अमेरिका, बोस्टन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्(एनआरएनए,एनसिसि), अमेरिकाको आगामी कार्यकाल(सन् २०२५-२७) का लागि अध्यक्षमा सतेन्द्र के साह निर्वाचित भएका छन्। टुकप्रसाद रेग्मीको नेतृत्वमा अगस्ट १८, २०२५ सोमवार सम्पन्न निर्वाचन परिणाम घोषणा गरे अनुसार संघको अध्यक्षमा साह निर्वाचित भएका हुन्।
निर्वाचन आयोगका अनुसार, अध्यक्ष पदका आफ्ना तीन प्रतिस्पर्धीहरु भानु खरेल, रामहरि अधिकारी र रामजि(राज) आचार्यलाई पराजित गर्दै साह अध्यक्षको बागडोर सम्हाल्न पुगेका हुन्। निर्वाचनको मत परिणाम अनुसार साहले ३ हजार २ सय २८ मत ल्याएर विजय हुन सफल भए भने, उनका प्रतिस्पर्धीहरु भानु खरेलले २ हजार ५ सय ६, रामहरि अधिकारीले २ हजार ६३ र रामजि(राज) अधिकारीले १०५ मत प्राप्त गरे।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा सन्तोष पहरी विजयी भएका छन्। पहरीले आफ्ना प्रतिस्पर्धीहरु डाक्टर परशुराम दाहाल र सरोज सिग्देललाई पछि पार्दै वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुन सफल भएका हुन्।
संस्थाको विधान अनुसार ४ जना राष्ट्रिय उपाध्यक्ष पदका लागि १३ जनाले मनोनयन दर्ता गरेका थिए। जस मध्य प्रदीप चौलागाई, डाक्टर गंगाधर आचार्य, आङ् छिरिङ शेर्पा र सुरेन्द्र लौडरी निर्वाचित भएका छन्।
राष्ट्रिय महिला उपाध्यक्ष पदका लागि दुर्गा तिवारी, गीता बजगाँई र सुनिता खत्री चुनावी मैदानमा उत्रिएका थिए। आयोगले सार्वजनिक गरेको निर्वाचन परिणाम अनुसार सुनिता खत्री महिला उपाध्यक्ष पदमा निर्वाचित भएकी छिन्। त्यसैगरी, संघको युवा उपाध्यक्ष पदमा विजय वाइबा विजयी भएका छन्। उक्त पदमा विजय वाइबा, नवराज रेग्मी र सुबोध रेग्मी प्रतिस्पर्धामा उत्रिएका थिए।
निर्वाचन मत परिणाम अनुसार महासचिव पदका लागि तीन जना प्रतिस्पर्धामा उत्रिएका थिए। अन्ततः मोहन न्यौपानेले आफ्ना प्रतिस्पर्धी द्वय अनुप खनाल र तेज पौडेललाई पराजित गर्दै महासचिव पदमा निर्वाचित भएका छन्। सचिव(खुला) मा आफ्ना तीन प्रतिस्पर्धीरहरु बासुदेव भट्ट, सुभाश बैठा र सुभाष अर्याललाई पछि पार्दै सूर्य बस्ताकोटा विजयी भएका छन्। कोषाध्यक्ष पदमा रबिन्द्र उप्रेति विजयी भएका छन। उनि आफ्ना प्रतिस्पर्धी महेन्द्र बस्नेतलाई पराजित गरेर विजयी हुन सफल भएका हुन्। महिला सचिवमा लक्ष्मी थापा र सह-कोषाध्यक्षमा मोहन कुसारी निर्विरोध निर्वाचित हुन सफल भएका छन्।
युवा संयोजक पदमा विकी थापा र संसार चौलागाई र महिला संयोजक पदमा करिना कुँवर र सरस्वती शर्माले मनोनयन दर्ता गराएका थिए। निर्वाचन परिणाम अनुसार युवा संयोजकमा संसार चौलागाई र महिला संयोजकमा करिना कुवँर चयन हुन सफल भएका छन्।
यसैगरी, खुला तर्फ ८ राष्ट्रिय बोर्ड सदस्य(बोर्ड अफ डाइरेक्टर) पदका लागि भएको प्रतिस्पर्धामा २३ जना उमेदवारहरु चुनावी मैदानमा आमनेसामने भएका थिए। मत परिणाम अनुसार सन्तोष लम्साल, माधव गौतम, बाबुराम काफ्ले, ध्रुव गौतम, राजु साह, इन्द्र कान्त चौधरी, ओम विश्वकर्मा र हेम ठकुल्ला निर्वाचित भएका छन्।
यसै क्रममा, सम्पन्न निर्वाचनले आगामी कार्यकालका लागि अमेरिकाको विभिन्न राज्यहरुको च्याप्टर कार्यसमिति पनि चयन गरेको छ।
गुरुङको नेतृत्वमा म्यासाच्युसेट्स च्याप्टर कार्यसमिति निर्विरोध चयन
म्यास्याच्युसेट्स राज्यमा खोम (राजु) गुरुङको नेतृत्वमा च्याप्टर कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। च्याप्टर उपाध्यमा समुन्द्र के श्रेष्ठ, महिला उपाध्यक्षमा स्नेहा पन्थी, सचिवमा अजय कुशवाह, महिला सचिवमा सुधा गुरुङ र कोषाध्यक्षमा प्रशान्त तामाङ निर्वाचित भएका छन्। त्यसैगरी, युवा संयोजकमा राजु बन्जाडे, महिला संयोजकमा ग्रीश्मा श्रेष्ठ र सदस्यहरुमा जय भण्डारी, जीवन थापा, माधव थापा, शन्तोष खनाल र स्कन्द यादव चयन भएका छन्।
निर्वाचन समितिले जनाए अनुसार, अगस्ट १७ र १८, २०२५ (आइतवार र सोमवार) भएको निर्वाचनमा, १३ हजार १ सय ७५ मतदाता मध्ये ८ हजार ३ सय ३ मतदाताले मतदान गरेका थिए। जो कुल मतदाताको ६३ दशमलव ०२ प्रतिशत हो।
निर्वाचन प्रमुख टुक रेग्मीले विशेष परिस्थिमा आफूले लिएको जिम्मेवारी पूरा भएकोमा खुशी व्यक्त गर्दै निर्वाचनको क्रममा प्रत्यक्ष परोक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। उनले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु नै सबैको जित भएको जिकिर गर्दै विजयी सबै व्यक्तित्वहरुलाई बधाई सहित शुभकामना व्यक्त गरेका छन्।












प्रतिक्रिया