मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

रिपब्लिकन पूर्व राष्ट्रपति नै ट्रम्पको विपक्षमा

रिपब्लिकन पूर्व राष्ट्रपति नै ट्रम्पको विपक्षमा

रामचन्द्र भट्ट

शेयर गर्नुहोस:

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुई साता अघि पूर्ब राष्ट्रपति जर्ज डब्ल्यु बुसको सचिवालयले एउटा विज्ञप्ति जारी गर्यो । त्यसमा भनिएको थियो-‘पूर्ब राष्ट्रपति बुसले यस पटक राष्ट्रपतिका कुनै पनि उम्मेदवारहरुलाई इण्डोर्स गर्ने योजना छैन ।’ बुस मात्र होइन, उनकी पत्नी फस्र्ट महिला लाउरा बुसले पनि राष्ट्रपतिका दुबै उम्मेदवारहरु कमला ह्यारिस र डोनाल्ड ट्रम्पलाई इण्डोर्स गर्ने योजना नरहेको बुस सचिवालयले स्पष्ट पार्यो ।

रिपब्लिकन पार्टीबाट राष्ट्रपति भएका मध्य बुस एकमात्र जीवित हुन् । उनी सन् २००१ देखि २००८ सम्म अमेरिकाको ४३ औं राष्ट्रपति थिए । उनकै कार्यकालमा सेप्टेम्बर ११, २००१ मा अमेरिकामाथि आतङ्ककारीको ठूलो आक्रमण भयो । न्यूयोर्कको आइकन ट्विन्ट टावर, जसमा वर्ल्ड ट्रेड सेन्टर थियो । त्यहाँ अमेरिकन हवाईजहाज ठोक्काएर आतङ्ककारीहरूले हजारौंको ज्यान लिए । जसका कारण अमेरिका र आवद्ध नेटो सेना अफगानिस्थान पुग्यो । २० वर्षसम्म अफगानिस्थानमा अमेरिकी सेना बस्यो ।

बुस पछि डेमोक्रेटिक पार्टीबाट सन् २००९ मा बाराक ओबामा राष्ट्रपति निर्वाचित भएका थिए । ओबामा पछि रिपब्लिकन पार्टीबाट भने सन् २०१७ मा ट्रम्प निर्वाचित भएका हुन् । बुसको इण्डोर्स ‘बाइ डिफल्ट’ (स्वभाविक) रुपमा आफ्नै पार्टीबाट उम्मेदवार रहेका ट्रम्पलाई हुनुपर्ने थियो । तर बुसले कुनै पनि उम्मेदवारलाई इण्डोर्स गर्ने योजना नरहेको स्पष्ट पार्नुको अर्थ हो बुस ट्रम्पलाई सहयोग गर्न इच्छुक छैनन् । सहयोग गर्दैनन् । बुस फेमिलीनै ट्रम्पलाई भोट हाल्ने योजनामा छैन ।

अमेरिकामा यतिखेर जीवित पूर्ब राष्ट्रपतिहरु पाँचजना मात्र छन् । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति भएका जिम्मी कार्टर, बिल क्लिन्टन र बाराक ओबामा छन् भने रिपब्लिकन पार्टीबाट भएकाहरुमा जर्ज डब्ल्यू बुस र डोनाल्ड ट्रम्प मात्र जीवित छन् । सन् २०२० को चुनावमा वर्तमान राष्ट्रपति जो बाइडेनसँग पराजित ट्रम्प फेरि यसपटक उम्मेदवार छन् । यस हिसाबले रिपब्लिकन पार्टीबाट पूर्ब राष्ट्रपतिहरुमा ट्रम्प बाहेक एकमात्र बुस बाँकी छन् ।

अमेरिकामा प्रायः पूर्ब राष्ट्रपतिहरु राजनीतिमा त्यति विध्न सकृय हुँदैनन् । पूर्ब राष्ट्रपतिहरु आफ्नो नाममा स्थापना भएका सेन्टर वा लाइब्रेरी मार्फत जनतासँग निरन्तर जोडिरहेका हुन्छन् । तर अलि चुनौतिपूर्ण अवस्थामा भने पूर्ब राष्ट्रपतिहरु देशका लागि एकजुट हुन्छन् । वहालवाला राष्ट्रपतिले पूर्ब राष्ट्रपतिहरुलाई ह्वाइट हाउसमा बोलाएर सल्लाह लिने परम्परा देखिन्छ । आफ्नो पार्टीका उम्मेदवारहरुलाई विजयी बनाउनका लागि सहयोग, इण्डोर्स गर्छन् । देशकै लागि चुनौतिपूर्ण घडी बाहेक पार्टीका उम्मेदवारलाई जिताउन, भोट माग्दै हिँड्दैनन् ।

यस पटकको चुनावमा डेमोक्रेटिक पार्टीबाट निर्वाचित दुई पूर्ब राष्ट्रपतिहरु बिल क्लिन्टन र बाराक ओबामा निकै सकृय छन् । अर्का पूर्व राष्ट्रपति कार्टर भने केही वर्षदेखि बुढ्यौलीका कारण अस्वस्थ छन् । आउँदो अक्टोबर १ मा एकसय वर्ष उमेर पुग्ने कार्टर हस्पिक केयरमा रहेका कारण सार्वजनिक जीवनमा नदेखिएको थुप्रै समय भैसक्यो । तर क्लिन्टन र ओबामा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको पक्षमा खटिएका छन् ।

अमेरिकी चुनावमा सार्वजनिक व्यक्तित्वको इण्डोर्समेन्टको (खुलेर पक्षमा लाग्नु, समर्थन गर्नु) को ठूलो ‘भ्यालु’ हुन्छ । विशेषगरि कस्लाई सहयोग गर्ने, कस्लाई भोट हाल्ने भन्ने विषयमा निधो गर्न नसकिरहेका व्यक्ति, समूहलाई उच्च राजनीतिक व्यक्तित्व, कलाकार, साहित्यकार, लेखक, उद्योगी व्यापारी, सेलिब्रेटीहरुको इण्डोर्सले एउटा धारणा बनाउन बल पुग्छ । यिनले इण्डोर्स गरेपछि आम सर्वसाधारणले ‘ए पक्कै यी मान्छे ठीक होलान्’ भनेर कतै पनि नलागिसकेकाहरूले विचार बनाउँछन् । त्यो इण्डोर्सले उम्मेदवारको चुनावी अवस्था बलियो बनाउन मद्धत पुग्छ ।

केही दिन अघिमात्र प्रख्यात गायिका टेलर स्विफ्टले कमला ह्यारिसलाई इण्डोर्स गरेपछि कस्लाई मत दिने भनेर निधो गर्न नसकिरहेका अमेरिकी युवाहरुमा ठूलो प्रभाव पर्यो । त्यसको प्रभाव ह्यारिस क्याम्पमा निकै सकारात्मक परेको राजनीतिक विश्लेषकहरुको ठहर छ । इन्स्टाग्राममा २८ करोड ४० लाख फलोअर रहेकी टेलरको इण्डोर्सलाई एक करोड ११ लाखले लाइक गरेका छन् । तीनलाख जनाले आफूलाई भोटर्स रजिष्ट्रेसनका लागि भोट डट जिओभी वेवसाइटमा गएका छन् । टेलरको इण्डोर्सले ट्रम्प क्याम्पमा निकै धक्का पुगेको छ । ट्रम्प क्याम्पले टेलरको लोकप्रियता युवापुस्तामा देखेर आर्टिफिसिएल इन्टेलिजेन्सबाट बनाइएको फोटो र कन्टेन्ट प्रयोग गरेर टेलर र उनका सहकर्मीहरुले आफूलाई समर्थन गरेको हल्ला चलाएका थिए । जुन कुरालाई टेलरले आफ्नो इण्डोर्समा लेखेकी छिन् । उनको इण्डोर्सले ट्रम्प विछिप्त जस्तै भएका छन् । यो विषयमा ट्रम्पले गएको आइतबार आफ्नै कम्पनी ट्रुथ सोसलमा स्टाटस लेखेर टेलरलाई आफूले घृणा गर्न थालेको उल्लेख गरेका छन् ।

दुई दिन अघिमात्र अमेरिकी वैज्ञानिकहरुले इतिहासमै दोस्रो पटक कुनै उम्मेदवारलाई समर्थनको घोषणा गरे । एकसय ७९ वर्षको इतिहासमा साइन्टिफिक अमेरिकनले विज्ञान, वातावरण र स्वास्थका लागि कमला ह्यारिसलाई भोट भन्दै इण्डोर्स गरेको छ ।

रिपब्लिकनका एकमात्र जीवित पूर्ब राष्ट्रपति बुसले कोही पनि उम्मेदवारलाई आफ्नो समर्थन छैन भन्नुको सिधा अर्थ हो-ट्रम्पप्रति समर्थन छैन । यदी ट्रम्पप्रति बुसको समर्थन हुन्थ्यो भने उनको सचिवालयले विज्ञप्ति निकाल्न, त्यसलाई सार्वजनिक गर्न जरुरी थिएन । एउटा रिपब्लिकनले अर्को रिपब्लिकनलाई, एउटा डेमोक्रेटले अर्को डेमोक्रेट उम्मेदवारलाई सामान्यतया ‘बाइ डिफल्ट’ इण्डोर्स, सहयोग गर्दै आएको हुन्छ । जस्तो कि सन् २०१६ र २०२० को चुनावमा बाराक ओबामा र बिल क्लिन्टनले डेमोक्रेटिक पार्टीका उम्मेदवारहरुलाई बाइ डिफल्ट समर्थन गरेका थिए । एकै पार्टीका नेतालाई सोही पार्टीका नेताले समर्थन गर्नु न कुनै ठूलो चर्चाको विषय हुन्छ, न समाचारकै विषय हुन्छ ।

बुसले राष्ट्रपतिका दुबै उम्मेदवारलाई समर्थन छैन भन्नुको सिधा अर्थ हो ट्रम्पलाई मेरो समर्थन छैन, भोट हाल्दिन । जबकी बुसका उपराष्ट्रपति डिक चेनीले अर्कै पार्टी भएपनि कमलालाई इण्डोर्स गरिसके । बुस प्रशासन र ट्रम्प प्रशासनमा काम गरेका दुईसयका हाराहारीका रिपब्लिकनका उच्च पदाधिकारीहरुले कमलाको पक्षमा विज्ञप्ति जारी गरेर इण्डोर्स गरिसकेका छन् । बुस प्रशासनमा महान्याधिवक्ता भएर काम गरेका अल्बर्टो गोन्जालेसले सार्वजनिक रुपमै कमलालाई समर्थनको घोषणा गरेका छन् ।

ट्रम्पसँग चार वर्ष उपराष्ट्रपति रहेर काम गरिसकेका माइक पेन्सले अहिलेसम्म पनि ट्रम्पलाइ इण्डोर्स गरेका छैनन् । जनवरी ६, २०२१ मा ट्रम्पका कार्यकर्ताहरुले अमेरिकी संसद भवन क्यापिटल हिलमा आक्रमण गरेर अमेरिकी प्रजातन्त्र प्रति संसारभरि बेइज्जती गरेपछि पेन्स ट्रम्पको विरोधमा छन् ।

उता पूर्ब सभामुख पउल रायन, कंग्रेस सदस्य लिज चेनी लगायत रिपब्लिकनका उच्च नेताहरु कतिपय खुल्ला रुपमा ट्रम्प विरुद्ध छन् भने कतिले गोप्य रुपमा भोट नदिने रणनीतिमा छन् । पउल रायनले केही महिना अघि इन्टरभ्यूमा भनेका थिए ‘रिपब्लिकन पार्टीबाट ट्रम्प उम्मेदवार हुनु दुर्भाग्य हुनेछ र फेरि पनि पार्टीले हार व्यहोर्नु पर्नेछ ।’ पउल आफैंमा उच्च डिग्निटी भएका राजनीतिज्ञ हुन् । ट्रम्पको पहिलो दुई वर्षे कार्यकालमा सभामुख रहेका उनी ट्रम्पको धुन्दुकारी व्यबहारबाट आजीत भएर संसदको उम्मेदवार समेत भएनन् ।

बुस ट्रम्प असमझदारी के हो ?
सन् २०१६ मा जेब बुस रिपब्लिकनको प्राइमरी चुनाव हुँदादेखि टक्कर सुरु भएको हो । दिवंगत जर्ज एच डब्लु बुस (पिता बुस, जो ६ वर्ष अघि बितिसके) की पत्नी बारबरा बुसको बारेमा युएसए टुडेका वासिङ्गटन व्यूरो चिफ सुसन पेगले पुस्तक लेखेकी छिन् । उक्त पुस्तकमा बारबराले ट्रम्प लोभी, स्वार्थी र खराब व्यक्ति भएको टिप्पणी गरेकी छिन् । रिपब्लिकन पार्टीको साख, इतिहास सबै ट्रम्पले ध्वंस्त पारेको महसुस पूर्ब राष्ट्रपतिको परिवारले गरिरहेको छ ।

ट्रम्पको अहंकारी स्वभाव, आफूलाई केन्द्रमा राख्ने तर अरुलाई इज्जत सम्मान गर्न नजान्ने चरित्र, रुखो बोली, अमेरिकी जनतालाई विभाजन गर्ने शैली, घमण्डी स्वभावले बुस परिवार जानकार छ । ट्रम्पले बुस परिवारले रिपब्लिकन पार्टी बिगारेको आरोप विगतमा पटक पटक लगाइरहेका थिए । अमेरिकामा पूर्ब राष्ट्रपतिलाई अत्यन्तै सम्मानका रुपमा हेरिन्छ । तर ट्रम्पले आफ्नो आलोचना गर्ने हरेक व्यक्तिहरुलाई जस्तै पूर्ब राष्ट्रपतिहरुलाई समेत गाली गर्न थालेपछि दुई परिवारबीचको सम्बन्ध चिसिएको हो । सन् २०१६ मा जेब बुस प्राइमरीमा उम्मेदवार भएदेखिनै ट्रम्प बुस परिवार विरुद्ध खनिएका थिए । त्यसले गर्दा बुस परिवार अहिले रिपब्लिकन पार्टीको राजनीतिबाट वाक्क भएका छन् ।

डोनाल्ड ट्रम्पले राष्ट्रपति हुँदा र चुनाव हारेर बाहिरिएपछि पनि बुस परिवारप्रति सार्वजनिक रुपमै आरोपहरु लगाइरहेका छन् । इराकमाथिको आक्रमण, अफगानिस्थानको मुद्धामा बारम्बार प्रहार गरिरहे । जवकी सेप्टेम्बर ११ को घटनामा संलग्न माथि कारवाहीका लागि अमेरिका र नेटोले अफगानस्थानमा तालिबान विरुद्ध आक्रमण सुरु गरेको थियो । त्यसमा रिपब्लिकन, डेमोक्रेटहरु एकमत थिए । तर १६ वर्षपछि राष्ट्रपति भएका ट्रम्पले उक्त घटनालाई लिएर तत्कालिन राष्ट्रपति बुुसमाथि प्रहार गर्नाले पनि सम्बन्ध बिग्रिदै गएको हो ।

जनवरी ६, २०२१ को घटनामा जर्ज बुसले सार्वजनिक रुपमै ट्रम्पको व्यबहारको विरोध गरेका थिए ।

रिपब्लिकन पार्टीसँग पुरानो विरासत, साख केही बाँकी नरहेपछि बुस पार्टीका कार्यक्रमहरुमा सहभागी हुन पनि छाडेका छन् । गत जुलाईमा भएको रिपब्लिकन पार्टीको सम्मेलनमा समेत बुस सहभागी भएनन् । त्यही सम्मेलनले ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

चुनाव आउन डेढ महिना मात्र बाँकी हुँदाको अवस्था यस्तो छ कि रिपब्लिकन पार्टी पुरै ट्रम्पले कव्जा गरिसकेका छन् । ट्रम्पलाई भगवान मानेर पूजा गर्नेहरु पार्टीमा टिकेका छन् । ट्रम्पसँग वैचारिक र नीतिगत असहमति राख्नेहरु ट्रम्पका अन्धभक्तहरुको गाली, दुर्व्यवहार, सामाजीक सञ्जालमा ट्रोल बनाएर बेइज्जती बढ्दो छ । ट्रम्पसँग असहमति राख्ने रिपब्लिकनहरु यसपटक चुनावमा उम्मेदवार छैनन् । उनीहरु बाहिरै बसेर ट्रम्पसँग बदला लिने योजनामा छन् ।

रिपब्लिकन पार्टीका चर्चित सिनेटरहरु खुल्ला रुपमा ट्रम्पलाई इण्डोर्स नगरेर कमलाको पक्षमा छन् । युटाहाका सिनेटर मिट रोम्नी सन् २०१२ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार थिए । उनी ओबामासँग पराजित भएका थिए ।

वहालवाला सात सिनेटरहरु बिल क्यास्डी (लुनियाना), सुुसन कोलिन्स (मइन), जेरी मोर्गन (क्यान्सस), लिसा मुर्कोस्की, रेण्ड पउल, टड योंगले अहिलेसम्म ट्रम्पलाई इण्डोर्स गरेका छैनन् । यी मध्य कतिपयले जनवरी ६ को घटनामा ट्रम्प दोषी भएको धारणा राख्दै आएका छन् ।

रिपब्लिक पार्टीका पूर्ब राष्ट्रपतिमात्र होइन, उम्मेदवार भएका पनि अधिकांश ट्रम्पको पक्षमा छैनन् । सन् २००८ को चुनावमा ओबामासँग उम्मेदवार रहेका जोन मेकेनका छोरा  जिम्मी मेकेनले कमलालाई समर्थन गरेका छन् । सन् २०१२ का उम्मेदवार मिट रोम्नी र उपराष्ट्रपतिका उम्मेदवार पउल रायन दुबै ट्रम्प विरोधी कित्तामा छन् । सन् २०१६ को चुनावमा ट्रम्पसँगै जितेर उपराष्ट्रपति बनेका माइक पेन्स पनि अहिले रिपब्लिकन पार्टीभित्र ट्रम्प विरोधी कित्तामा छन् । उनीहरु यसपटक ट्रम्पलाई रिपब्लिक पार्टीैको उम्मेदवार भन्दा पनि एउटा अधिनायकवादीको पुनरुत्थान हुने संभावनाका कारण भोट नदिने योजनामा छन् ।

पार्टीका सारा पूर्वजहरुलाई चिढाएका ट्रम्पले सबैलाई बढार्ने र पार्टीभित्र आफ्नो र आफूसँग मिल्दोजुल्दो स्वभाव भएकालाई मात्र स्थान दिने गरि अघि बढेका छन् । आउँदो नोभेम्बर ५ को चुनावले ट्रम्पलाई ‘चेक एण्ड व्यालेन्स’ गर्न रिपब्लिकनका पूर्ब नेताहरुले सक्लान् कि नसक्लान् ? यो एउटा रोमाञ्चक खेल पनि हो । किनकी ट्रम्पलाई यसपटक रोक्न सके भने रिपब्लिक पार्टीलाई पुरानै लयमा फर्काउन सकिन्छ भन्ने विश्वास ट्रम्प विरोधी रिपब्लिकनहरुको छ । यदी ट्रम्प अघि आए भने उनीहरुको अस्तित्व विलिन हुने प्रवलता छ ।