दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उमेदवार रामचन्द्र पौडेलले गाउँ–गाउँमा सुविधा पुगेकाले अब आम्दानीको अवसर सिर्जना गर्ने पहिलो प्राथमिकता रहेको बताएका छन् ।
तनहुँको देवघाट गाउँपालिकास्थित कालीमाटीमा आज घरदैलो गर्दै वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारी र आम्दानी अबको प्राथमिकता रहेको बताए । “गाउँ गाउँमा बाटो, खानेपानी, शिक्षा, स्वास्थ्यको सुविधा पुगिसकेको छ, अब गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ लाग्ने बनाउँछौँ”, पौडेलले भने ।
विगतमा सेवा सुविधाको खोजीमा जनताहरु गाउँ छाडेर शहरमा बसाइसराइ गरेको चर्चा गर्दै पौडेलले गाउँमै सेवासुविधा पुगेपछि अब गाउँमै बस्न आग्रह गरे ।
“राजनीति जागिर नभई सेवा भएकाले जनताको सेवाका लागि नै राजनीति गर्दै आएका हौँ”, पौडेलले भने, “जनताका हरेक समस्या समाधानका लागि प्रतिबद्ध छौँ ।”
तनहुँ क्षेत्र नम्बर १ प्रदेश २ का लागि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हरिबहादुर चुमानले नेपाल अनुकुलको विकासका लागि वर्तमान गठबन्धन सरकार प्रतिबद्ध रहेको बताए । वरिष्ठ नेता पौडेलले शुक्रबारदेखि पुनः घरदैलो अभियान सुरु गरेका छन् । पौडेलले व्यास नगरपालिका–३ शान्तिनगर, देवघाट गाउँपालिका–१ र २ को बैदी, खाल्टे, कोटा लगायतमा घरदैलो सम्पन्न गरेका छन् ।
पौडेलले कात्तिक १४ गतेसम्म देवघाट, १५, १६ र १७ गते आँबुखैरेनी तथा १९, २० र २१ गते बन्दीपुरका विभिन्न ठाउँमा घरदैलो गर्नेछन् । रासस
प्रतिक्रिया