काठमाडौँ । प्रहरी महानिरीक्षकको कार्यभारसमेत सम्हालेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजिपी) सहकुलबहादुर थापाले मातहतका प्रहरी अधिकारीहरुलाई अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकतामा राखेर चाडबाडकेन्द्रित सुरक्षा योजना बनाई लागू गर्न निर्देशन दिएका छन् ।
प्रहरी प्रधान कार्यालयबाट मंगलबार प्रदेश प्रहरी प्रमुख, ब्युरो प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख र प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअलरूपमा उनले उक्त निर्देशन दिएका हुन् ।
उनले प्रविधिजन्य तथा आर्थिक अपराधको अनुसन्धानमा अझ बढी संवेदनशील हुनुपर्नेमा जोड दिँदै चाडबाडको बेलामा हुनसक्ने सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायसँग आवश्यक समन्वय एवं सहकार्य गरी अगाडि बढ्नसमेत निर्देशन दिए ।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित तवरले सम्पन्न गर्नका लागि आवश्यक तयारीमा जुट्न पनि उहाँले निर्देशन दिए ।
प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अरुणकुमार विसी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवाली, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक किरण राणालगायतका प्रहरी अधिकृतहरुको उपस्थिति थियो । रासस







प्रतिक्रिया