मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस नेता गिरीको निधन, कांग्रेसद्वारा शोक व्यक्त

कांग्रेस नेता गिरीको निधन, कांग्रेसद्वारा शोक व्यक्त


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको शनिबार राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो ।

उनको उपचारमा संलग्न चिकित्सक तथा मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा पङ्कजकुमार बर्मनले पनि साँझ साढे नौ बजे उपचारका क्रममा नेता गिरीको निधन भएको जानकारी दिए ।

विगत लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्र प्रदिप गिरीको जन्म विसं २००४ मा सिरहाको बस्तीपुरमा भएको हो । समाजवादी चिन्तक नेता गिरी नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक थिए । नेता गिरी २०२१ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय भएका हुन् । हाल प्रतिनिधिसभा सदस्य रहेका उनी २०२४ सालमा बनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित भए ।

उनी विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधान सभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद् चयन भर्य संविधान निर्माणको जिम्मेवारीमा संलग्न भएका थिए । यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएको थिए । नेता गिरी प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित भएका हुन् ।

नेता गिरीको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको उपचारको क्रममा शनिबार राति ९ः३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले शनिबार एक शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै कांग्रेस संसदीय दलले दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

नेता गिरीप्रति श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर आइतबार भदौ ५ गते बिहान ९ः०० बजे देखि ११ः०० बजेसम्म नेपाल मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने सो शोक विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी श्रद्धाञ्जलीको लागि बिहान ११ः३० बजेदेखि २ः०० बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय, विपी स्मृति भवन, सानेपामा उनको पार्थिव शरीर राखिने र तत्पश्चात अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने छ ।

विसं २००४ सालमा सिरहामा जन्मिएका समाजवादी चिन्तक गिरी २०२१ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन् । रासस

शेयर गर्नुहोस:

54
Shares