अमेरिका- नागरिकता खोई अभियानले शनिबार टेक्सस ड्यालसमा हुन लागेको अन्तरक्रिया कार्यक्रममा एनआरएनए अमेरिका एनसीसीले पनि सहभागिता जनाउने भएको छ।
एनआरएनए आईसीसी महासचिव गौरी जोशी, अमेरिका एनसीसीका वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीलगायतसँग नागरिकता खोई अभियानले बिहीबार यो अभियानलाई अझ सशक्त बनाउने बारेमा छलफल गरेको थियो।
उक्त अवसरमा एनआरएनए आईसीसी महासचिव गौरी जोशीले यो अभियान विदेशमा बस्ने नेपालीको मुख्य मुद्दा भएकाले यसलाई आफ्नो पूर्ण समर्थन रहेको बताएका थिए।
नेपालीले पाएको वंशजको नागरिकतालाई नै निरन्तरता दिनुपर्छ भन्ने उद्देश्यमा नागरिकता खोई अभियान सक्रिय छ। “हामीले नेपालमा सशक्त रूपमा यो मुद्दालाई राजनीतिक पार्टीका नेता, मिडिया र नागरिक समाजसँग राखेका छौँ,” नागरिकता खोई अभियानका संयोजक वासुदेव घिमिरेले भने, “यसलाई अझ सशक्त बनाउन अमेरिकाका विभिन्न शहरमा अन्तरक्रिया गर्न लागिएको हो।” ड्यालसमा पछि ह्युस्टनमा अन्तरक्रिया हुने छ।
नागरिकता खोई अभियान, एनआरएनए अमेरिका टेक्सस च्याप्टर र एनआरएनए अमेरिकाको संयुक्त पहलमा इर्विंगको भेटघाट रेस्टुरेन्टमा शनिवार, मार्च १५ तारिख दिउँसो १ बजेबाट अन्तरक्रिया हुँदै छ।
सरकारले विदेशमा बसेर त्यहाँको नागरिकता लिएका नेपालीलाई गैरआवासीय नागरिकता दिने गरेको छ। तर, यो नागरिकता लिनेले नेपाल जाँदा भिसा समेत लिनु पर्ने भएकाले यसलाई निकम्मा मानिएको छ।
“अहिले दिइएको एनआरएन नागरिकताले हामीलाई तेस्रो दर्जाको नागरिक बनाउँछ,” घिमिरेले भने, “हामी तेस्रो दर्जाको नागरिक हुन चाहँदैनौँ। हाम्रो वंशजको नागरिकता नै निरन्तरता हुनुपर्छ।”
अमेरिकामा अप्रवासीमाथि जुन अनुदारता देखाइएको छ, यो सन्दर्भमा यहाँ बस्ने नेपालीलाई वंशजको नागरिकता निरन्तरता हुन जरुरी भएको घिमिरेले बताए।
प्रतिक्रिया