मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अबको कार्यकालमा भाषण कम, सुशासन र विकासको पक्षमा काम धेरै गर्छु : प्रचण्ड

अबको कार्यकालमा भाषण कम, सुशासन र विकासको पक्षमा काम धेरै गर्छु : प्रचण्ड


चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताएका छन् । 
 
नारायणी माविको हीरक महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले यो कार्यकालमा भाषणभन्दा काम धेरै गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा करिब आठ मिनेटमात्रै बोलेका प्रचण्डले बाँकी जीवन सुशासन र विकासमा समर्पित गरेको बताए ।
 
यो कार्यकालमा आफू धेरै भाषण गर्ने पक्षमा नरहेको भन्दै उनले भने, ‘म भाषण कम, काम धेरै गर्ने । जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा मैले गरेको छु ।’ देश विशिष्ट परिस्थितिबाट अघि बढेको भन्दै उनले हरेक दिन देश र जनताको पक्षमा काम गर्ने बताए ।
 
‘हामी एउटा विशिष्ट परिस्थितिबाट अघि बढ्दै छौँ । मैले योपटक हरेक दिन देश र जनताको पक्षमा, सुशासन र विकासको पक्षमा काम गर्दै जाने, नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु’, उनले भने ।
 
प्रधानमन्त्री भएपछि पहिलो क्याबिनेट बैठकबाट अर्थतन्त्र सुधार र सुशासन कायम गर्ने निर्णय गरेको उनले बताए । ‘जनताले विभिन्न क्षेत्रमा पाइरहेको सास्तीबाट मुक्त हुने कुरालाई इंगित गरेर निर्णय गरेको छु । जनतालाई पीरमर्का पार्ने कुनै पनि निर्णयमाथि मैले कठोर कदम चलाएर जनता र राष्ट्रको नै पक्षमा जाने सङ्कल्प लिएको छु’, उनले भने ।
 
त्यस्तै उनले नारायणी माविको गुणस्तर वृद्धिका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । समाजको सभ्यता र संस्कृतिको आधारशिला भनेको शिक्षा नै भएको भन्दै उनले विकासलाई दिगो रुपमा अगाडि बढाउन गुणस्तरीय शिक्षा आवश्यक पर्ने बताए । आफ्नो जन्म जिल्लाको विद्यालय प्रथम र कर्म जिल्लाको मावि दोस्रो भएकोमा उनले खुसी व्यक्त गरे । 
 
नारायणी माविमा उनले हीरक द्वार, स्वर्ण र हीरक स्तम्भको उद्घाटन गरे । प्रधानमन्त्रीमा नियुक्त भएपछि उनी पहिलोपटक गृहजिल्ला चितवन आएका हुन् । उनी उपत्यकाबाहिर पहिलोपटक औपचारिक कार्यक्रममा सहभागी भएका हुन् । 
 
हीरक महोत्सवमा सहभागी भई उनी शनिबारै काठमाडौँ फर्किएका छन् । विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालय गुणस्तरमापन केन्द्रको परीक्षणमा देशकै दोस्रो विद्यालय हो । हालै गरिएको परीक्षणमा १०० अङ्कमा ९३.०५ अङ्क प्राप्त गरी दोस्रो भएको उनले बताए । 
 
विसं २०२० जेठ ६ गते रात्रिकालीन विद्यालयबाट पठनपाठन सुरू गरेको यस विद्यालयमा हाल तीन हजार पाँच सय ७० विद्यार्थी अध्ययनरत छन् । 
 
निकुञ्जभित्र कालोपत्रे गर्न ज्ञापनपत्र
 
चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटोमा मानव तथा वन्यजन्तुमैत्री हुनेगरी कालोपत्रे गर्न माडीका युवाहरुले प्रचण्डलाई आग्रह गरेका छन् । शनिबार प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै समृद्धिका लागि युवा अभियान माडीले मन्त्रिपरिषद्को पूर्ण बैठकबाट भरतपुर–माडी सडकखण्डमा पर्ने निकुञ्जभित्रको बाटोमा कालोपत्रे गर्ने निर्णय गर्न आग्रह गरेको हो ।
 
निकुञ्जभित्र कालोपत्रे नहुँदा माडीवासीले सास्ती खेप्दै आएका छन् । प्रधानमन्त्रीको गृहजिल्ला नै चितवन भएकाले माडीवासीले पाएको दुःखको विषयमा जानकार रहेको र माडीवासीका तर्फबाट गरिएको मागलाई सम्बोधन गर्ने अभियानका सदस्य विपीन पाठकले बताए ।