काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने बताएका छन् ।
वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं १० ले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले ठूलो सङ्घर्षपछि प्राप्त भएको संविधानको रक्षा गर्नु आजको आवश्यकता भएको बताए ।
प्रधानमन्त्रीले भने, “यो राष्ट्रले धेरै ठूलो लडाइँपछि संविधान पाएको छ । पद्धति पाएको छ । संविधानले नै ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको छ । आदिवासी, जनजाति सबैलाई हक दिएको छ । यो समावेशी संविधान मात्रै नभई सबै समावेशी लोकतन्त्र पनि छ ।”
सबै वर्ग तथा क्षेत्र अटाउने संविधानलाई बचाउने लक्ष्यका साथ गठबन्धन बनेको उनको भनाइ छ । प्रधानमन्त्रीले भने, “हाम्रोमा स्थापित भएको समावेशी प्रजातन्त्र र राजनीतिलाई बचाई राख्नुछ । नेपाली जनताले निर्वाचनमार्फत सरकार बनाउन पाउने, बदल्न पाउने अधिकार पाएका छन् । यो महत्त्वपूर्ण छ । यसलाई स्थायी राख्न पनि हामी एक ठाउँमा उभिएका छौँ ।”
प्रधानमन्त्री देउवाले जथाभावी तरिकाले एमाले अध्यक्ष ओलीले दुई दुई पटक संसद् भङ्ग गरेपछि आफूहरू मिलेर त्यसलाई बचाएको दृष्टान्त पेश गरे । उनले भने, “दुई पटक संसद् भङ्ग गर्न थालेपछि हामीले प्रजातन्त्र बचाएका हौँ । लोकतन्त्र र समावेशी प्रजातन्त्र बचाएका हौँ । यसलाई स्थायी बनाउन गठबन्धन बनेको छ ।”
गठबन्धनको एउटै शर्त स्थायी लोकतन्त्रलाई समृद्ध पार्नु रहेको उल्लेख गर्दै उनले जनताले पाएको अधिकार कमजोर गर्न नसकोस् र हटाउन नसकोस् भनेर गठबन्धन बनेको उल्लेख गरे । उनले गठबन्धन आगामी १० देखि १५ वर्षसम्म जाने विश्वास व्यक्त गरे ।
स्थायी शान्ति र लोकतन्त्रको सम्वद्र्धनका लागि गठबन्धन अपिरहार्य रहेको प्रधानमन्त्रीको भनाइ छ । उहाँले सडक विस्तारका क्रममा समस्यामा परेका स्थानीयबासीलाई मुआब्जा दिने विश्वास दिलाए ।
“कसैको पनि सम्पत्ति बिना मुआब्जा भत्काउन पाइँदैन । भत्काउन त पाइन्छ, तर मुआब्जा दिएपछि मात्रै”, प्रधानमन्त्रीले भने, “अब मुआब्जा दिलाउने काम प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजन केसीको हो ।”
कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई कायम राख्दै मुलुकको सर्वाङ्गीण विकासका लागि गठबन्धनको जीत जरुरी रहेको बताए ।
विकास र समृद्धिको गति अगाडि बढाउनका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै उनले शिक्षा, स्वास्थ्य र ऊर्जा क्षेत्रको विकासका लागि पनि आफूले ध्यान केन्द्रित गरेको बताए । उनले व्यापार घाटा कम गर्दै बेरोजगारीको अन्त्य र परनिर्भरताको अन्त्य गर्न लगानीको विस्तार जरुरी रहेकामा जोड दिए ।
सो क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार केसीले मुलुकको विकास र समृद्धिका लागि गठबन्धनको उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । उनले कृषि पर्यटन र ऊर्जा क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउनुपर्ने बताए । उनले आफू ठोस योजना र कार्यक्रमसहित जनताको बीचमा आएको उल्लेख गरे । रासस






प्रतिक्रिया