मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मुख्य समाचार   

गणपुरक संख्या नपुगेर स्थगित गरिएको जिबिएनसिको साधारणसभा आउदो साता

गणपुरक संख्या नपुगेर स्थगित गरिएको जिबिएनसिको साधारणसभा आउदो साता


अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन स्थित प्रवासी नेपालीहरुको अग्रणी संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटि(जिबिएनसि)को साधारणसभा आउदो साता गर्ने तयारी गरिएको छ। उक्त साधारणसभा आउदो साताको सेप्टेम्बर २२ तारिख आइतबार ब्रेनट्रि स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)को सामुदायिक भवनमा गर्ने गरी तयारी गरिएको संस्थाले जनाएको छ।

यस सम्बन्धमा संस्थाका सदस्यहरुलाई जानकारी गराउन संस्थाका महासचिव सोनाम शेर्पाले संस्थागत सूचना सार्वजनिक गरेका छन्। महासचिव शेर्पाले यस अघि सेप्टेम्बर ४ तारिख बुधबारका लागि तय गरिएको साधारणसभामा सदस्यहरुको उपस्थित ज्यादै न्यून भएको र संस्थाको विधान अनुसार आधिकारिकताका लागि चाहिने उपस्थित सदस्यहरुको गणपूरक संख्या ५१ प्रतिशत नपुगेका कारण साधारणसभा स्थगित गर्नु परेको बताए।

विधानका कारण विगतमा पनि यस्तो परिस्थिति आएको अनुभव सुनाउदै उनले पहिलो पटक आव्हान गरिएको साधारणसभा स्थगित गरिए पश्चात् विधान अुसार फेरी दोश्रो पटक मिति तोकेर साधारणसभा आव्हान गरी आवश्यक तयारी गरिएको बताए। उनले भने, ‘विधान अनुसार गणपूरक संख्या नपुगेका कारण सेप्टेम्बर ४ तारिखका लागि तय गरिएको साधारणसभा सम्पन्न गर्न सकिएन। विधानमा व्यवस्था भए अनुसार ५१ प्रतिशत सदस्यहरुको उपस्थिति हुन सकेन।’ उनले थपे, ‘हामीले सम्पूर्ण सदस्यहरुलाई जानकारी गराएकै हो। सदस्यहरुको कार्य व्यस्तताका कारण उपस्थित हुन नसक्नु भएको हुन सक्छ। विधान अनुसार फेरी दोश्रो पटकका लागि मिति तय गरेर साधारणसभा सम्पन्न गर्ने गरी तयारी गरिरहेका छौं।’

सेप्टेम्बर ४ तारिखका लागि आव्हान गरिएको साधारणसभाका बारेमा भने केही सदस्यहरुले संस्थाबाट आफूले कुनै आधिकारिक सूचना प्राप्त नगरेको भन्दै दुखेसो पोखेका छन्। अन्य कार्यक्रमहरुका बारेमा व्यापक प्रचारप्रसार गर्ने र व्यक्ति ब्यक्तिलाई निम्तो दिन भ्याउने संस्थाले साधारणसभा जस्तो उत्सवको बारेमा आफ्ना हरेक सदस्यहरुलाई जानकारी गराउनु पर्ने कर्तव्यप्रति उदासीनता देखाउनु दु:खद र संस्थागत हित विपरित रहेको भनी उनीहरुले चिन्ता व्यक्त गरेका छन्। यस सम्बन्धमा महासचिव शेर्पाले भने साधारणसभाका सम्बन्धमा व्यक्तिगत रुपमा सबै सदस्यहरुलाई आधिकारिक सूचना उपलब्ध गराउन नगरिएको स्विकार गरे। तर, उनले यसका बारेमा संस्थाको आधिकारिक पेज, सामाजिक सञ्जालमार्फत र अगस्ट ४ तारिख आइतबार भएको ‘नेपाल डे-२०२४’ का दिन पनि सूचना जारी गरेको दावी गरे।

संस्थागत विकासका लागि महत्वपूर्ण छलफल गर्न, आपसी विचारहरू साझा गर्न र सामुदायिक भलोका खातिर प्रभावकारी योजनाहरु बनाउन साधारणसभा अत्यन्त महत्वपूर्ण हुने बताएका शेर्पाले साधारणसभाको महत्वलाई आत्मसात् गर्न सबै सदस्यहरुलाई आग्रह गरेका छन्।

सदस्यहरुलाई आपसमा जोड्न, अनुभवहरू आदानप्रदान गर्न र आपसी सम्बन्धलाई अझ बलियो बनाउन साधारणसभा महत्वपूर्ण अवसर भएको जिकिर गर्दै महासचिव शेर्पाले आउदो साताको सेप्टेम्बर २२ तारिखका लागि तय गरिएको साधारणसभामा सबै सदस्यहरुलाई सक्रिय रुपमा उपस्थित भइदिन संस्थाको तर्फबाट अनुरोध गरेका छन्।

महासचिव शेर्पाका अनुसार संस्थाका आर्थिक तथा सामाजिक गतिविधिहरु, भावी कार्य योजना, विधान संशोधन, आगामी कार्यकालका लागि संस्थाको निर्वाचनलगायत विषयहरु उपर साधारसभामा प्राथमिकताका साथ छलफल गरिने तयारी गरिएको छ। संस्थाको विधान अनुसार दुइ वर्षीय कार्यकाल(२०२२-२४)का लागि गत सेप्टेम्बर २५, २०२२ मा संस्थाको निर्वाचन सम्पन्न भएको थियो। उक्त निर्वाचनले अन्जु थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। जसको दुइ वर्षीय कार्यकाल सकिदै छ। र, आगामी कार्यकाल (२०२४-२६) का लागि नयाँ कार्यसमिति चयन गर्नु पर्ने अवस्था रहेको छ।

न्यू इङ्गल्याण्ड क्षेत्रमा बसोबास गर्ने प्रवासी नेपालीहरुलाई संगठित गरी सामुदायिक उत्थानका लागि यथाशक्य काम गर्ने मूल उद्देश्यका साथ सन् १९८९ मा स्थापित यो संस्था न्यू इङ्गल्याण्ड क्षेत्रकै सबै भन्दा पुरानो नेपाली समुदायको संस्था हो। झण्डै २० हजार प्रवासी नेपालीहरुको बसोबास रहेको यस क्षेत्रमा क्रियाशिल यस संस्थामा भने दुइ वर्ष अघि भएको निर्वाचनसम्म ६४ जना आजीवन सदस्य र ६६२ जना साधारण सदस्य गरी जम्मा ७२६ जना सदस्यहरु रहेका थिए। साधारसभा पछि भने पुरानो सदस्यता नविकरण गर्ने र नयाँ सदस्यता प्रदान गर्ने प्रक्रिया अगाडि बनाइने जनाइएको छ।