मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

एमाले अध्यक्ष ओलीलाई मेयर बालेनको जवाफ : “तपाईंका लागि काठमाडौँका सुकुमबासी भोट बैंकमात्रै”

एमाले अध्यक्ष ओलीलाई मेयर बालेनको जवाफ : “तपाईंका लागि काठमाडौँका सुकुमबासी भोट बैंकमात्रै”


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुमबासी भोट बैंकमात्र भएको टिप्पणी गरेका छन् । 
अध्यक्ष ओलीले बागमती किनारका सुकुमबासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सवाल जवाफ गर्दै सामाजिक सञ्जालमार्फत बालेनले पटकपटक राज्य संरचनाको नेतृत्व लिँदा ओलीले काठमाडौंको सुकुमबासी समस्या समाधान गर्न नसकेको बताएका हुन् । 
मंगलबार ओलीले बल प्रयोगबाट सुकुमबासी समस्याको समाधान नहुने बताउँदै बल प्रयोग गरिनु गलत भएको बताएका थिए । त्यसको प्रतिउत्तरमा बालेनले लेखेका छन्, “२०४७ सालयता १४ वटा भूमि आयोग गठन हुँदा पनि काठमाडौँको सुकुमबासी समस्या समाधान गर्न सक्नुभएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुमबासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे ।” 
ओलीले गुठी आन्दोलनजस्ता आफ्ना स्वार्थविपरीतका कुराहरूमा प्रयोग गरेको आरोपसमेत उनले लगाएका छन् । उनले लेखेका छन्, “बरु तिनलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थविपरीतका कुराहरुमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवश, तपाईंलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईंको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदीक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन ।”
मेयर बालेनले अब परिस्थिति फेरिइसकेको बताउँदै ओलीलाई चेतावनीसमेत दिएका छन् । उनले लेखेका छन्, “सकेको सहयोग गर्नुहोला, तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।”