मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

मानव सेवा नै सर्वोत्कृष्ट धर्म

मानव सेवा नै सर्वोत्कृष्ट धर्म

हिमालय खबर

शेयर गर्नुहोस:

243
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-आनी छोइङ डोल्मा

मानिसको धर्म नै मानवता हो । मानिसमा हुनुपर्ने मानवीय गुणको विकास र पूर्णतालाई नै मानव धर्म भनिन्छ । धर्म भनेको सम्पूर्ण प्राणीको कल्याण गर्नु हो । मानव सेवाबाट नै धर्म प्राप्तिको ढोका खुल्दछ । सेवा यति नै गर्नुपर्छ भन्ने छैन, इमानदारी र खुसीपूर्वक गरिने पुण्य जति पनि कार्य छन्, ती सबै धर्म हुन् । सेवा भनेको जति सकिन्छ, त्यति गर्ने हो, मात्र पवित्र आशय राख्नुपर्छ । सामाजिक सेवा आफ्नो धर्म हो । सामाजिक सेवा गर्नु भनेको एउटा मानवीय धर्म हो, जसमा विशेष गरेर आफू बुद्धको अनुयायी भएपछि जीवन सार्थक बनाउने आफ्नो प्रयास हो । धेरै गरेँ वा थोरै गरेँ भन्ने हिसाबकिताबमा लाग्ने होइन, आफूले जति सकिन्छ, त्यति गर्ने हो । बुद्ध धर्ममा लागेको र बुद्धका अनुयायी भएर एउटा सत्कर्मको बाटोमा लागेर आफूले पाएको सङ्गीतको माध्यमबाट जसरी आफूलाई र अरूलाई खुसी दिन सकेको छु त्यसैमा आफू रमाइरहेको छु र यसबाट नै जीवनको सार्थकता पुष्टि हुन्छ भन्ने लाग्दछ ।

जीवन सार्थक बनाउने बाटो तब भेटाइन्छ, जब आध्यात्मिक चिन्तन मनन् गर्न सकिन्छ । आध्यात्मिक हुनु भनेको एकदम धार्मिक हुनु, मठमन्दिरमै गएर जप गर्नुपर्छ भन्ने होइन, आफ्नो धर्म संस्कृतिको सार बुझेर आफ्नो जीवनलाई अगाडि बढाउनु हो । समाजमा एक-दुई जना खराब भए भन्दैमा सबैलाई खराब ठान्नु हुँदैन । नुहाउने बेलामा एक जग पानीसम्म बढी खेर गयो भने पनि मलाई नरमाइलो लाग्छ । म कमाएको थोपा थोपा जोगाउँछु । भिक्षु भएकीले पनि होला मलाई धेरैले परिश्रमिकभन्दा पनि दक्षिणा बढी टक्र्याउने गर्छन् । म सकेसम्म यस्तो पैसाहरू आफ्नो हातमै नपारी सेवाका लागि पठाइदिन्छु । केही समयअघि मुकेश अम्बानीले आयोजना गरेको कार्यक्रममा पाँच मिनेटको गीत गाएबापत प्राप्त भएको रु। १६ लाख रकम पनि सिक्किममा बन्दै गरेको एक गुम्बालाई चन्दा दिएर फर्किएँ ।

सङ्गीत मेरा लागि साधना हो र आर्थिक उपार्जन गर्ने साधन पनि हो । हामीसँग भएको जति पनि भौतिक सम्पत्ति छ, त्यो अरूलाई नै दिने हो किनकि हिजो त्यो मसँग थिएन र भोलि पनि मसँग रहँदैन । सुखी र खुसी फरक कुरा हो । खुसी क्षणिक चीज हो, सुखी वास्तविकताको बुझाइ हो । शरीरको आयु बढ्दै जाँदा यसको शक्ति पनि कम हुँदै जान्छ । सायद यसैले होला आजकल मलाई कसैसँग पनि नराम्रो बोल्न त के सोच्न पनि नपरोस् भन्ने लाग्छ । भौतिक सुख समृद्धिका लागि आफ्नो लागिमात्र केही गरौँ भन्ने भावनाभन्दा माथि उठेर अरूको कल्याणमा समर्पित हुन पक्कै पनि धेरैलाई सजिलो नहुन सक्दछ ।

जीवनमा मानव भएर जन्मेपछि सार्थकता पाउने एउटै मात्र बाटो सेवा नै हो । जीवनमा धेरैभन्दा धेरै पैसा कमाउनुपर्छ, यसले सबै कुरा पुग्छ भन्ने कुरा गलत साबित भएको छ । मानवजस्तो सभ्य जीवको नियन्त्रणमा सारा धर्ती सञ्चालित छ । धर्तीका सन्तान हुन् मानव जाति । मानवजस्तो अत्यन्त विकसित, महत्वपूर्ण र मूल्यवान् धर्तीको उपज, सृष्टि, त्यसले यही धर्तीमा भौँतारिएर बाँच्नुपर्ने, सहाराविहीन हुनुपर्ने, गाँस(बास(कपासको प्रबन्ध, हेरविचार हेरचाह, बन्धुत्व, मित्रता केही पनि नपाएर बस्नुपर्ने जस्ता कुरा मानव समाजका लागि पटक्कै शोभनीय कुरा होइनन् ।

जीवनमा हामीले खोजेको माया र प्रेम हो । प्रेमको अभावमा संसारमा जति पनि दुर्घटना भएका छन्, चाहे त्यो रोग वा घटनाहरू हुन् । मनुष्यले मात्र होइन, कसैले पनि पीडा चाहेको हुँदैन । यस धर्तीमा रहेका सबै प्राणीले सुख शान्ति नै चाहेका हुन्छन् । मैले चाहेको मात्र सुख हो भन्ने सोच्नु हुँदैन । अरूलाई दुःख दिएर आफूले सुख खोज्नु सबैभन्दा ठूलो अधर्म हो । आज यही गलत सोचले गर्दा विश्वमा अनेक द्वन्द्व भइरहेका छन्, अपराधका घटना बढिरहेका छन् । आफ्नो मात्र ख्याल राख्यो, अरूको खुसीमा ख्याल राखेन भने यस्तै घटना हुने गर्दछ । आजको कलियुगमा यस्तै पखाण्डीपनको व्यापक प्रभाव छ । आफ्नो मानमर्यादा तब हुन्छ, जब अरूको दुःख बुझ्न सकिन्छ र अरूको कल्याण हुने काम गरिन्छ । गोली रोपेर फूल फुल्दैन, सेवाको बीउ रोपे शान्ति र सुख फल्छ । कसैलाई होच्याएर आफूमाथि पुग्न सकिँदैन ।

फूलको आँखामा फूलै संसार गीत नसुन्ने र नगुनगुनाउने सायदै होलान् । मैले गाएको सो गीतको लाइभ कन्सर्टको आनन्द भने नेपालीले भन्दा विदेशीले बढी लिने गरेका छन् । मेरो गीत नचाउने र उफार्नेभन्दा पनि आँखा बन्द गरेर अनुभूति गर्ने खालको हुने गर्छ । मेरा गीत सुन्नेहरू भन्छन्, गीतमा शास्त्रको सार भेटिन्छ । एकछिन् आँखा चिम्लेर गीत सुने आनन्दको अनुभूति मिल्छ । सङ्गीतमार्फत संसारलाई सकारात्मकता र आध्यात्मिकतातर्फ डोर्‍याउने कोसिस गरिरहेको छु ।

भूकम्पबाट आश्रयविहीनलाई संरक्षकत्व

मानव अधिकारको सम्मान, संरक्षण, प्रवर्द्धन र परिपूर्ति गर्ने पहिलो दायित्व राज्यको हो । देशको आर्थिक, सामाजिक रूपमा पछाडि परेको हालै जाजरकोटमा गएको भूकम्पबाट झण्डै डेढ सयजनाले ज्यान गुमाएका छन् भने बाँचेकाहरूमध्ये पनि परिवारका सदस्य र बस्ने घरलगायत अन्य भौतिक सम्पत्ति गुमाउनुपर्दा आश्रयविहीन बन्नु परेको छ । भूकम्पका कारण भएको क्षतिले गर्दा उनीहरूको बसोबासको अधिकार, खाद्यान्नको अधिकार, सम्पत्तिको अधिकार, सीमान्तकृत वर्ग, समुदाय, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारमा गम्भीर आघात पुगेको छ ।

यस प्राकृतिक विपद्मा परी अभिभावक गुमाएका बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी यस्तो अवस्थामा थप जोखिममा पर्दछन् । राहत प्राप्त गर्ने कुरामा पनि यी वर्गका मानिसको पहुँच कम हुन्छ । यस्तो बेला उनीहरूलाई राहत र पुनः स्थापनाको आवश्यकता पर्दछ । त्यसैले भूकम्पमा परी अनाथ तथा अभिभावकविहीन भएका सम्पूर्ण बालबालिका साथै आश्रयविहीन बन्न पुगेका एकल आमा बुबाहरूको संरक्षण आनी छोइङ डोल्मा फाउन्डेसन र मानव सेवा आश्रमले गर्ने घोषणा गरेको छ । यसको उद्देश्य विपद्को अवस्थामा कसैले पनि आफू असहाय भएको अनुभूति गर्न नपरोस् भन्ने नै हो ।

यति बेला भूकम्पप्रभावितहरुलाई सरकारी, गैरसरकारी र निजी तवरबाट पनि राहत, उद्धार र पुनःस्थापनामा सहयोगहरू जुटिरहेको छ । राष्ट्रिय अन्तर्राष्ट्रियस्तरबाट सहयोगी मनहरुले सक्दो सहयोग गर्न इच्छा व्यक्त गरेका छन् । यसलाई सस्तो प्रचारका रुपमा नभई विशुद्ध मानवीय सेवाको रुपमा गर्न सकिएमा पीडित व्यक्तिले साँच्चिको सहयोग पाएको अनुभव गर्न सक्नेछन् । आफू पनि बाँचौँ र अरूलाई पनि बाँच्न देऊ भन्ने उपदेशलाई चरितार्थ गर्दै सबै उदार दानदाताले होस्टेमा हैँसे गर्दै जाँदा ती असहाय व्यक्तिहरूको संरक्षणमा सहयोग पुग्नेछ । मानवलाई सेवा गर्नु नै सबैभन्दा ठूलो सेवा र धर्म हो । सामाजिक सेवा गर्नु भनेको एउटा मानवीय धर्म हो, जीवन सार्थक बनाउने उपयुक्त अवसर पनि हो ।

मेची-महाकाली अभियान सञ्चालन

‘यस वर्षको दसैँ, तिहार, छठजस्ता नेपालीहरूका ठुला चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले गत असोज २७ देखि यही मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गरेको थियो । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरूको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरूसँगै दसैँ, तिहार, छठजस्ता पर्वहरू मनाउने गरी सो अभियान सञ्चालन गरिएको थियो ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पूर्व(पश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बागमती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी सञ्चालन गरिएको अभियानका क्रममा तीन सयभन्दा बढीको उद्धार भएको छ । यस पटक यस अभियानलाई अझ प्रभावकारी बनाउन म आफैँ पनि सहभागी भएको थिएँ । अभियानमा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन पनि आनी छोइङ डोल्मा फाउन्डेसनले नै व्यहोरेको थियो । मानव सेवाभन्दा अर्को महान् धर्म केही नभएकाले आफू पनि यस अभियानमा जोडिएको थिएँ । दीन दुःखी र असहायको सेवा गर्दा मनमा शान्ति मिल्छ, पुण्य सङ्ग्रह बढ्छ । मानव सेवा आश्रमले गरिरहेको सत्कर्मको पुण्य मलाई पनि मिलोस् भनेर अभियानलाई साथ दिएकी हुँ ।

अभियानका क्रममा फेला पारिएका असहाय, सहाराविहीन अवस्थामा रहेका बाआमा, बाबुनानीहरुको अवस्था देख्दा मलाई निकै भावुक बनाएको छ । हाम्रो परिवारकै सदस्यहरूलाई कसरी सडकमा पठाइरहेका छौँ भन्ने देख्दा समाज कतातिर जाँदैछ, मानवता कसरी नासिँदैछ भन्ने अनुभव भएको छ । मानव सेवाभन्दा अर्को महान् धर्म केही नभएकाले आफू पनि यस अभियानमा जोडिएको छु । मानिसका गलत सोच, व्यवहारलाई सुधार गर्नु पनि समाज सेवा नै हो । सकारात्मक सन्देश दिन र राम्रो कामको देखासिकी गराउन यस्ता अभियानहरू सार्थक रहनेछन् ।

हामीले सामाजिक सुधार पर्याप्त गरेर, आर्थिक अवस्थामा उल्लेख्य प्रगति गरेर, समाजको मनोवृत्ति र मनोविज्ञानमा परिवर्तन गरेर, मानवीय भावनाको वृद्धि गरेर, एउटा सभ्य र अनुशासित समाजको निर्माण गर्न सकिएमा मानिस सहाराविहीन बन्नुपर्ने अवस्था रहँदैन । यसका लागि ठूलो लगानी पनि आवश्यक पर्दैन । हामीले आफ्ना जन्मदिनमा अथवा आफ्ना विवाहका वार्षिकोत्सवमा अथवा छोराछोरीका सफलताका घडीहरूमा खुसी मनाउँदा मानव सेवा आश्रमजस्ता मानवीय संस्थाहरूलाई सहयोग पुराउने र यस्ता संस्थामार्फत मानव सेवामा आफ्नो पनि सहभागिता जनाउन सक्दछन् । मानिस चाहे शारीरिक अपाङ्गता, चाहे अशक्तता, बाध्यता अथवा गरिखान नसक्ने बाल्यकाल, मानसिक अस्वस्थता, प्राकृतिक विपत्ति अथवा अरू जेसुकै कारण भए पनि कोही पनि मानिस मानवोचित जीवनबाट वञ्चित हुनु हुँदैन । त्यो हुनु भनेको समाजकै अविकसित स्थितिको परिचायक हो । त्यस स्थितिबाट समाजलाई माथि उठाउनै पर्छ ।

धार्मिक सद्भावको खाँचो

मानिसमा नभई नहुने अर्को महत्वपूर्ण कुरा हो, परोपकारको भावना । परोपकार नै ठूलो धर्म हो । गरिब, असहाय, दीन दुःखीको सेवा हामी सबैले गर्नुपर्छ । उनीहरूको सेवा गर्नु नै भगवान्को सेवा गर्नु हो भन्ने गरिन्छ, मानव सेवा नै माधव सेवा हो । संसारमा भएका सबै धर्मले यही भन्छ । विश्वमा जति पनि धर्महरू छन्, ती सबै मानिसले अनुशरण गरेका अभ्यासहरू हुन् । सबैको उद्देश्य एउटै छ । धर्मको नाममा झगडा गर्नुको कुनै अर्थ छैन । यसै सन्दर्भमा मेरो एउटा गीत पनि छ ।

धर्म न हिन्दु हो न बौद्ध हो
शिख न जैन
धर्म चित्तको शुद्धता
धर्म शान्ति सुख चयन ।

मानव मानवबीचमा
रत्ति नराखी भेद
गर्छ सबैको जो भलो
त्यो नै धर्म सफेद ।

सम्प्रदाय न त धर्म हो
धर्म न छेकबार
धर्म सिकाओस् एकता
धर्म सिकाओस् प्यार ।

सर्वप्रथम बालकले यो धर्तीमा जन्म लिँदा मानव भएर जन्मेको हुन्छ र मानव हुनुको नाताले ऊसँग स्वतः मानव धर्म जोडिएर आएको हुन्छ, जुन व्यापक, सनातन र सत्य हुन्छ । तर, यो संसारमा जन्म लिइसकेपछि ऊ आफ्नो वरिपरिको वातावरण, जातीय रीतिरिवाज, संस्कृति आदि कुराले प्रभावित हुन्छ कि उसले मानवताको त्यो महान् लक्ष्य र मानवताको आधारलाई बिर्सेर आफूलाई सङ्कीर्ण सीमाभित्र राख्दछ । फलतः मेरो ईश्वर यो, मेरो धर्म यो, अर्काको धर्म त्यो भनी भागबन्डा गर्न थाल्दछ र आफूलाई जातीय सङ्कीणर्ता, सम्प्रदायवाद अनि क्षेत्रवादसँग गाँसेर आफ्नो व्यापक परिचयलाई सङ्कुचित बनाउन थाल्दछ । यसरी हामी आफैँले आफैँलाई धर्म, सम्प्रदायको घेराभित्र सीमित गरेका छौँ, जसका कारण कोही भन्दछौँ- म हिन्दु हुँ, म मुसलमान हुँ, म इसाई हुँ, म शिख हुँ, म बौद्घिष्ट हुँ । तर हिन्दु, मुस्लिम, शिख, इसाई अथवा बौद्घिष्ट हुनुभन्दा पहिले हामी मानव हौँ र मानव हुनुको नाताले मानवको वास्तविक धर्म मानवीय धर्म हो, अर्थात् मानव धर्म हो । जब समाजले मानव धर्मलाई साँचो अर्थमा अपनाउँछ, त्यहाँ जातीय झगडा समाप्त हुन्छ । त्यहाँ धार्मिक झगडा समाप्त हुन्छ । त्यहाँ क्षेत्रीय झगडा समाप्त हुन्छ । यही मानव धर्मको मर्म हो र यसलाई आत्मसात् गर्न सकेमा समाजमा सद्भावना फैलिने छ, विश्व बन्धुत्वको भावना सबल हुनेछ । आज विश्वलाई यही अवस्था चाहिएको छ ।

(आनी छोइङ डोल्मा फाउन्डेसनकी अध्यक्ष हुन् ।)