मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

वर्तमान सरकारलाई सफल बनाइन्छ : अध्यक्ष ओली

वर्तमान सरकारलाई सफल बनाइन्छ : अध्यक्ष ओली


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताएका छन् । 
 
एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सरकारलाई सफल बनाइने बताए ।
   
“यो सरकारलाई सफल बनाउन चाहन्छौँ”, अध्यक्ष ओलीले भने, “सरकारलाई हामीले उपयुक्त ढङ्गले मार्गनिर्देश गर्छौँ । सरकारले सही नीति लेओेस्, भ्रष्टाचार नगरोस् र सुशासन तथा विकास गरेर सक्रियताका साथ अघि बढोस् ।” उनले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसमेत पाउने बताए । 
 
अध्यक्ष ओलीले संसद् अधिवेशन सुरु हुने दिन तथा प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने दिन संसद् भवनमा समयमा नै प्रवेश गर्न सांसदहरुलाई निर्देशनसमेत दिए । 
 
एमाले संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले केही बाहिरी तत्वले अहिलेको सरकार ढाल्न खोजिरहेको उल्लेख गर्दै त्यो पूरा नहुने बताए । उनले अहिलेको सरकारले छिमेकी देशसँग सुमुधुर र पारस्परिक सम्बन्ध राखेर अगाडि बढ्ने बताए । 
 
“हामी विदेशी हस्तक्षेप रुचाउँदैनौँ”, अध्यक्ष ओलीले भने । उनले सांसदहरुलाई गर्नुपर्ने काम प्राथमिकतामा राखेर गर्नुपर्ने निर्देशन दिए । उनले संसद्को अभ्यासमा भाग लिन नभ्याउने तथा बाहिर बाहिर जानेजस्ता काम नगर्नसमेत सचेत गराए । अध्यक्ष ओलीले जनताले अनुमोदन गरेर संसद्मा पठाएकाले सांसदहरुलाई जनताका पिरमर्काबारे संसद्मा आवाज उठाउन आग्रह गरे । 
 
कार्यक्रममा एमाले संसदीय मामिला प्रमुख डा शिवमाया तुम्बाहाम्फेले नवनिर्वाचित सांसदले दलको निर्देशनलाई मानेर अगाडि बढ्नुपर्ने बताए । उनले संसद्मा खेल्नुपर्ने भूमिकालाई उल्लेखनीयरुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।  
 
विभागका सदस्य खिमलाल भट्टराईले संसद्मा एमालेको भूमिकालाई सांसदहरुले प्रभावकारी बनाउनका लागि अभिमुखीकरण गरिएको बताए । उनका अनुसार दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा नेपालको संसदीय अभ्यास र संसदीय प्रणालीका बारेमा जानकारी गराइनेछ । 
 
कार्यक्रममा एमाले उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले संविधान, संसदीय प्रक्रिया र सांसदको प्रभावकारी भूमिका तथा संसद् सचिवालयका सचिव सुदर्शन खड्काले सङ्घीय संसद् सचिवालय र सांसदको अन्तरसम्बन्ध, पूर्वमन्त्री माधव पौडेलले कानुनतर्जुमा प्रक्रियामा सांसदको भूमिका, प्रशासनविद् काशीराज दाहालले संसदीय समितिको प्रभावकारिता र सांसदको भूमिका तथा पूर्वसचिव शिशिर ढुङ्गानाले भौतिक तथा मानवीय विकासमा सांसदको भूमिकाका बारेमा प्रशिक्षण दिनेछन् । अभिमुखीकरण आइतबारसम्म चल्नेछ । रासस