नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) –१ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई सात हजार एक सय ७८ मतान्तरले पछि पार्दै उनी निर्वाचित भएका हुन् ।
जिल्ला निर्वाचन अधिकृत सुजाता खत्रीका अनुसार कांग्रेस उम्मेदवार चौधरी २९ हजार चार सय ९५ मत ल्याएर विजयी भएका हुन् । त्रिपाठीले भने २२ हजार तीन सय आठ मत प्राप्त गरे । संविधानसभाको पहिलो निर्वाचन २०६४ र संसदीय निर्वाचन २०७४ मा समानुपातिकतर्फबाट संसद् प्रवेश गरेका चौधरी यसपटक प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् ।
चौधरी २०६४ सालमा नेकपा (एमाले) तथा २०७४ सालमा कांग्रेसको समानुपातिक कोटाबाट संसद् प्रवेश गरेका थिए । पश्चिम नवलपरासी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार पाँच सय ९९ तथा जनमत पार्टीका गुलावप्रसाद चौधरीले पाँच हजार नौ सय ४४ मत प्राप्त गरे । यहाँ एक लाख १८ हजार दुई सय ५० मतदाता रहेकामा ८४ हजार तीन सय ३५ जनाले मतदान गरेका थिए । रासस
प्रतिक्रिया