मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेपालको शिक्षा स्वास्थ्यमा भारतको सहयोग अतुलनीय छ : गृहमन्त्री खाण

नेपालको शिक्षा स्वास्थ्यमा भारतको सहयोग अतुलनीय छ : गृहमन्त्री खाण


रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा भारतको अतुलनीय सहयोग रहेको बताएका छन् । 
 
उनले नेपालको विकास लागि भारतले गरेको सहयोगप्रति धन्यवाद दिए । श्रीराम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय रोहिणी गाउँपालिका–३ स्वामीनगर, धकधई रुपन्देहीको निर्मित दुईतले भवन तथा प्रयोगशालाको समुद्घाटन समारोहमा उनले संयुक्त राष्ट्रसङ्घको एउटा गतिशील मुलुकका रुपमा नेपाल अघि बढिरहेको बताए । 
 
नेपाली र भारतीय जनताबीचको सम्बन्धले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउँदै उनले नेपाल र भारतको भाषा, वेषभूषा, संस्कृति, चाडपर्व मिल्दोजुल्दो उल्लेख गरे । गृहमन्त्री खाणले नेपालको संविधानले नेपाली जनतालाई शक्तिको केन्द्रमा राखेको र जनतालाई नेपालको मालिकका रुपमा स्थापित गरेको बताए । गत वर्ष विश्वभरि कोभिड महामारीले जनताको जीवनमा गम्भीर प्रभाव परेको बताउँदै उनले भारत सरकारले नेपाल सरकारलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको उल्लेख गरे ।
 
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा ४० प्रतिशत विद्यार्थी छात्रा हुनु महत्त्वपूर्ण भएको बताए । भारतमा पनि छात्राको शिक्षामा सरकारले जोड दिएको बताउँदै उहाँले नेपाली र भारतीय जनताबीच राम्रो सम्बन्ध रहेको उल्लेख गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकले नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताए । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले यहाँका अग्रजको सहयोग र पहलले शिक्षा क्षेत्रको विकास भएको बताए ।
 
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले विद्यालयलाई गाउँपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भारत सरकारको अनुदानमा निर्मित दुईतले भवन तथा प्रयोगशालाको गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले संयुक्तरुपमा उद्घाटन गरे । रासस