समाचारमा समेटिएका मुख्य बुँदाहरु
- एकता नै सबैभन्दा ठूलो बल हो। नेपाललाई समृद्ध बनाउन सबै नेपालीहरुका बीच एकताको खाँचो।
- प्रवासमा रहेर पनि नेपालप्रतिको चिन्ता, चासो, एकता र प्रतिबद्धता प्रशंसनीय।
- लगानी गर्ने वातावरण तयार गर्नु पर्ने। कर्म थलोमा आर्जन गरेको ज्ञान, सीप र धन जन्मथलोका लागि सदुपयोग गर्न अनुरोध।
- नेपालीहरुमा सकारात्मक सोच सहित सामूहिक
योगदान भयो भने नेपाललाई समृद्ध बनाउन सकिन्छ। - पहिला हामी नेपाली हौं। हाम्रो साझा पहिचान नेपाली हो।
- गैरआवासीय नेपाली नागरिकताका सवालमा इमान्दारिताका साथ प्रयत्न गर्नेछु।
- नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना ।
अमेरिका,बोस्टन। नेपालको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाललाई समृद्ध बनाउन नेपालीहरुका बीच एकताको खाँचो औल्याएका छन्। आज अगस्ट २३, २०२५ शनिवार अमेरिकाको भर्जिनियामा आयोजित गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसिसि), अमेरिकाको १४औँ साधारण सभा(एजिएम) तथा सपथग्रहण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्। उनले एकता नै सबैभन्दा ठूलो बल भएकोमा जोडदिदै प्रवासमा रहेका नेपालीहरुका बीच, नेपालमा रहेका नेपालीहरुका बीच र नेपाल र प्रवासमा रहेका नेपालीहरुका बीचको एकताको बलले मात्रै नेपाललाई समृद्ध बनाउन सकिने जिकिर गरे।
प्रमुख अतिथिको हैसियतमा कार्यक्रममा सहभागिता जनाएका मुख्यमन्त्री पाण्डेले प्रवासमा रहेका नेपालीहरुले एकतालाई अग्रभागमा राखेर अगाडि बढ्ने अपेक्षा समेत व्यक्त गरे। नेपाल र नेपाल बाहिर रहेका नेपालीहरुको धर्म, भाषा, जात, क्षेत्र आदिका आधारमा विभिन्न संघ सङ्गठनहरु भएको भएतापनि, सबैको साझा पहिचान भनेको नेपाली नै भएकोमा उनले जोड दिए। गैरआवासीय नेपाली संघको मूल नारा ”एक पटकको नेपाली, सधैका लागि नेपाली” लाई उल्लेख गर्दै मुख्यन्त्री पाण्डेले भने, ”पहिला हामी नेपाली हौं। हाम्रो साझा पहिचान भनेको नेपाली हो। त्यसैले नेपालमा रहेका नेपाली र विदेशमा रहेका नेपालीहरु मिलेर मात्रै नेपाललाई समृद्ध बनाउन सक्छौं।”
कार्यक्रममा सम्बोधन गर्दै उनले प्रवासमा रहेर पनि नेपालप्रति प्रवासी नेपालीहरुले देखाएको चिन्ता, चासो, एकता र प्रतिबद्धता प्रशंसनीय रहेको बताए। उनले अमेरिकामा रहेका नेपालीहरुको चाहना र अनुरोधलाई सम्बोधन गरेर वर्तमान सरकारले क्यालिफोर्निया र टेक्सास राज्यमा हालसालै वाणिज्यदूतावासको कार्यालय खुलाइएको र त्यसबाट प्रवासी नेपालीहरुलाई आवश्यक सेवा लिन सहजता मिल्ने अपेक्षा व्यक्त गरे।
सम्बोधनका क्रममा मुख्यमन्त्री पाण्डेले गैरआवासीय नेपाली नागरिकता संविधानमै व्यवस्था भएको र त्यस अनुसार कानून बनाएर वितरण गर्ने कार्य सुरु गरिएको भएतापनि अपेक्षा अनुसार कार्यान्वयनका क्रममा सबै हक अधिकार सुनिश्चित हुने गरी सम्बोधन हुन नसकेको कुरा स्विकार गरे। उनले पूर्ण अधिकारसहित कार्यान्वयनमा कसरी लैजान सकिन्छ भन्ने विषयमा पार्टीहरु भित्र र सरकारमा पनि छलफलहरु चलिरहेको र आफूले पनि सरोकारवालाहरुलाई घचघच्याउन इमानदारीता पूर्वक सहजिकरणको प्रयत्न गर्ने बचन व्यक्त गरे। उनले भावी दिनहरुमा नेपालमा लगानीका लागि अनुकूल वातावरण बन्दै जाने विश्वास दिलाउदै कर्मथलो अमेरिकामा आर्जन गरेको ज्ञान, सीप र धनलाई आफ्नो जन्मथलो नेपालको समृद्धिका लागि सदुपयोग गर्न प्रवासी नेपालीहरुलाई विशेष अनुरोध गरेका थिए।
पछिल्लो समय ”नेपालमा केही पनि भएन। नेपालमा केही पनि हुदैन” भन्ने भाष्य निर्माण भइरहेको उल्लेख गर्दै मुख्यमत्री पाण्डेले त्यसप्रति असहमति जनाउदै जति हुनुपर्ने थियो त्यति नभएको, जति गर्न सकिन्थ्यो त्यति गर्न नसकिएको तर नेपालमा केही पनि भएको छैन भन्ने भाष्य सही नभएको जिकिर गरे। जे जति भएको छ त्यसलाई सकारात्मक रुपमा लिएर अगाडि बढ्नु पर्नेमा जोड दिदै उनले भने, ”नकारात्मक दृष्टिकोण र निरोत्साहित भावनाले मात्र कुनै पनि मुलुक बनाउन सकिदैन। हामीले सकारात्मक सोच्नु पर्दछ। हामी सबैको सामूहिक योगदान भयो भने मुलुकलाई बनाउन सकिन्छ भन्ने हामीमा आत्मविश्वास छ।”
युक्रेनको राष्ट्रपतिको चयन, उनको भूमिका र वर्तमान युक्रेनको अवस्थाको दृष्टान्त दिदै मुख्यमन्त्री पाण्डेले कुनै पनि पार्टी वा व्यक्तिप्रति धारणा र दृष्टिकोण बनाउदा भावनामा बगेर नभइ उसको बिचार, सिद्धान्त, निति आदिका आधारमा बनाउनु पर्ने बताए। उनले पोखरालाई नेपालको पर्यटकीय राजधानी र सात तालको सहरका रुपमा विकास गर्ने योजना अघि बढिरहेको जानकारी दिदै त्यसलाई साकार बनाउन लगानीका नयाँ सम्भावनाहरुको खोजी गर्न र लगानीमा सहभागी हुन अमेरिकामा रहेका नेपालीहरुलाई अनुरोध गरेका थिए।

एनआरएनए, एनसिसि, अमेरिकाका अध्यक्ष डाक्टर अर्जुन बन्जाडेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पाण्डेले एनआरएनए, एनसिसि, अमेरिकाका नव निर्वाचित कर्यसमितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुका साथै विदा हुदै गरेको कार्यसमितिलाई सहभागिता जनाउने अवसर दिएकोमा धन्यवाद व्यक्त गरेका थिए।












प्रतिक्रिया