काठमाडौँ । विभाजनउन्मुख बनेको कांग्रेसलाई एक बनाउने भन्दै बुधबार केही कांग्रेस नेताहरूले एकता विमर्श गरेका छन् । संस्थापनइतर समूहले २९ गते राष्ट्रिय भेला गर्ने बताएको छ । त्यसको संयोजकत्व पूर्वमहामन्त्री डा. शशांक कोइरालाले लिएका छन् ।
संस्थापन र इतर समूहबीच देखिएको बेमेलबीच देश र कांग्रेस जोड्ने अभियानले विमर्श गर्दै कांग्रेसको एकताको लागि राष्ट्रिय संकल्प समेत गरेको छ ।
पूर्वकेन्द्रीय सदस्य नैनसिंह महरले ३५ जना केन्द्रीय सदस्यले पार्टी मिलाउनका लागि पद त्याग गर्न तयार रहेको बताए ।
“बाँकी रहेका साथीहरूलाई विधानभित्रै मिलाउनुपर्छ, सभापतिजीले मिलाउनुपर्छ । २४ गतेको बैठकले समस्या समाधान हुन्छ भन्ने लाग्छ,” उनले भने । उनले नेताहरूबीच शृंखलाबद्ध छलफल भइरहेको पनि बताए ।
राष्ट्रियसभा सदस्य रञ्जित कर्णले दुवै पक्ष एक–एक कदम पछि हटेर भए पनि पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताए । “नेपाली कांग्रेस एकताबद्ध बनाउनु आजको मुख्य आवश्यकता हो । यसका लागि सभापति र असन्तुष्ट पक्ष दुवैले एक–एक कदम ‘ब्याक’ हटेर भए पनि पार्टीलाई एक ढिक्का बनाउनुपर्छ,” उनले भने ।
युवा नेता राजेन्द्र तिवारी, विश्लेषक अरूण सुवेदी, नेताहरू आनन्द त्रिपाठी, लीला दाहाल, मनहरि श्रेष्ठ, आनन्द सन्तोषी राई, यज्ञप्रसाद न्यौपानेलगायतले धारणा राखेका थिए ।
उनीहरूले बीपीको संस्कारले कांग्रेसलाई एउटा दलभन्दा ठूलो संस्था बनाएको बताउँदै इतिहासबाट सिकेर एकजुट हुनुपर्ने संकल्प गरेका छन् । संगठनभन्दा माथि राष्ट्रहितलाई राख्ने, कांग्रेस फुट्न नदिने, लोकतन्त्र कमजोर हुन नदिने, जनताको विश्वास टुट्न नदिने उनीहरूको संकल्प छ ।












प्रतिक्रिया