मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

विद्यार्थी अपहरण गरी हत्या गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ

विद्यार्थी अपहरण गरी हत्या गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ


वीरगञ्ज । कक्षा ८ मा अध्ययनरत विद्यार्थीको अपहरण गरी हत्या गरेको अभियोगमा वीरगञ्जको गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । 
 
वीरगञ्ज महानगरपालिका–२५ खलवाटोला सिर्सियामा सञ्चालित विद्यालयमा अध्ययनरत १४ वर्षीय नीरजकुमार दुसादको अपहरण तथा हत्याको अभियोगमा सोही विद्यालयका प्रधानाध्यापक पर्साको धोवनी गाउँपालिका–१ घोडदौर पिपरा निवासी ३० वर्षीय दिलीपकुमार पटेल र उनका सहयोगी वीरगञ्ज–१७ अलौँ निवासी २४ वर्षीय कृष्ण भरेन भनिने श्यामप्रसाद पटेललाई प्रहरीले पक्राउ गरेको हो ।
 
पक्राउ परेका पटेल र यादवलाई बुधबार प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा अभियुक्तद्वयलाई सर्वजनिक गर्दै प्रहरी उपरीक्षक कोमल शाहले मृतक नीरजका पिता श्रीराम हजार दुसादसँग रु ५० लाख फिरौती लिने उद्देश्यले मङ्सिर ५ गते बालकको अपहरण गरी पटेल र यादवले हत्या गरेको जानकारी दिए । 
 
उनले अपहरणको १२ दिनपछि अर्थात् मङ्सिर १७ गते मोबाइलबाट नीरजका पितालाई फोन गरी यादवले रु ५० लाख फिरौती माग गरेपछि उक्त नम्बरलाई पच्छ्याउँदै जाँदा पहिले यादव र उनले दिएको जानकारीका आधारमा घटनाका मुख्य योजनाकार पटेल पक्राउ परेको बताए ।
 
पटेल र यादव पक्राउ परेपछि उनीहरूसँग सोधपुछ गर्दा पटेलले दिएको जानकारीका आधारमा पुस १० गते राति शौचालयको ट्याङ्कीबाट नीरजको शव बरामद गरेको उपरीक्षक शाहले जानकारी दिए । 
 
उनले पटेल र यादवको आर्थिक अवस्था खराब हुँदै गएको र नीरजका पिता दुसादलाई नेपाल सरकारबाट जग्गाको मुआब्जाबापत लाखौँ रकम पाउने जानकारी पाएपछि बालकको अपरहण गरी हत्या गरेको अनुसन्धानबाट खुलेको बताए ।
 
नीरजलाई प्रधानाध्यापक पटेलले पहिलेदेखि नै चिनेको र उनले बोलाउँदा सहजै भनेको स्थानमा आउने भएकाले उनको अपहरण गर्ने योजना बनाएको पटेलले बयानमा स्वीकार गरेको उपरीक्षक शाहले जानकारी दिए । 
 
उनले मङ्सिर ४ गते विद्यालय छुट्टी भएको दिनै नीरजलाई बोलाउँदा सो दिन नआएको र सोको भोलिपल्ट दिउँसो २ बजे आएपछि उनलाई बन्धक बनाई राख्न खोज्दा नीरज कराउन थाले पनि उनलाई शान्त पार्न घाँटी थिच्दा उनको मृत्यु भएको थियो । आफू बसेको घर अगाडि रहेको शौचालयको ट्याङ्कीमा शवलाई हाली दिएको पटेलले जानकारी दिएपछि प्रहरीले पुस १० गते राति बालकको शव बरामद गर्न सफल भएको बताए ।
 
मृत बालकको शव परीक्षणपछि सत्गतका लागि अभिभावकको जिम्मा लगाइएको छ भने घटनामा संलग्न थप एक जान अभियुक्तको खोजीकार्य भइरहेको उपरीक्षक शाहले जानकारी दिए । उनले पक्राउ परेका दुवै जना अभियुक्तमाथि शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा चलाउने तयारी रहेको बताए । रासस