मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गठबन्धनभित्रबाट सरकार गठनको गृहकार्य भइरहेको छ : महासचिव भुसाल

गठबन्धनभित्रबाट सरकार गठनको गृहकार्य भइरहेको छ : महासचिव भुसाल


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुसालले लोकतान्त्रिक–वाम गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् । 
 
नेकपा (एकीकृत समाजवादी) को काठमाडौँ निर्वाचन क्षेत्र नं ९ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा महासचिव भुसालले निर्वाचन आयोगले परिणाम राष्ट्र प्रमुखलाई बुझाएपछिको अवस्थामा संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्रमा सरकार गठन गर्नुपर्ने बताउँदै त्यसका लागि गठबन्धनभित्र गृहकार्यका साथै छलफल भइरहेको बताए ।
 
कम्युनिष्ट पार्टीलाई परिणाममुखी बनाउन लाग्नुपर्ने बताउँदै उनले पार्टीले देशभर सङ्गठन बिस्तार गर्दै गतिशील बनाउनुपर्नेमा जोड दिए । निर्वाचनमा पार्टीको काममा निरन्तर खटेका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै उनले निर्वाचन परिणामबाट हतोत्साहित नहुन आग्रह गरे ।
 
पार्टीको शक्तिलाई पुनःगठित गरी आगामी चुनावको तयारीमा थप उत्साह र आशाका साथ अहिलेदेखि क्रियाशील हुन कार्यकर्तालाई उनले निर्देशन दिए ।
 
काठमाडौँ जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठ, अनुशासन आयोगका केन्द्रीय सदस्य सीताराम नेपाललगायतले चुनावी समीक्षा गर्दै आगामी दिनमा सशक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरे ।
 
विभिन्न जनवर्गीय सङ्गठनका प्रतिनिधि रहेको कार्यक्रममा नेवारी बाजाको संरक्षणमा लागेका स्रष्टा अर्जुन डङ्गोललाई सम्मान गरिएको थियो । उनले नेवारी संस्कृतिअन्तर्गत बाँसुरी, मादल, धिमे, डम्फु, खिं, नगरालगायत परम्परागत नेवारी बाजाहरुको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।