मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा छौँ : अध्यक्ष प्रचण्ड

आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा छौँ : अध्यक्ष प्रचण्ड


दमौली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा वर्तमान गठबन्धन रहेको बताएका छन् । 
 
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आइतबार आयोजित सत्तागठबन्धनको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाललाई नयाँ युगमा लैजाने सङ्कल्पसहित गठबन्धन निर्माण भएको बताए । 
 
“यसपटकको निर्वाचन सामान्य हुनेछैन, यो निर्वाचन नेपालको इतिहासमा विशेष महत्व राख्ने निर्वाचनको रूपमा सम्पन्न हुँदैछ”, उनले भने । संविधानसभाबाट संविधान बनेपछि र त्यो संविधानअनुसारको सरकार बनेपछि अब स्थायित्व र विकासको यात्रातिर नेपाल लाग्नेछ भन्ने सोचे पनि घटनाक्रम त्यसरी विकसित नभएको अध्यक्ष दाहालको भनाइ थियो । 
 
“घटनाक्रमको विकास लामो सङ्घर्षबाट उपलब्धि प्रहार गर्नेतिर भयो, जसलाई प्रधानमन्त्रीका रूपमा अगाडि सा¥यौँ, उनले नै संविधानमाथि प्रहार गर्ने काम गरे”, अध्यक्ष दाहालले भने । 
 
तीन वर्ष पुग्दा नपुग्दा प्रतिगमनको विरुद्ध, संविधानको रक्षा, जनताको अधिकार रक्षाका निम्ति सडकमा जानुपर्ने अवस्था आइलागेको भन्दै अध्यक्ष प्रचण्डले जनताको प्रयासकै कारण गठबन्धन स्थापना भएको बताए । 
 
उनले नेकपा (एमाले)लाई नैतिक दृष्टिकोणले भोट माग्ने अधिकार नभएको बताए । “संसद् विघटन गर्ने, पार्टी विभाजन गर्ने र अधिकार खोस्नेलाई के भनेर भोट दिने, संविधान च्यात्नका लागि मत चाहियो ? भनेर प्रश्न गर्नुपर्ने बेला आएको छ”, उनले भने । 
 
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अग्रसरतामा गठबन्धन निर्माण भएको भन्दै उनी देशको कार्यकारी भूमिकामा पुग्न सक्ने व्यक्ति भएको उल्लेख गरे । “पौडेललाई धेरै मत दिएर जिताउनुस् त्यो सम्भावना बढ्यो, बढ्यो, बढ्यो”, अध्यक्ष दाहालले भने । रासस