मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

काठमाडौँ–४ मा गठबन्धन र एमालेबीच रोचक प्रतिस्पर्धा

काठमाडौँ–४ मा गठबन्धन र एमालेबीच रोचक प्रतिस्पर्धा


काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । 
 
विसं २०७४ को निर्वाचन प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र एमालेका प्रभावशाली नेता डा राजन भट्टराई यसपटक पनि चुनावी मैदानमा भिड्दै छन् ।  
 
विसं २०७४ को निर्वाचनमा थापाले भट्टराईलाई पराजित गरेका थिए । गत निर्वाचनमा विजयी थापाले २१ हजार पाँच सय ५८ मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला भट्टराईलाई वाम गठबन्धन (एमाले–माओवादी)को समर्थन थियो । तर, यसपटक भने एमाले एक्लै चुनावीमा मैदानमा छ । थापालाई सत्तागठबन्धनको समर्थन रहेको छ ।
 
वाम गठबन्धन हुँदासमेत भट्टराईलाई तीन हजार मतको अन्तरले पराजित गरेका थापाले यसपटक पनि दुवैको कडा प्रतिस्पर्धा हुने देखिएको छ । गत वैशाखमा भएको स्थानीय तहको मतपरिणामलाई केलाउँदा पनि सो क्षेत्रमा गठबन्धन बलियो देखिएकोे छ । उक्त क्षेत्रमा कुल १२ वडामध्ये एमाले नौ र कांग्रेस तीन वडामा विजयी भएको छ ।
 
सो क्षेत्रमा एमालेले काठमाडौँ महानगरपालिकाको १ र बूढानीलकण्ठ नगरपालिकाका आठ वडा क्रमशः १, २, ८, ९, १०, ११, १२ र १३ मा जित हासिल गरेको छ । कांग्रेसले काठमाडौँ महानगरका ७, ८ र ३० वडामा जित हासिल गरेको छ । 
 
स्थानीय तहको निर्वाचनमा १२ वडामा एमालेका वडाध्यक्षले १६ हजार पाँच सय सात मत प्राप्त गरेका थिए । यस्तै नेपाली कांग्रेसका वडाध्यक्षले १५ हजार सात सय ६३ मत प्राप्त गरेका थिए । 
 
त्यस्तै, एकीकृत समाजवादीका वडाध्यक्षले दुई हजार चार सय १४ र माओवादी केन्द्रले आठ सय २८ मत प्राप्त गरेका थिए । वडाध्यक्षले पाएको मतका आधारमा सत्ता गठबन्धन एमाले भन्दा दुई हजार एक सय ९८ मतले अगाडि छ । 
 
सो क्षेत्रमा कांग्रेसका थापा र एमालेका भट्टराईसहित हाम्रो नेपाली पार्टीबाट अर्चन शम्शेर राणा, एकीकृत शक्ति नेपालबाट नवराज भण्डारी, आमूल परिवर्तन मसिहा पार्टीबाट धु्रवराज गिरी, नेपाल मजदूर किसान पार्टीबाट रमेश डङ्गोललगायतको उम्मेदवारी रहेको छ ।
 
प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ काठमाडौँ क्षेत्र नं ४ मा ३३ मतदानस्थल र ८२ मतदान केन्द्र निर्धारण गरिएको छ । सो क्षेत्रमा ६९ हजार सात सय ५२ मतदाताको सङ्ख्या रहेको छ । तीमध्ये ३३ हजार चार सय ७४ पुरुष र ३६ हजार दुई सय ७७ महिला छन् । अन्य मतदाताको सङ्ख्या एक रहेको छ । रासस