अमेरिका, बोस्टन। टिभी रियालिटी शो ‘भ्वाइस किड्स’ चौथो सिजनको उपाधि सोनाली राजभण्डारीले चुम्न सफल भएकी छिन्। उनले आफ्ना अन्तिम ७ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि चुम्न सफल भएकी हुन्।


आयोजकले अन्तिम विजेताको छिनोफानो गर्न भोटलाई आधार बनाएको थियो। शनिवार आयोजित विशेष कार्यक्रममा सर्वाधिक भोट प्राप्त गरेको भन्दै ‘भ्वाइस किड्स’ चौथो सिजनको उपाधि राजभण्डारीले जितेको आयोजकले घोषणा गरेको हो। कार्यक्रममा राजभण्डारीलाई विजेताको उपाधिसंगै ट्रफी र पुरस्कार स्वरुप १० लाख रुपैयाँको चेक प्रदान गरिएको थियो। यससंगै उनले ‘भ्वाइस किड्स्’ को उपाधि जित्ने पहिलो ‘नारी’ र ‘प्रवासी नेपाली’ को रेकर्ड पनि राख्न सफल भएकी छिन्। प्रतियोगी नंबर २४ की उनि कोच मेलिना राईको समूहबाट अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएकी थिइन्। कार्यक्रममा कोच राईलाई समेत सम्मान स्वरुप ट्रफी प्रदान गरिएको थियो।

राजभण्डारीले उपाधि जित्ने आफ्नो लक्ष्य साकार भएकोमा निकै खुशी व्यक्त गरेकी छिन्। उपाधि घोषणा गर्दा उनको खुशी थचल्किएर आँखाबाट वाहिरिएको थियो। विजेता राजभण्डारीले उपाधि जित्दाको खुशी आफ्ना प्रतिस्पर्धीहरु, आयोजक, कोचहरु, दर्शकहरु, परिवार, आफन्तजन, सहयोगी तथा शुभचिन्तकहरुसंग साझा गरेकी थिइन्। आफूलाई साङ्गीतिक क्षेत्रमा लाग्नका लागि पारिवारिक वातावरण अनुकूल बनाइ उत्प्रेरणा दिने आफ्नो परिवारप्रति विशेष कृतज्ञता प्रकट गरेकी छिन्। यसै क्रममा उनले उपाधि चुम्ने लक्ष्यलाई साकार बनाउने यात्राका क्रममा प्रत्यक्ष परोक्ष रुपमा साथ दिने र सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी छिन्।

ग्रान्ड फिनालेमा भाग लिन सोनालीको सपरिवार नेपाल पुगेका थिए। सोनालीसंगै परिवारले पनि खुशी सबैसंग साटासाट गर्न भ्याए। विजेता राजभण्डारीका पिता राजेश राजभण्डारीले पनि परिवारको तर्फबाट सबैलाई धन्यवाद व्यक्त गरेका छन्। उनले छोरीको ‘जीत’, साथ सहयोग गर्ने सबैको ‘जीत’ भएको जिकिर गरे। आगामी दिनहरुमा पनि छोरी सोनालीलाई अगाडि बनाउन यस्तै साथ सहयोग प्राप्त हुने अपेक्षा गर्दै उनले सोनालीलाई अनुशासित र परिपक्क भएर साङ्गीतिक क्षेत्रमा क्रियाशील हुन परिवारको तर्फबाट सक्दो मार्गदर्शन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। उनले छोरी सोनालीले गरेको मेहनत र प्राप्त गरेको उपलब्धिमा घमण्ड नभै गर्व लागिरहेको बताए। कुराकानीका क्रममा राजभण्डारीले नेपाल र नेपालीको गरिमालाई उचाइमा पुर्याउन आफ्नो परिवार सदा सक्दो लागिपर्ने वाचा व्यक्त गरे। ग्रान्ड फिनालेमा भाग लिन सोनालीको सपरिवार नेपाल पुगेका थिए।


सोनालीसंगै कोच मेलिनाको समूहबाट नोरेन लोय क्षेत्री पनि छनोट भएका थिए। ४ जना कोच रहेको यस टिभी रियालिटी शोको नियम अनुसार हरेक कोचबाट २/२ जना प्रतिस्पर्धी अन्तिम प्रतिस्पर्धाका लागि छानिएका थिए। अन्तिम प्रतिस्पर्धाका लागि छनोट हुन सफल अन्य प्रतिस्पर्धीहरुमा कोच सत्यराज आचार्यको टिमबाट स्मयन बजगाँई र रिदम खड्का, कोच मिलन नेवारको समूहबाट निश्चल लिम्बु र आयन राई र कोच खेम सेन्चुरीको समूहबाट आदर्श धिताल र दिलिजा रुवाली रहेका थिए।

नेपालको ओखलढुङ्गा जिल्ला, रामबजार -५ पिता पुर्खाको थाकथलो भएकी सोनाली अमेरिकामै जन्मिएकी हुन्। बुबा राजेश राजभण्डारी, आमा सारदा राउत राजभण्डारी र दिदी रुसाली राजभण्डारीसंग हाल अमेरिकाको बोस्टनमा बस्दै आइरहेकी ११ वर्षीया सोनाली शैक्षिक अध्ययनका लागि कक्षा ७ को खुड्किलो चडेकी छिन्। गीत/सङ्गीतको क्षेत्रमा लाग्दै आएकी आमा सारदा राउत राजभण्डारी, परिवार र बोस्टनबासी प्रवासी नेपालीहरुको प्रेरणाले बाल्यकालदेखि नै सोनाली गायन क्षेत्रमा होमिएकी थिइन्। उनले बोस्टन स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा हरेक आइतवार हुने नियमित भजन कीर्तनमा भजन गाउदै आइरहेकी छिन्।














प्रतिक्रिया