अमेरिका, बोस्टन। नेपाली पात्रो अनुसार यस वर्षको तीज गत २०८२ साल भाद्र १० गते अर्थात अङ्ग्रेजी पात्रो अनुसार अगष्ट २६,२०२५ मङ्गलवार, भाद्र शुक्ल तृतियाका दिन परेको थियो। धर्म, संस्कृति, रितिरिवाज, परम्परा, चालचलन, परिवार, समाज आदिका दृष्टिकोणले नेपालीहरुको निकै महत्वपूर्ण र विशेष बहुआयामिक चाड ”हरितालिका तीज” नेपाल र विश्वभर रहेका नेपालीहरुले हर्षोल्लासका साथ मनाए। यसैक्रममा, अमेरिकाको न्यू इङ्गल्याण्ड क्षेत्रमा रहेका प्रवासी नेपालीहरुले पनि हरितालिका तीज विशेष रुपमा मनाएका छन्।
तीज आउनु भन्दा झण्डै डेढ महिना अघिदेखि नै चर्चा, परिचर्चा, चहलपल र तयारी सुरु भएको तीज, विविध धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापहरु गरेर भाद्र १२ गते तदनुसार अगस्ट २८,२०२५ बिहिवार भाद्र शुक्ल पञ्चमीका दिन पञ्चमी पूजा गरेसंगै सकिएको छ।
भाद्र शुक्ल तृतिया अर्थात तीज व्रतका दिन बोस्टन स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)ले आफ्नै भवनमा ”तीज विशेष सामुहिक पूजा” को आयोजना गरेको थियो। उक्त धार्मिक कार्य पशुपतिनाथ बुद्ध मन्दिरका पूजारी पण्डित गोकुल कँडेलको नेतृत्वमा सम्पन्न भएको थियो। उक्त तीज विशेष सामुहिक पूजामा महिला व्रतालु भक्तजनहरु सहभागी थिए। मन्दिर पुगेका व्रतालु तथा श्रद्धालु भक्तजनहरुले मन्दिरको दर्शन गर्नुका साथै भगवानहरुको पूजापाठ तथा आराधना गरेका थिए।

सामूहिक पूजा सम्पन्न भएपछि साँझ व्रतालु एवम् श्रदालु भक्तजनहरुले मन्दिरमा भजन किर्तन गर्नुका साथै सामूहिक आरती समेत गरेका थिए। यस क्रममा, व्रतालु तथा श्रध्दालु भक्तजनहरुले हिन्दू धार्मिक ग्रन्थ अनुसार आफ्नो, जीवन साथीको, सन्तानको, परिवार लगायतको सुख, शान्ति, स्वास्थ्य, दिर्घायू, उत्तरोत्तर प्रगति, उन्नति, समृद्धिको कामना गर्दै आपसमा शुभकामना साटासाट गरेका थिए। तीजको माहोलमा उनिहरुले तीज विशेष गीतहरु गाएर र नाचेर आपसमा दु:ख सुख साटासाट गर्दै मनोरञ्जन समेत गरेका थिए। आयोजकले मन्दिरमा उपस्थित व्रतालु एवम् श्रद्धालु भक्तजन तथा मन्दिर दर्शनार्थीहरुका लागि प्रसादको समेत व्यवस्था गरेको थियो।
सन् २०२३ को मे २७ देखि मे ३० तारिखसम्म आयोजित ४ दिने बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न भएसंगै सुचारु भएको यस मन्दिरमा, हरेक वर्ष भाद्र शुक्ल तृतीय अर्थात तीज व्रतको दिन ‘तीज विशेष सामूहिक पूजा’ र भाद्र शुक्ल पञ्चमी अर्थात ‘ऋषिपञ्चमी’को दिन ‘पञ्चमी पूजा’को आयोजना गरिदै आइएको छ।
यसैबीच हरितालिका तीजको अवसरमा न्यू इङ्गल्याण्ड क्षेत्रमा क्रियाशील प्रवासी नेपालीहरुका संघ संस्थाहरु : ग्रेटर बोस्टन नेपाली समुदाय (जिबिएनसि), नेपाली वोमन्स ग्लोबल नेटवर्क, न्यू इंग्ल्याण्ड च्याप्टर (एनडब्लुजिएन), नरउड (Norwood) स्थित सृजनशील महिला समूह, न्यू इङ्गल्याण्ड (सिडब्लुजिएन), हिमालयन लायन्स क्लब लगायतले तीज विशेष साङ्गतिक कार्यक्रमको आयोजना गरेका थिए। उक्त कार्यक्रमहरुमा विगतमा झैं यस वर्ष पनि न्यू इङ्गल्याण्ड क्षेत्रमा रहेका प्रवासी नेपालीहरुले सक्रिय सहभागिता जनाउदै नेपाली स्वादका मिष्ठान्न भोजन गर्दै, नाच्दै, गाउदै मनोरञ्जन गर्दै तीज हर्षोल्लासका साथ मनाएका थिए।













प्रतिक्रिया