राजनीति-समाज

कांग्रेसका बागी बुर्लाकोटीद्वारा उमेदवारी निष्क्रिय

कांग्रेसका बागी बुर्लाकोटीद्वारा उमेदवारी निष्क्रिय


चितवन । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उमेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उमेदवारी निष्क्रिय गराएका छन् । 
 
उनले सो क्षेत्रमा कांग्रेसका तर्फबाट उम्मेदवार हुने इच्छा व्यक्त गरे पनि पार्टीले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडेललाई उमेदवार बनाउने निर्णय गरेपछि स्वतन्त्र उमेदवारी दर्ता गराएका थिए । 
 
उनले जीवनभर कांग्रेसप्रति गरेको त्याग, सङ्घर्ष र मेहनतका कारण कांग्रेसको उमेदवार हुँदाहुँदै स्वतन्त्र उमेदवार बनिरहन नसकेको उल्लेख गर्दै पार्टीले आफूलाई सम्मानजनक भूमिका दिने विश्वास दिलाएकाले चितवन–१ मा रहेको आफ्नो स्वतन्त्र उमेदवारी आजकै मितिदेखि निष्क्रिय भएको घोषणा गरेका हुन् । 
 
साथै बुर्लाकोटीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा चितवन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उमेदवार पौडेललाई जिताउन नेतृत्वदायी भूमिका खेल्ने उल्लेख गरेका छन् । 
 
आजका दिनसम्म आफूलाई साथ र सहयोग गर्ने सम्पूर्णलाई आजकै दिनदेखि कांग्रेसका उम्मेदवार पौडेललाई विजयी गराउन सक्रिय हुन पनि उनले अनुरोध गरेका छन् ।