काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नरहरि आचार्यले संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले आइतबार टोखामा आयोजना गरेको ‘खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम’ मा उनले कांग्रेस नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्नका लागि वर्तमान गठबन्धन निर्माण भएको बताए । “मुलुकलाई अप्ठ्यारो पर्दा हरेक समय कांग्रेसले निकास दिँदै आएको छ, समृद्ध मुलुक निर्माणमा पनि कांग्रेसले नेतृत्व गर्छ”, उनले भने ।
नेता आचार्यले खेलाडीले आफ्नो ऊर्जावान् समयमा देशलाई खेलकुद क्षेत्रबाट गरेको योगदानको उच्च सम्मान गरे । खेलकुदमार्फत राष्ट्रलाई चिनाउन खेलाडीको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो ।
कांग्रेस नेता एवं काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले हरेक युवालाई खेलकुद क्षेत्रमा जोड्न जरुरी रहेको बताए । “खेलकुदले समाज र देशलाई चिनाउँछ, व्यक्तिलाई अनुशासित बनाउने काम गर्छ, खेलकुदको सकारात्मक पक्षलाई हाम्रो समाजमा स्थापित गर्नु जरुरी छ”, उनले भने ।
नेता पौडेलले युवामैत्री सहर निर्माण गर्न खेलकुदमैत्री वातावरण निर्माण गर्नुपर्ने बताए । युवाको व्यक्तित्व विकासका लागि खेलकुद क्षेत्रमा सरकारले लगानी गर्नुपर्ने उनको भनाइ छ । उनले टोखामा उत्पादन हुने चाकूलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजाने आफ्नो योजना रहेको सुनाए । काठमाडौँ क्षेत्र नं ५ लाई सांस्कृतिक सहरका रुपमा विकास गरिने उनको भनाइ थियो । नेता पौडेलले सांसद विकास कोषलाई पारदर्शी ढङ्गले सञ्चालन गर्ने बताए ।
सङ्घका सचिव मनिष जोशीले मुलुकको खेलकुद क्षेत्रको विकासका लागि नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले खेलाडीलाई ऊर्जा थप्नका लागि विभिन्न कार्यहरु गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा फुटबलका खेलाडी रामचन्द्र श्रेष्ठ, मनिन्द्रराज जोशी, वक्सिङका खेलाडी अर्जुनबहादुर केसी, पुष्पराज जोशी, क्रिकेटका खेलाडी पारस खड्का, पर्वतारोही पूर्णिमा श्रेष्ठलगायत तीन दर्जनभन्दा बढी खेलाडीलाई सम्मान गरिएको थियो । रासस
प्रतिक्रिया