इस्लामावाद । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल पर्वेज मुसरफ अस्पताल भर्ना भएका छन् । पछिल्लो तीन हप्तादेखि दुवईस्थित एक अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अधिकारीहरूले शुक्रबार जनाएका छन् ।
सुविधा सम्पन्न अस्पतालमा उपचार भइरहे पनि अवस्थामा खासै सुधार नआएको र अवस्था गम्भीर नै रहेको पारिवारिक सदस्यहरूले बताएका छन् । उनीहरूका अनुसार उनको अवस्थामा सुधार आउने कुनै सम्भावना छैन भने शरीरका धेरै अङ्गमा समस्या उत्पन्न भएको छ ।
मुसरफको ट्वीटर हेन्डलमै उनका परिवारजनको तर्फबाट लेखिएको सन्देशमा उनलाई भेन्टिलेटरमा भने नराखिएको स्पष्ट पारिएको छ । उनको अवस्थामा सुधार होस् भनेर आफूहरुले प्रार्थना गरिरहेको पनि उनका आफन्तले बताएका छन् ।
ट्वीटरमा लेखिएको छ, “उहाँलाई भेन्टिलेटरमा राखिएको होइन । उहाँको अवस्था गम्भीर छ । तत्काल सुधार हुने सम्भावना पनि छैन । उहाँका अधिकांश अंगले काम गरेका छैन्न । त्यसैले उहाँलाई सजिलो होस् भनेर हामीले कामना गरिरहेका छौँ ।”
सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति बनेका मुसरफको जन्म भने भारतको नयाँ दिल्लीमा भएको थियो । सैन्य उच्च अधिकारी रहेकै बेला सन् १९९९ मा सैन्य कु गरेर उनले राज्यसत्ता हातमा लिएका थिए । एएनआई
प्रतिक्रिया