काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा दुर्गम र गरिब भूकम्पपीडितलाई पहिलो प्राथमिकता राख्न निर्देशन दिएका छन् ।
भूकम्पपीडितको राहत र उद्धारमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन गर्न आएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको एक प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको धन्यवादले मलाई उर्जा मिलेको छ ।’ प्रधानमन्त्रीले आफूले रास्वपाले उठाएका सुझावहरु प्रायः मन्त्रिपरिषद् र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणबाट निर्णय गराएको बताए ।
उनले भने, ‘अहिले तपाईंहरुले सरकारले लिएको पहलकदमी वा तत्परताका लागि दिनुभएको धन्यवाद आफैंमा पनि सरकारलाई एउटा नयाँ उर्जा मिलेको महसुस भएको छ ।’ उनले पीडितसमक्ष सही समय र ठीक ढंगले राहत प्राप्त हुने वातावरण बनोस् भन्नेमा आफूहरु सचेत रहेको बताए ।
उनले भने, ‘विगतमा भएका कमिकमजोरी दोहोरिन नदिने र त्यसबाट शिक्षा लिएर पीडितहरुको राहत र उद्धारमा लाग्ने छौँ ।’ त्यसको लागि कानुनमा समेत केही संशोधन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले पीडितहरुको राहत र पुनःस्थापनालाई मोडेलको रुपमा अगाडि बढाउनेमा आफूहरु विश्वस्त रहेको पनि बताए । उनले भूकम्प मात्र नभएर अन्य प्राकृतिक विपद्को लागि पनि तयारी अवस्थामा रहन ७७ जिल्लामै एउटा संरचना खडा गर्ने निर्णय गरिएको उल्लेख गरे ।

सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभा सदस्य तथा उपसभापति डोरप्रसाद अर्यालले सडक पहुँच नभएकोलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।
त्यसैगरी अर्यालले ६ बुँदे सुझावहरु पेश गर्दै प्राप्त विवरण ठीक ठाउँमा पुगे-नपुगेको अनुगमन गर्न, चिसोको बेला विशेष ध्यान दिन र राहत र पुनःस्थापनाका लागि कानुनमा आवश्यक सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।











प्रतिक्रिया