मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकी शेयर बजार र ट्रम्प मिथक

अमेरिकी शेयर बजार र ट्रम्प मिथक

रामचन्द्र भट्ट

शेयर गर्नुहोस:

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेरा एक सहकर्मीले एक महिना अघि प्याच्च बोले । ‘बरु बुढो नै ठीक हो कि क्या हो ? शेयर बजार कति माथि पुगेको थियो ?’ उनले बुढो भनेर इंगित गरेको व्यक्ति अमेरिकाका पूर्ब राष्ट्रपति डोनाल्ड ट्रम्प थिए ।

मेरा ती सहकर्मीको बुझाईमा ट्रम्पको शासनकाल (सन् २०१७ देखि सन् २०२० सम्म) मा शेयर बजार धेरै राम्रो थियो । क्रिप्टो करेन्सीमा नराम्रोसँग डुबेका मेरा ती सहकर्मीको आश चाहि फेरि ट्रम्पले जितेको खण्डमा माथि उकासिन्छ कि भन्ने रहेछ ।

अमेरिकी शेयर बजारमा थोरबहुत लगानी भएका नेपालीहरुको बुझाई डोनाल्ड ट्रम्प शेयरबजार मैत्री हुन् भन्ने परेको बुझिन्छ । केही बर्षयता अरुले कमाएको चर्चा सुनेर, लहैलहैमा परेर, नेपालमा गाउँगाउँमा पुगेको शेयरको चर्चा थाहा पाएर यता पनि स्टक मार्केटमा लगानी गर्नेहरुको अभाव छैन । कुन कम्पनीको भविष्य कस्तो हुन्छ ? कुन कम्पनीको प्रोडक्ट के छ र त्यसको माग कस्तो छ ? भन्ने आधारभुत कुराहरु नबुझि, शेयर बजारको सामान्य तालिम समेत नलिइ लगानी गर्नेहरु पछिल्ला चार पाँच वर्षमा डुबेका छन् ।

पौडी खेल्न नजानी नदीमा पस्दा बगिन्छ या डुबिन्छ । बगेपनि, डुबेपनि ज्यान जोखिममा हुन्छ । त्यसैगरि शेयर बजारका बारेमा नबुझि अरुको लहैलहैमा लाग्दा डुबेका उदाहरण तपाई हाम्रा वरिपरि प्रशस्त छन् । स्टक मार्केटमा भन्दा पनि क्रिप्टो करेन्सीमा लगानी गरेर डुबेका अझ बढी छन् । तिनका बुझाईमा फेरि क्रिप्टो र स्टक एउटै हो । कहाँको नियन्त्रित स्टक मार्केट ? कताको छाडा र कुनै नियन्त्रण, नियमन नभएको, भौतिक वस्तुका रुपमा केही नरहेको क्रिप्टो ? क्रिप्टोमा चलाखीपूर्ण रुपमा लगानी गर्नेहरुले कमाएका छन् । तर त्यसको बारेमा नबुझि फाल हाल्नेहरु डुबेका छन् । यसको अन्तिम गन्तव्य भनेको डुब्ने नै हो । डुब्दा चाहि सोझा सिधानै डुब्ने हुन् ।

अब प्रसङ्ग फेरि सुरुकैमा जाउँ । मेरा ती सहकर्मीले भनेजस्तै ट्रम्प शेयर बजारका उद्धारकर्ता हुन् त भन्ने बुझ्न यो तथ्यांकलाई केलाउनु पर्ने हुन्छ ।

एक महिना अघि १६ सेप्टेम्बरमा ४१६२२ अंक रहेको अमेरिकी शेयर बजारको डाउजोन्स इण्डेक्स आज अक्टोबर १५ मा ४३०६५ मा चढेको छ । हरेक सेकेण्डमा फेरबदल हुन सक्ने डाउजोन्स इण्डेक्स स्टक मार्केटमा शेयरको मूल्य अनुसार तलमाथि भइरहन्छ । एक महिनाको अवधिमा इण्डेक्स १४४३ अंकले बढेको छ ।

डाउजोन्स इण्डेक्स ठीक एक बर्ष अघि अक्टोबर १६ का दिन ३३९८४ अंकमा थियो । एक वर्ष अघिको भन्दा नौ हजार अंक भन्दा बढीले स्टक मार्केटको इण्डेक्स बढेको छ ।

शेयर बजारमा लगानी गर्न जो कोहीलाई लाग्छ मैले लिएको शेयरको मूल्य निरन्तर बढी रहोस् । कहिल्यै तल नझरोस् । शेयर मूल्य घटेको लगानीकर्ताका निम्ति सबैभन्दा अप्रिय चिज हो । तर सधैभरि त्यसो हुँदैन । शेयर बजारमा प्रवेश गरिसकेपछि शेयरको मूल्य बढ्दा हौसिने र घट्दा आत्तिनेका लागि यो बजार उपयुक्त हुँदैन । जोखिम वहन गर्नसक्ने क्षमता नभएकाहरु त प्रवेशै नगर्दा ठीक हुन्छ ।

शेयर बजारको प्रकृति अर्थतन्त्र राम्रो हुँदै गएमा, बजारमा हरेक चिजवस्तुको माग र आपूर्ति सन्तुलिन हुँदै गएमा, अन्तर्राष्ट्रिय बजारमा कुनै व्यवधान नआएमा विस्तारै उकालो लाग्छ । यो एउटै देशको मात्र कारणले हुँदैन ।

डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छाड्दाको अन्तिम दिन अर्थात जनवरी १९, २०२१ मा डाउजोन्स ३०९९६ मा थियो । माथि उल्लेखित आजको डाउजोन्ससँग तुलना गरेर पाठकहरु आफैंले निकाल्न सक्नुहुन्छ ट्रम्पले छाडेपछि शेयर बजारको इण्डेक्स कति बढ्यो या घट्यो भनेर । ल मै लेखिदिन्छु जो बाइडेन र कमला ह्यारिस प्रसासनले ह्वाइट हाउस सम्हाले यता डाउजोन्स १२ हजार ६९ अंकले माथि चढेको छ । सन् २०१७ जनवरी २० तारिक, जुन दिन डोनाल्ड ट्रम्पले अमेरिकाको शासन सम्हालेका थिए, त्यो दिन डाउजोन्स १९८२७ अंकमा थियो ।

ट्रम्पको शासनकालमा स्टकका लगानीकर्ताहरुले ठूलो रकम गुमाए । सन् २०२० को दोस्रो त्रैमासबाट सुरु भएको कोभिडलाई व्यबस्थापन गर्न ट्रम्पले नसक्दा त्यसको सबैभन्दा ठूलो असर स्टक मार्केटमा परेको तथ्यलाई ‘शेयरको लगानीकर्ता हुँ’ भन्नेहरुले भुल्न नहुने तथ्य हो । मार्च १८, २०२० मा स्टक मार्केटको इण्डेक्स सबैभन्दा तल झरेर १९८९८ मा पुगेको थियो । जवकी ट्रम्प शासनकालमा रेकर्ड ब्रेक गरेको सबैभन्दा माथिल्लो इण्डेक्स भनेको २९३९८ अंक हो । फेब्रुअरी १४, २०२० मा डाउजोन्सले यो अंक छोएको थियो । फेब्रुअरीदेखि मार्चसम्म लाखौ लगानीकर्ताहरुले अमेरिकी शेयर बजारमा अर्बौ डलर गुमाएका थिए । त्यसको कारण डोनाल्ड ट्रम्पले चिनिया भाइरस, यो सामान्य फ्लु मात्रै हो भनेर जनतालाई झुठ बोलेको परिणाम थियो ।

शेयर बजार मात्र नभएर अर्थतन्त्रनै ध्वँस्त भएको अवस्थामा बाइडेन अमेरिकी सत्ता सम्हाल्न आइपुगेका थिए । यसबीचमा गुमेका लाखौ रोजगारी पुनस्र्थापना भएका छन् । बजारमा माग र आपूर्तिमा बीचमा सन्तुलन कायम हुँदै गएको छ । उच्चबिन्दूमा पुगेको व्याजदर घट्दो क्रममा छ । यसले गर्दा स्टक मार्केट सुधारोन्मुख अवस्थामा आइपुगेको छ ।

डोनाल्ड ट्रम्पको बानी राम्रो कुरा अरुले गरेको भएपनि आफै जश लिन खोज्ने अर्थात ‘सिंगलम्यान’ स्वभाव हो । ट्रम्पको स्वभाव ‘हामी’ होइन ‘म’ हो । नराम्रो कुराको अपजशको भारी अरुलाई बोकाउने र राम्रो कामको जश आफूले मात्र लिने ट्रम्प स्वभावलाई यति चाँडै बिर्सन मिल्दैन ।

डोनाल्ड ट्रम्प व्यापारी भएकै कारणले स्टक मार्केट फ्रेण्डली भन्ने जुन भाष्य बनाइएको छ त्यसमा कुनै सत्यता छैन । यो कुरालाई अमेरिकी शेयर बजार डाउजोन्सको इण्डेक्सलाई अध्ययन र विश्लेषण गर्ने हो भने सजिलै बुझ्न सकिन्छ ।

आजको डाउजोन्स इण्डेक्स, ट्रम्पले शासन छाडेर बाइडेन आउँदाको दिनको इण्डेक्स, ट्रम्प हारेको दिन (नोभेम्बर ५, २०२०) को इण्डेक्स, ट्रम्प शासनकाल सुरुवात भएको दिनको इण्डेक्स र कोरोनाकालको इण्डेक्स तुलना गर्ने हो भने स्टक मार्केट मैत्री अवस्था कहिले छ भनेर सजिलै जान्न सकिन्छ ।

एकजनाले केही दिन अघि भनेका थिए ट्रम्पले बोलिदियो भने पनि स्टक मार्केटमा प्रभाव पर्छ । प्रभाव होइन, त्यसलाई ‘म्यानुपुलेट’ भनिन्छ । कसैले बोलेको भरमा स्टक मार्केटमा प्रभाव पारिनु अर्थतन्त्रका खराब पक्ष हो । त्यसमाथि ट्रम्प जस्ता बोलीको कुनै भर नभएका व्यक्तिको पछि लाग्ने लगानीकर्ताहरु डुब्ने नै हुन् । कम्पनीका प्रोडक्ट, भविष्य, व्यालेन्स शीट हेरेर दीर्घकालिन सोचका साथ लगानी गर्नेहरु डुब्दैनन् । आज लगानी गरेर भोली प्रतिफल खोज्ने जुवाडेहरु चाहि अवश्य डुब्छन् ।

तसर्थ, ट्रम्प स्टक मार्केटका उद्धारकर्ता हुन् भनेर कसैले सोचेको छ भने त्यो सर्वथा गलत सोचाई हुनेछ । बरु ट्रम्पले जितेको खण्डमा चीनसँगको व्यापारिक द्वन्द्व बढ्ने स्पष्ट संकेत देखिएको छ । ट्रम्पले चिनिया सामानको भन्सार बढाउने नीति सार्वजनिक गरिसकेका छन् । त्यसको असरले बजारमा चाइनिज सामानको मूल्य बढ्नेछ । मूल्य बढ्नासाथ त्यसले इकोनमीको साइकलमा असर पार्नेछ ।