मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

एनआरएनए, अमेरिकाको १४औँ साधारण सभा तथा सपथग्रहण समारोह सम्पन्न

एनआरएनए, अमेरिकाको १४औँ साधारण सभा तथा सपथग्रहण समारोह सम्पन्न

संघको बागडोर साह नेतृत्वको कार्यसमितिले सम्हाल्यो


अमेरिका, बोस्टन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसिसि), अमेरिकाको १४औँ साधारण सभा(एजिएम) तथा सपथग्रहण समारोह सम्पन्न भएको छ। गत अगस्ट २२ र २३, २०२५ सुक्रवार र शनिवार अमेरिकाको भर्जिनिया राज्यको मनासस् स्थित विन्डह्याम गार्डेन होटलमा आयोजित उक्त कार्यक्रम अगष्ट २३, २०२५ शनिवार सम्पन्न भएको हो।

२०२३-२०२५ दुइ वर्षीय कार्यकालको उपलब्धिहरू साटासाट गर्दै खुशी मनाउने, २०२५-२०२७ का लागि चयन भएका व्यक्तित्वहरुलाई औपचारिक रूपमा स्वागत गर्ने, सपथग्रहण गराउने र पद सहित कार्यभार हस्तान्तरण गर्ने र संस्थाको तर्फबाट नेपालको विकासप्रतिको सामूहिक प्रतिबद्धतालाई थप सुदृढ पार्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

संस्थाका प्रवक्ता डाक्टर राजन पन्त संयोजक र सल्लाहकार ददिराम ढुङ्गाना सहसंयोजक रहेको उक्त कार्यक्रममा नेपालको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो।

संघका अध्यक्ष डाक्टर अर्जुन बन्जाडेको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले आपसी एकतामा जोड दिएका थिए। सम्बोधनका क्रममा उनले एकता नै सबैभन्दा ठूलो बल भएको, नेपाललाई समृद्ध बनाउन सबै नेपालीहरुका बीच एकताको खाँचो रहेकोमा जोडदिदै कर्मथलोमा आर्जन गरेको ज्ञान, सीप र धन जन्मथलोका लागि सदुपयोग गर्न प्रवासी नेपालीहरुलाई विशेष अनुरोध गरेका थिए। प्रमुख अतिथि पाण्डेले एनआरएनए, एनसिसि, अमेरिकाका नव निर्वाचित कर्यसमितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुका साथै विदा हुदै गरेको कार्यसमितिलाई सहभागिता जनाउने अवसर दिएकोमा धन्यवाद व्यक्त गरेका थिए।

कार्यक्रममा सम्बोधन गर्दै संघका पूर्व अध्यक्ष शुनिल साह, पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्त, पूर्व महासचिव बिआर लामा, जन सम्पर्क समितिका अध्यक्ष आनन्द बिस्ट, जनसम्पर्क समितिका पूर्व संयोजक बिष्णु सुवेदी, अध्यक्षका प्रत्यासी द्वय भानु खरेल र रामहरि अधिकारी लगायतले अमेरिकामा रहेका सबै प्रवासी नेपालीहरु एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिदै नयाँ निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

पहिलो सत्र समाप्त भए लगतै दोश्रो सत्र(बन्द सत्र) सुरु भएको थियो। बन्द सत्रमा महासचिव रामहरि अधिकारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सरोज सिग्देलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

संघको निर्वाचन सम्पन्न गर्न निर्वाचन प्रमुखको भूमिका निर्वाह गरेका टुकप्रसाद रेग्मीले संघको आगामी दुइ वर्षीय कार्यकाल(२०२५-२७) का लागि नवनिर्वाचित राष्ट्रिय तथा च्याप्टरका कार्यसमितिहरुलाई संघको विधान अनुसार पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए। सपथग्रहणसंगै पुरानो कार्यसमितिले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै कार्यभार हस्तान्तरण गरेको थियो। यसैक्रममा, समारोहमा सहभागीहरुले पनि नव निर्वाचित राष्ट्रिय तथा च्याप्टर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

 

निवर्तमान अध्यक्ष अर्जुन बन्जाडेले संघले सङ्कटको परिस्थितिबाट गुज्रदै निकासको बाटो पहिल्याउन सफल भएकोमा निकै खुशी व्यक्त गरे। उनले निर्वाचन सम्पन्न गर्न अहोरात्र खट्ने निर्वाचन समिति, पूर्व अध्यक्ष तथा कार्यसमिहरु, सदस्यहरु लगायतलाई आफू नेतृत्वको कार्यसमितिको तर्फबाट धन्यवाद व्यक्त गरेका छन्। साथै उनले, नवनिर्वाचित कार्यसमितिले संघको हितका लागि एकताबद्ध भएर विना भेदभाव सबैलाई समेटेर काम गर्ने अपेक्षा गर्दै सफल कार्यकालको कामना गरेका छन्।

नव निर्वाचित अध्यक्ष सतेन्द्र के साहले निर्वाचनमा भागलिएर आफूलाई संघको बागडोर सुम्पदै राष्ट्रिय तथा च्याप्टर कार्यसमितिहरु चयन गर्ने सदस्यहरुलाई विशेष धन्यवाद व्यक्त गरेका छन्। उनले विषम परिस्थितिमा पनि निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग, पूर्व कार्यसमितिहरु, निवर्तमान कार्यसमिति, अग्रजहरु, सहयोगी तथा शुभचिन्तकहरुप्रति आभार व्यक्त गरेका छन्। आफ्नो नेतृत्वमा रहेकको कार्यसमितिले आफ्नो कार्य अवधि भरी संस्थाको गरिमा उच्च राख्न, सदस्यहरुको शिर ठाडो गराउन र अमेरिकामा रहेका सबै प्रवासी नेपालीहरुले अपनत्वको अनुभूति गर्न पाउने गरी काम गर्ने उनले बताए।

अध्यक्ष साहले आफूले पद ग्रहण गरेको नभई जिम्मेवारी वहन गरेको जिकिर गरे। उनले वर्तमान अवस्थामा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समिति(आइसिसि)संग आवद्ध नरहेकाले आइसिसिको विवादलाई न्यायालयले टुङ्गो नलगाउदासम्म कुनै पनि गुट उपगुटमा एनआरएनए, अमेरिका नलागी आफ्नो संस्थागत उद्देश्य प्राप्तिका लागि सक्रिय रहने प्रस्ट पारे। प्रतिक्रिया दिने क्रममा उनले संघ भित्र रहेको विवादलाई समाधान गर्दै संस्थालाई नयाँ उचाइमा पुर्याउन आफू नेतृत्वको कार्यसमितिले अब दुइ वर्ष इमानदारी पूर्वक काम गर्ने प्रतिबद्धता जाहेर गरे।

सपथग्रहण लगतै अगष्ट २३, २०२५ शनिवार कार्यक्रम स्थलमै नव निर्वाचित अध्यक्ष साहको अध्यक्षतामा नव निर्वाचित कार्यसमितिको पहिलो बैठक बसेको छ। बैठकले सन्देश उप्रेतिलाई प्रवक्ता नियुक्त गरेको छ। नव नियुक्त प्रवक्ता उप्रेतिले आफूलाई प्रवक्ताको जिम्मेवारी सुम्पने अध्यक्ष साह तथा कार्यसमितिलाई धन्यवाद दिदै विधान अनुसार आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध भएर लाग्ने बताए।

शेयर गर्नुहोस:

3.1k
Shares