मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवन क्षेत्र नम्बर-१ मा कांग्रेसका ६ जनाको दाबी

चितवन क्षेत्र नम्बर-१ मा कांग्रेसका ६ जनाको दाबी


चितवन । चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट आगामी प्रतिनिधि सभा निर्वाचनमा ६ जनाले दाबी पेश गरेका छन् । संघीय सांसद्को लागि दाबी गर्नेहरुमा वर्तमान राज्यमन्त्रीसहित ६ जना नेताले चितवन १ बाट आकांक्षा जनाएका हुन । 
 
नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यालयमा स्वयं आकांक्षीहरु उपस्थित भएर दाबी पेश गरेका थिए । क्षेत्रीय सभापति किरणभूषण ओलीका अनुसार संघीय सांसद्का लागि राजेन्द्रप्रसाद बुर्लाकोटी, भीमप्रसाद थपलिया, उमेश श्रेष्ठ, डा. तीर्थराज खनियाँ, डा. स्वर्णीम वाग्ले र डा. विश्वनाथ पौडेलले दाबी पेश गरेका हुन् । 
 
कांग्रेस महासमिति सदस्यसमेत रहेका बुर्लाकोटी यसअघिको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए । थपलिया पनि महासमिति सदस्य हुन । त्यस्तै दाबी पेश गर्नेमा डा. खनियाँ त्रिभूवन विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । 
 
डा. वाग्ले योजना आयोगका पूर्वउपाध्यक्ष तथा डा. पौडेल योजना आयोगका वर्तमान उपाध्यक्ष हुन् । दाबी पेश गर्नेहरुमध्ये सकेसम्म क्षेत्रमै मिलाउने र सहमति नभए माथिल्लो.समितिमा पठाईने क्षेत्रीय सभापति ओलीले जानकारी दिए । 
 
कांग्रेस स्रोतका अनुसार योजना आयोगका पूर्वउपाध्यक्ष वाग्ले, वर्तमान उपाध्यक्ष पौडेल र श्रेष्ठमध्ये एकले टिकट पाउने सम्भावना रहेको छ । वाग्लेलाई टिकट दिलाउन कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको साथ छ भने पौडेललाई आरजु राणाको समर्थन रहेको छ भने श्रेष्ठलाई गृहमन्त्री बालकृष्ण खाणको समर्थन रहेको बताइएको छ । तर, कांग्रेस तल्लो तहमा भने स्थानीय नेतालाई नै टिकट दिनुपर्ने आवाज उठ्दै आएको छ । 
 
निवेदन दर्ताका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको थियो। क्षेत्रीय समितिले बुधबार दिउँसो प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक सबै नेताहरुसँग छलफल गर्ने जनाएको छ।
 
छलफलबाट उपयुक्त उम्मेदवार छनोट गरी उपल्लो तहमा सिफारिस गरिने ओलीले बताए । कांग्रेस चितवनको क्षेत्र नम्बर २ र ३ मा भने उम्मेदवार बन्न इच्छुकले निवेदन गर्दा गर्ने मिति बुधबारलाई तोकेका छन् ।
 
यसैबीच, एक जना समानुपातिक सदस्यका लागि आठ जनाले दाबी पेश गरेका छन् । दाबी गर्नेहरुमा सुशीला उप्रेती, सावित्रीदेवी चौधरी, सावित्री बोगटी पाठक, वासुदेव चौधरी, जोखाप्रसाद चौधरी, टंकप्रसाद उप्रेती, सूर्य अर्याल र मानबहादुर थापा छन् ।