काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेअनुसार आफ्नो पार्टीले विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गरे पनि सबै विषयलाई गम्भीरतापूर्वक दृष्टिगत गरी कांग्रेस विपक्षी दलका रुपमा रहने बताएका छन् ।
उनले आफू प्रतिपक्षमा रहदा विरोधका लागि विरोध वा समर्थनका लागि समर्थन गर्ने छैनौँ भनी स्पष्ट पारे । सरकारका काम कारबाहीहरुको सूक्ष्म रुपले मूल्याङ्कन गरी गुण र दोषका आधारमा विश्लेषण गरेर आफ्नो धारणा बनाउने उनको भनाइ थियो ।
सोही आधारमा समर्थन र विरोधको नीति निर्धारण गर्ने उनले बताए । उनले विपक्षी दलका रुपमा काम गर्ने केही सैद्धान्तिक र नीतिगत विषयका बारेमा बताउँदै विपक्षी दलका रुपमा काम गर्दा हाम्रा केही यस्ता साझा राष्ट्रिय सरोकारका विषय छन् जसमा हामी सबैले साझा धारणा निर्माण गर्न आवश्यक रहेको छ भने ।
“महत्त्वपूर्ण तथा राष्ट्रिय सरोकारका विषयमा राजनीतिक दलहरुबीच संवाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गर्नुपर्दछ भन्ने कांग्रेसको दृढ मत छ । कांग्रेसले हिजोका दिनमा तत्काल देशका सामु विद्यमान जटिल चुनौतीको सामना गर्न संवाद, सहमति र सहकार्यमा जोड दिएको इतिहास ताजा छ ।
यसै मूलमन्त्रका कारण दसवर्षे सशस्त्र सङ्घर्षको विषमपूर्ण अवस्थाबाट शान्तिवार्ताका माध्यमले हामीले मुलुकलाई शान्तिमा रुपान्तरण गर्न सफल भयौँ”, सभापति देउवाले भने, “संविधान निर्माणको क्रममा हाम्राबीच निकै ठूला मतभेद वा मतभिन्नता थिए, तथापि संवाद सहमति र सहकार्यका माध्यमले संविधान प्राप्त भयो ।”
आज पनि देशका सामु निकै चुनौती विद्यमान रहेका, संविधानको रक्षा गर्नु र संविधानको सार्थक कार्यान्वयन अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उनले यसका निमित्त सरकारले संविधानको मर्म र भावनाको उच्च सम्मान गरेर सोही अनुरुप इमान्दारीपूर्वक कार्य गर्न आवश्यक रहेको छ भने ।
सभापति देउवाले सदनमा रहेका राजनीतिक दलहरुसँगको सहमति र सहकार्यमा आवश्यक नीति र कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखोस् भन्ने आग्रह गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुरक्षा र सबलीकरण अर्को महत्त्वपूर्ण कार्य हो भने ।
यसतर्फ सरकारका काम कारबाही सकारात्मक हुन सकुन भन्ने अपेक्षा गर्दै उनले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि सबैको साझा लक्ष्य रहेको उल्लेख गरे । सरकार इमान्दार भई काम गर्न जरुरी रहेको भन्दै उनले छिमेकी देश र मित्रराष्ट्रहरुसँग सन्तुलित र सुमधुरसम्बन्ध कायम राख्नुपर्ने धारणा व्यक्त गरे । रासस
प्रतिक्रिया