मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

करेसाबारी मार्फत नजिकिदै एलायन्स फर अमेरिका

करेसाबारी मार्फत नजिकिदै एलायन्स फर अमेरिका


ड्यालस (अमेरिका) । दुई दर्जनका हाराहारीमा नेपाली चलचित्रमा अभिनय गरेका नायक सुधांशु जोशी आइतबार हातमा सावेल लिएर करेसाबारी मिलाउँदै थिए । उनलाई रायोको सागमा मल हाल्न सघाउँदै थिए अमेरिकन नेपाली समुदायका अगुवा मोहन ज्ञवाली ।

पछिल्लो समयमा लुम्बिनी समाज मार्फत निकै सकृय युधिष्ठिर नेपाल खाली जमिनमा मल हालेर तरकारी रोप्न ठीक्क पार्दै थिए । समुदायका अर्का अगुवा मिलन पौडेल कुटो लिएर मुला गोड्दै थिए ।

एलायन्स फर अमेरिका फरवार्ड नामक अभियानका सदस्यहरु आइतबार युलेसको ट्रिनिटी कम्युनिटीमा रहेको गौतम अर्यालको करेसाबारी सुधारमा संलग्न थिए । यस अघि अभियानले अमेरिकी समुदायका केही घरहरुमा पनि करेसाबारीको खन्ने, मल राख्ने, गोडमेल लगायतका कामहरु गरिसकेको छ ।

अभियन्ता मोहन ज्ञवालीका अनुसार मानिसहरुसँग नजिक हुने माध्यम पनि भएको र करेसाबारी मार्फत वातावरण संरक्षण, खर्चमा कटौती समेत गर्न सकिने भएकोले आवश्यकता भएर माग भएको ठाउँमा गएर यस्तो सहयोग गर्न थालिएको हो । यसबाट एउटा पारिवारिक माहौल मात्र नभएर चिनजान र कम्युनिटी सवल समेत हुने भएकोले केही साता देखि निरन्तरता दिइएको छ ।

यो अभियानमा नेपालबाट आएका आप्रवासीको मात्र सहभागिता छैन । एसिया, युरोप, अफ्रिका, ओसेनिया, दक्षिण अमेरिकी क्षेत्रका १५ देशका आप्रवासीहरु संलग्न छन् ।

‘अमेरिकामा नेक्स्ट डोर (छिमेकी) लाई नचिन्ने, वास्ता नहुने चलनमा सुधार गर्दै एक आपसमा नजिक तुल्याउन यो अभियान सुरु भएको हो’ अभियानमा संलग्न इयान क्याम्पबेलले भने । उनी गैर नाफामुलक संस्था मार्फत सामुदायिक सेवामा संलग्न छन्।

‘हामी टोलमा रहेका समुदायका सदस्यहरु एक अर्कालाई नजिकबाट चिन्ने संस्कारबाट आएका हौँ । अमेरिकामा पछिल्लो समयमा नजिकका छिमेकीहरु बीचमा पनि परिचय कम हुँदै गएको हुँदा करेसाबारी, सामुदायिक करेसाबारी मार्फत नजिक हुने गरि हामीले कार्यक्रम अघि बढाइरहेका छौ’ क्याम्पवेलले अभियानको मुख्य उद्वेश्य बारे प्रष्ट्याउँदै भने ।

यो कार्यक्रमको अर्को उद्वेश्य भनेको थोरै भएपनि समुदायलाई आर्थिक उपार्जनमा टेवा पुर्याउनु पनि हो । जो जस्को घरको करेसाबारीमा गएर काम गरिन्छ उनीहरुले आफूले खाएर बचाएको तरकारी एलाएन्सलाई दान गर्नेछन् । त्यो तरकारीलाई फार्मस् मार्केट (हाट बजार) मा बिक्री गरेर समुदायलाई टेवा पुर्याउनु पनि हो ।


बचेको तरकारी छिमेकीलाई बाँड्दा आत्मियता बढ्छ । त्यसबाट एक आपसमा सहयोग आदान प्रदानको संस्कारको सुरुवात पनि हुनजान्छ । समुदायका अगुवा मिलन पौडेलले पनि अवधारणाले समुदायका सदस्यहरुलाई एक ठाउँमा ल्याउन मद्दत पुग्ने धारणा राखे ।

यो अभियान प्रति ड्यालस फोर्टवर्थमा रहेका नेपाली समुदायले निकै चासो दिएका छन् । आगामी दिनहरुमा पनि चासो देखाइएको र माग भएको स्थानमा गएर सेवा गर्ने योजनामा एलायन्स रहेको छ ।