कार्यक्रममा भेटेर म निकै भावुक भएकी थिएँ । भावुक नहुनु पनि कसरी ? आफूले बीस वर्ष विताएको ठाउँ , जिवनका उकाली र ओराली देखेको , झेलेको परिवेश । वास्तवमा धीत गजलसंग्रहको अधिकांश गजल त्यहीँ ह्युस्टनको भूमिले जन्माएको हो ।

ह्युस्टन र डालसमा दुबैमा सम्पन्न पुस्तक परिचर्चा कार्यक्रममा सहभागी हुनुहुने , धीतलाई किनिदिएर आफ्नो बनाउनु हुने सम्पुर्णमा म हृदयदेखि आभार व्यक्त गर्दछु ।

डालसका आत्मीय मनहरु – जति प्रशंसा गर्दा पनि कम हुने प्रिय सविता न्यौपाने , निर्मला राइ र छिरिङ लामा , सन्जय घिमिरे र तारा रावल , भाइ रामचन्द्र भट्ट र लक्ष्मी उप्रेती , आदरणीय प्रभात दीक्षित र सरला दीक्षित , साथी प्रेमा लामा , विनय देबकोटा लगायत सबैप्रति कृतज्ञ छु । कार्यक्रम समारोहमै मेरा दाइ भाउजु दिलिप बस्नेत र गंगा बस्नेत सवा दुई घण्टाको ड्राइभ गरेर लिन आउनु भएको थियो । पेरिस टेक्ससमा दाइ भाउजुको मेजमान सम्झेर यो मन कति फुरुङ्ग हुन्छ ।

आइदिए हुने , खाइदिए हुने गर्ने ह्युस्टनका प्रिय मनहरु बिना थापा भट्टराइ , तृप्ती र इरोज घिमिरे , विजय झा , सुजन पण्डित , मोदनाथ सादा र नीता भारती गिरी लगायत सम्पूर्ण ह्युस्टनबासी प्रिय मनहरुप्रति आभारी छु।
हामीलाई हप्तौं दिन आश्रय दिने दिपक उप्रेती दाइ र नलिनी भाउजुको प्रेम अतुलनीय छ ।

मुक्तक संग्रहपछि मेरो गजल संग्रह धीत प्रकाशित भएको हो । ” मायाको मात ” मुक्तक संग्रहलाई पनि तपाईंहरुले यसरी नै दिनु भएको मायालाइ मैले बिर्सेको छैन ।
त्यही उर्जा , प्रेरणा , केही मेरा रहर , एउटा समाज प्रतिको दायित्व र आत्मीय मनहरुको शुभेच्छाले नै फेरि ” धीत ” जन्माएको हो ।
गजल विधामा मैले अझै धेरै माझिनु र खारिनु पर्नेछ । नेपाल भित्र र बाहिर अनि अमेरिकामा पाएको यो मायाले अझै निखार्नेमा म आफै प्रतिवद्द छु ।

सोचेको थिएँ मैले दुई वर्षअघि अमेरिका छोडेको हुँ । तर म भ्रममा रहेछु । म र मेरो श्रीमान तारा बराल बसाइ मात्र सरेका रहेछौं , अमेरिका त मन भित्रै रहेछ । अझ अमेरिकाले हामीलाई कति धेरै मन भित्र राखेको रहेछ ।
अरु के भनौं ? यो माया , स्नेह , सम्मान अनि प्रेमलाई बरदान मानेकी छु ।

शेयर गर्नुहोस:

3.1k
Shares