अमेरिका । अमेरिकामा रही नेपालस्थित समता शिक्षा अभियानमा जोडिएका व्यक्तित्वहरुलाई सम्मान गर्न बृहत सुशोभन समारोह गरिने भएको छ ।
गुणस्तरीय शिक्षालाई सर्वसुलभ बनाई राष्ट्रनिर्माणमा टेवा पुर्याउने प्रमुख उद्देश्यका साथ अमेरिकामा स्थापित नाफारहित संस्था समता ग्लोबल सिनेटले अमेरिकामा रहेका आफ्ना समता सिनेटरहरुलाई सम्मान गर्न बृहत सुशोभन समारोह गर्न लागेको हो ।
सिनेटर बन्नुहोस्, राष्ट्र निर्माणमा योगदान गर्नुहोस् (Be a senator, contribute to nation building) भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त सुशोभन समारोहमा, समता शिक्षाका संस्थापक तथा प्रमुख अभियान्ता उत्तम संजेलले समभाव लिई अभियानमा जोडिएर सिनेटर बन्न सफल भएका व्यक्तित्वहरुलाई, सिनेटरको उपाधिसहित सम्मान गर्ने भएका छन् ।
समारोहका बारेमा जानकारी दिँदै समता ग्लोबल सिनेटका अध्यक्ष प्राध्यापक डाक्टर उत्तम गाउँलेले भने, ‘यो हाम्रो संस्था समता ग्लोबल सिनेटको एउटा महत्त्वपूर्ण शैक्षिक अभियान हो।’ हाल यो संस्था नेपालमा गुणस्तरीय शिक्षालाई सर्वसुलभ बनाइ नेपाल राष्ट्रनिर्माणमा टेवा पुर्याउने मुख्य उद्देश्य राखेर, नेपालस्थित समता शिक्षा निकेतनलाई यथाशक्य सहयोग गर्ने अभियानमा जुटिरहेको छ। त्यही अभियानअन्तर्गतको हो यो अति महत्त्वपूर्ण सुशोभन समारोह।
शिक्षाप्रेमी, समाजसेवी तथा नेपालप्रेमीहरुका लागि यस अभियानमा जोडिएर हातेमालो गर्दै नेपाल निर्माणमा योगदान पुर्याउने यो सुवर्ण अवसर हो। तसर्थ, इच्छुकहरुलाई समभावले सिनेटर बनेर अभियानमा जोडिन आव्हान गर्दछु।
प्रा गाउँलेले कार्यक्रमका बारेका थप प्रस्ट्याउँदै भने, ‘खासमा सुशोभन समारोहमा संस्थाको शैक्षिक अभियानमा जोडिएर महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरुलाई सिनेटरको उपाधिसहित सम्मान गरिने छ।’
आयोजकले जनाएअनुसार सुशोभन समारोह अमेरिकाको बिभिन्न राज्यहरुमा हुदैछ। जसअनुसार नोभेम्बर-५ तारिखमा अमेरिकाको न्युयोर्क, नोभेम्बर-६मा सिकागो, नोभेम्बर-११मा कोलम्बस, नोभेम्बर-१२मा पिट्स्बर्ग, नोभेम्बर-१८मा लुइस्, नोभेम्बर-१९ मा सान फ्रान्सिस्को र नोभेम्बर-२०मा डालासमा हुनेगरी कार्यक्रम तालिका तय गरिएको छ।
उक्त समारोहमा मनोरञ्जनात्मक विविध सांस्कृतिक कार्यक्रमलाई पनि समेटिएको र उक्त मनोरञ्जनात्मक सांगीतिक माहोलमा समता शिक्षा निकेतनका संरक्षक तथा वरिष्ठ कलाकार द्वय ‘मह’ जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) र लोकप्रिय गायक रामकृष्ण ढकालसँग साक्षात्कार गर्न पाइने भएको छ।
यसै सिलसिलामा, बोस्टनमा पनि उक्त सुशोभन कार्यक्रम गर्न आवश्यक तयारी थालिसकिएको छ। समता ग्लोबल सिनेटको आयोजना तथा बोस्टन स्थित ग्रेटर बोस्टन नेपाली कम्युनिटी र पशुपतिनाथ बुद्ध फाउन्डेशनको आतिथ्यता रहने उक्त समारोह, आउँदो नोभेम्बर १३ तारिख आइतबारका दिन मासाचुसेट्स राज्यको आर्लिङ्गटन सहरको 7 Medford street स्थित Regent Theatre मा आयोजना गर्ने गरी तयारी थालिएको हो।
आयोजक संस्थाका सिनेटर बोस्टनवासी ठाकुर ज्ञवालीले तयारीका सम्बन्धमा जानकारी दिँदै भने, ‘कार्यक्रमको मिति नजिकिँदै गएकाले हामी आवश्यक तयारीमा जुटिसकेका छौँ।’
जसअन्तर्गत पहिलो चरणमा कार्यक्रम सम्पन्न गर्न आवश्क सम्भावित सहयोगीहरु र सिनेटर बन्न इच्छुक व्यक्तित्वहरुको खोजी, कार्यक्रमको प्रचारप्रसार, कार्यक्रम स्थलको तय र सरोकारवालाहरुसंगको छलफललाई प्राथमिकता दिएर काम गरिरहेका छौँ। सिनेटर ज्ञवालीले बोस्टनवासीको अमूल्य सहयोगमा कार्यक्रम सफल हुनेमा विश्वास व्यक्त गरे ।
हाल ज्ञवालीसहित बोस्टनमा कुमारसिंह डाँगी र कैलाश डाँगी समता सिनेटर छन् । अन्य शिक्षाप्रेमी, नेपालप्रेमी तथा समाजसेवीहरु पनि समता सिनेटर बनेर समता शैक्षिक अभियानमा जोडिने क्रम जारी छ। गत वर्ष अमेरिकामा स्थापना गरिएको यस संस्थामा हाल अमेरिका भरी २२ जना सिनेटरहरु रहेको र यस वर्षको अन्तसम्ममा दुई सय जना सिनेटरहरु हुने अनुमान गरिएको छ।
संस्थाका अनुसार, समता सिनेटरको उपाधि पाउनका लागि एक हजार अमेरिकी डलर शुल्कसहित रितपूर्वक निवेदन दिनु पर्दछ । र, संस्थाको समभावप्रतिको निवेदकको प्रतिबद्धता प्रमाणित हुनु पर्दछ। समता सिनेटरको उपाधि दिनेर नदिने निर्णय भने संस्थाद्वारा गठित शिक्षाप्रेमीहरुको एक स्वतन्त्र समितिले गर्नेछ।
समता शिक्षा निकेतनको समता शैक्षिक अभियान, यस संस्थाका संस्थापक तथा सर्वसुलभ समता शिक्षाका अभियान्ता(उत्तम सञ्जेलको सक्रिय अगुवाइमा आजभन्दा २१ वर्षअघि काठमाडौँको गोठाटारबाट प्रारम्भ भएको हो। संस्थाले विद्यार्थीहरुलाई प्रतिविद्यार्थीबाट मासिक एक सय रुपैयाँ मात्र लिइ सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गरेर शैक्षिक क्षेत्रमा अमूल्य योगदान पुर्याउँदै आइरहेको छ। हाल यस संस्थाले नेपालको ७७ जिल्लामा ८१ वटा विद्यालयहरु सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया