मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

प्रतिनिधिसभामा सुन तस्करी प्रकरणबारे छलफल, छानबिन गर्न उच्चस्तरीय समितिको माग

प्रतिनिधिसभामा सुन तस्करी प्रकरणबारे छलफल, छानबिन गर्न उच्चस्तरीय समितिको माग


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ । बुधबारको बैठकको प्रारम्भमै एमालेका सांसद आसनबाट उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सो पार्टीका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका थिए ।

प्रमुख सचेतक गिरीले अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमा श्रम गरेर आउने जनताका एक सेट मोबाइल र सानो टुक्रा सुन पनि जफत गरिने गरेको तर सोही विमानस्थलबाट क्विण्टल सुन गैरकानुनीरुपमा कसरी भित्रियो भनी विरोध जनाए । उनले भने, “यसअघि ३३ किलो सुन भित्रियो र घटना सेलाएको थियो । पछि एमालेको सरकार बनेको बेला छानबिन सुरु भएको र घटनामा संलग्न दर्जनौँ व्यक्ति पक्राउ परेका थिए । अहिले विमानस्थलको सुरक्षा व्यवस्था कमजोर बनाइएको छ ।” पछिल्लो समय सुन तस्करी प्रकरणमा सत्ता पक्षका कतिपय नेताको नामै किटेर तस्करी प्रकरणमा जोडिएको आरोप लगाउँदै उनले सरकारले छानबिन गरी सामान्य व्यक्तिलाई पक्राउ गरेको तर नेताहरु नै उम्किने गरेको टिप्पणी गरे ।

Advertisement

यही साउन ३ गते एक क्विण्टल बढी सुन अवैधरुपमा विमानस्थलबाट भित्रिएको र गोदाममा केही दिन राखेर सेटिङमा सुन बाहिर निकालिएको विषय सार्वजनिक भएको उल्लेख गर्दै उनले राजस्व अनुसन्धान विमागले बरामद गरेको सुनमा सरकारका अधिकारीको मिलेमतो रहेको हुनसक्ने ठोकुवा गरे ।

प्रमुख सचेतक गिरीले यस प्रकरणमा संसद्बाट उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै त्यसको सुनिश्चितता नभएसम्म संसद् चल्न नदिने बताए । साथै उनले यस्तो अवस्थामा गृहमन्त्री कुर्सीमा बस्न योग्य नभएकोसमेत बताए । एमालेका सांसद आसनमा उभिएकै अवस्थामा सभामुखले नेपाली कांग्रेसका सांसद डा सुनिल शर्मालाई बोल्न समय दिएका थिए । सांसद शर्माले अनुसन्धान सहज बनाउन तथा दोषी पत्ता लगाउन सरकारसँग आग्रह गरे ।

सोही क्रममा सुरु भएको आकस्मिक समयमा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सो प्रकरणमा छानबिन प्रक्रिया अघि बढेको बताउँदै अहिले नै आत्तिनु नहुने बताए । उनले दोषीलाई कारबाही गर्न छानबिन सुरु भएका बेला सांसद खुसी हुनुपर्ने होइन र भनी प्रश्न गरे । साथै उनले सहकारीले गरेको अनियमितताका सम्बन्धमा पनि छानबिन गरी कारबाही गर्नुपर्ने माग गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले कर्मचारीको भ्रष्टाचारका ठूला प्रकरणमा सम्बन्धित कर्मचारीलाई बर्खास्त नगरी सरुवा किन गरिन्छ भनी प्रश्न गरे । उनले सूचना पाएपछि पनि सो प्रकरणमा प्रमुख व्यक्तिलाई पक्रन किन पहल नगरिएको भनी आशङ्का गरे । यस प्रकरणमा गृहमन्त्रीबाट चित्त बुझ्दो जवाफ नपाए आफ्नो पार्टीले गम्भीर कदम चाल्ने उनको भनाइ थियो । उनले यस्ता भ्रष्टाचार र अनियमितताका सम्बन्धमा जरासम्मै पुगेर अन्तिम टुङ्गोमा लगाउन आग्रह गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले एक क्विण्टल सुन गैरकानुनीरुपमा एकै दिनमा भित्रिएको प्रकरणका सम्बन्धमा उचित छानबिन गरी घटनाको जरासम्म पुग्न माग गरे । साथै उनले नेपाल सुन तस्करीको ट्रान्जिट बन्न लागेको भन्दै सुरक्षा व्यवस्था कडाइ गर्न सरकारसँग माग गरे ।

उनले नेपाली सेनाको सङ्ख्याका बारेमा किन बहस भइरहेको छ भनी प्रश्न गर्दै सेनाको मनोबल उच्च बनाउन आवश्यक रहेकामा जोड दिए । खर्च मितव्ययिताका लागि हो भने सर्वप्रथम जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्ने उनको भनाइ थियो । उनले सेनाको सङ्ख्याका सम्बन्धमा भइरहेको बहसका बारेमा सरकारको धारणा के हो भनी आधिकारिक धारणा माग गरे ।

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले तराईमा एकातिर खानेपानीको समस्या र अर्कोतिर बाढी डुबानको समस्या बढेको बताउँदै भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । जनमत पार्टीका सांसद अब्दुल खानले वैदेशिक रोजगारीमा गएका नेपालीको शव नेपाल ल्याउन नसक्ने नेपाली राजदूतावस किन राख्ने भनी प्रश्न गरे ।

बैठकमा सांसद रामप्रकाश चौधरी, प्रेम सुवाल, सुशिला थिङ, ईश्वरी घर्ती, छिरिङ ल्यामु लामा, ज्ञानबहादुर शाहीलगायतले जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण गराउँदै ठूला भ्रष्टाचार र अनियमितताका प्रकरणको सम्बन्धमा निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे । रासस

शेयर गर्नुहोस:

162
Shares