मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मुख्य समाचार   

अमेरिकाको बोस्टनमा ‘महाशिवरात्रि’

अमेरिकाको बोस्टनमा ‘महाशिवरात्रि’

भक्तिभावले हर्षोल्लासका साथ मनाइयो


गत मार्च ८ तारिख शुक्रवारका दिन अमेरिकाको बोस्टन सहर स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा निकै चहलपहल रह्यो।बिहानैदेखि सुरु भएको चहलपहल राती अबेरसम्म नै चलिरह्यो। उक्त दिन ‘महाशिवरात्रि’ परेकाले हिन्दू धर्मावलम्बीहरु आफ्नो आस्थाको केन्द्र आराध्य देव ‘पशुपतिनाथ’ को दर्शन, पूजापाठ, अर्चना, भजनकीर्तन गर्दै श्रद्धा भक्ति अर्पण गर्न मन्दिर पुगेकाले अन्य दिनहरुको तुलनामा चहलपहल ह्वात्तै बढेको थियो। मन्दिर पुगेका भक्तजनहरुले विविध धार्मिक क्रियाकलापहरु सम्पन्न गरी श्रद्धापूर्वक भक्तिभावले महाशिवरात्रि हर्षोल्लासका साथ मनाए।

बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (प्याब्फोन-PABFONE)ले 594 Washington Street, Braintree स्थित आफ्नै सामुदायिक भवनमा ‘महाशिवरात्रि’ भव्यताका साथ मनाउन आवश्यक व्यवस्था मिलाएको थियो। मन्दिरमा स्थापना गरिएको पशुपतिनाथ, बुद्धलगायत देवी देवताहरुको मूर्तिहरुमा प्राण प्रतिष्ठा गरिएपछिको यो पहिलो ‘महाशिवरात्रि’ भएकाले पनि यस धार्मिक पर्वलाई विशेष रुपमा मनाउन पण्डितहरु, प्याब्फोन परिवार तथा स्वयंसेवकहरु अहोरात्र खटेका थिए।

Advertisement

तय गरिएको कार्यतालिका अनुसार भक्तजनहरुका लागि विहान ८ बजेदेखि नै मन्दिर खुला गरी दिनभरि नै चरणबद्ध अखण्ड विविध धार्मिक क्रियाकलापहरु गरिएको थियो। जस अन्तर्गत शोस्ति वाचन, रुद्र अभिशेक(रुद्री पाठ), चण्डि पाठ, वेद पाठ, शिव पुराण, जप, महामृत्युन्जय, स्तोत्र पाठ, महादेवलाई जल अभिषेक, महाशिवरात्रि व्रत पूजा, आरति, भजनकीर्तन, महाप्रसाद आदि धार्मिक क्रियाकलापहरु सम्पन्न गरिएको थियो। धार्मिक विधिपूर्वक पूजापाठ गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने पण्डितहरुमा मूल पूजारी गोकुल कंडेल, मनोहर धिताल, दिनेश धिताल, खगेन्द्र घिमिरे, विष्णु प्रसाद आचार्य, गोपाल आचार्य, महेश सुवेदी, नविन पुडासैनी, दयालु पौडेललगायत रहेका थिए।

कार्यक्रम सम्पन्न भए लगतै प्याब्फोन कार्यसमितिका अध्यक्ष बिरोचन नेपालले निकै खुशी लागेको प्रतिक्रिया दिए। शिवरात्रिलाई भव्यताका साथ मनाउने र बढी भन्दा बढी न्यू इङल्याण्डवासी नेपालीहरुलाई मन्दिरमा भित्र्याउने कार्यक्रमको मूख्य लक्ष्य रहेको र उक्त लक्ष्य पुरा भएको उनले बताए। उनले भने, ‘यो प्राण प्रतिष्ठा पछिको सबै भन्दा ठूलो कार्यक्रम थियो। हामीले बढि भन्दा बढि न्यू इङल्याण्डवासी नेपालीहरुलाई मन्दिरमा भित्र्याएर महाशिवरात्रि भव्यताका साथ मनाउने लक्ष्य लिएका थियौं। त्यो पूरा भयो।’

कार्यक्रममा झण्डै हजार हाराहारी भक्तजनहरुले सहभागिता जनाएको बताउदै अध्यक्ष नेपालले धार्मिक क्रियाकलापहरु धार्मिक विधिपूर्वक सम्पन्न गरिएको दावी गरे। उनका अनुसार अमेरिकामा रहेर पनि आफ्नो धर्म अनुसारको धार्मिक गतिविधिहरु गर्न पाएकोमा सहभागी भक्तजनहरुले निकै खुशी हुदै आयोजकलाई धन्यवाद र आशिर्वाद दिएका थिए। उनीहरुले स्वस्फूर्त भएर मन्दिरलाई यथासक्य दानसमेत गरेका थिए।

कुराकानीका क्रममा अध्यक्ष नेपालले कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न अहोरात्र खटिने कार्यसमितिका साथीहरु, पत्रकार, स्वयंसेवकहरु, पण्डितहरु, प्रतक्ष्य परोक्ष रुपमा साथ सहयोग गर्ने सामाजिक संघ संस्था तथा व्यक्तित्वहरु, दाताहरु, भक्तजनहरुलगायतलाई संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरे।

उक्त दिन धार्मिक क्रियाकलापहरु वैदिक विधिपूर्वक सम्पन्न गर्ने जिम्मेवारी वहन गरेर अहोरात्र खटिने पण्डितहरु मध्यका पण्डित मनोहर धितालले वैदिक शास्त्रले बताए अनुसार नै ‘भगवान शिव’को विशेष पूजा सम्पन्न गरी ‘शिवरात्रि’ भव्यताका साथ मनाइएको जिकिर गरे। अमेरिकामा रहेर पनि आफूले जानेको अति महत्वपूर्ण वैदिक धार्मिक कर्म सम्पन्न गर्ने जिम्मेवारी वहन गर्न पाएकोमा खुशी व्यक्त गर्दै उनले भने, ‘वैदिक शास्त्र अनुसार नै विधिपूर्वक शिवरात्रिको पूजा सम्पन्न गर्यौं। महत्वपूर्ण जिम्मेवारी वहन गर्न पाएकोमा निकै खुशी लागेको छ। त्यसको लागि आयोजक तथा भक्तजनहरुप्रति कृतज्ञता प्रकट गर्दछु।’

झण्डै १४ वर्ष अघि सन् २०१२ मा स्थापना भइ आफ्नै सामुदायिक भवन जोड्ने र त्यसमा पशुपतिनाथ तथा बुद्ध मन्दिर स्थापना गर्ने महाअभियानमा प्याब्फोन होमिएको थियो। यसै शिलशिलामा, गत वर्ष मे २७ देखि ३० तारिखसम्म ४ दिने बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न गरिएको थियो। तत् पश्चात् मन्दिरमा हिन्दू धार्मिक पात्रो अनुसारका धार्मिक तथा सांस्कृतिक चाड पर्वहरुमा विशेष कार्यक्रमहरुको आयोजन गरी विविध धार्मिक क्रियाकलापहरु गरिदै आइरहेको छ। र, श्रद्धालु भक्तजनहरुलाई पनि देवी देवताहरुको दर्शन तथा पूजापाठका लागि मन्दिर दैनिक खुला गरिदै आइएको छ।

शेयर गर्नुहोस:

3k
Shares