मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

विश्वकप क्रिकेट लिग-२ का लागि नेपाली क्रिकेट टोली अमेरिकामा

विश्वकप क्रिकेट लिग-२ का लागि नेपाली क्रिकेट टोली अमेरिकामा


टेक्सस (अमेरिका) । नेपालको राष्ट्रिय क्रिकेट टोलीको सहभागितासहित संचालन हुने एनआरएनए एनसिसी युएसए कपका लागि टेक्ससमा रहेको नेपाली अल स्टार क्लबले आफ्नो टिम तयार पारेको छ । 
 
विश्वकप क्रिकेट लिग-२ मा सहभागिताका लागि आइतबार अमेरिकाको टेक्सस राज्यको ह्युष्टन सहर आइपुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिगको खेलहरुमा सहभागिता जनाउनुअघि तयारी स्वरुप एनआरएनए एनसिसी युएसए कपमा सहभागिता जनाउनेछ । प्रतियोगितामा  राष्ट्रिय क्रिकेट टोलीले नेपाली अल स्टार क्लब र ह्युष्टन हुरिकेन क्लबसँग खेल खेल्नेछ । 
 
नेपाली अल स्टार क्लब नेपालको तर्फबाट अन्तराष्ट्रिय खेलमा सहभागिता जनाइसकेका कनिष्क चौगाई, बरदान चालिसे,आशिक लामा, संजय शर्मा, उत्सव सिग्देललगायतका खेलाडीहरु मिलेर संचालन गरिरहेको क्लब हो । 
 
सो क्लबबाकट यस प्रतियोगितामा नेपालको तर्फबाट अन्तराष्ट्रिय खेल खेलिसकेका अन्तराष्ट्रिय खेलाडी पृथु बास्कोटा, वसन्त रेग्मी, कनिष्क चौगाईंको सहभागिता हुनेछ । यसैगरी अन्य खेलाडीहरुमा पाकिस्तान, न्यूजील्याण्ड, भारत, बेलायत र दक्षिण अफ्रिकावाट क्रिकेट खेलिसकेका खेलाडीहरु कोरे एन्डर्सन, एन्ड्रिज गोज, हरमित सिंह,मोहम्मद ईलियास, नितिश कुमार, साड्ली भान स्चालक्वाक,विपुल शर्मा, उदय कौल,रेहमन दार,गौरव बजाज,अदिल भट्टी र स्मित पाटिल रहेका छन् । 
 
नेपाली राष्ट्रिय टोलीले यहाँ रहँदा ओमान र अमेरिकासँग खेल हुनुअघि जुन २ मा नेपाली अल स्टार क्लब र जुन ४ मा ह्युष्टन हुरीकेन क्लबसँग खेल खेल्नेछ । यसका लागि अल स्टारले आफ्ना नियमित सदस्यहरुसहीत समेटेर टोली तयार गरेको क्लबका सदस्य बरदान चालिसेले बताए । 
 
ओमानविरुद्व खेल हुनुभन्दा दश दिनअघि नेपाली राष्ट्रिय टोली अमेरिका आई प्रशिक्षणमा रहेको छ । पहिलो पटक अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीलाई आईसिसीले तोकेको समय  भन्दा पहिलानै यहाँ ल्याई  प्रशिक्षणको प्रबन्धका लागि अमेरिकामा रहेको नेपाली क्रिकेट क्लब नेपाली अल स्टारले पहलकदमी लिएको हो । क्लबले ह्युष्टन हुरीकेन क्लब र नेपलिन एशोसिएशन ईन ह्युष्टनसँगको सहकार्यमा नेपाली राष्ट्रिय टोलीका लागि आवश्यक व्यवस्थापनको कार्य गरेको क्लबका संजय शर्माले जानकारी दिए । 
 
नेपालको छवि अन्तराष्ट्रिय जगतमा चिनाउनको लागि महत्त्वपूर्ण भूमिका खेल्ने खेलाडीहरुलाई यसरी यहा स्वागत गर्न पाउनुलाई आफूहरुले सकारात्मक रुपमा लिएको क्लबका अर्का सदस्य आशिक लामाले बताए । 
 
नेपाली राष्ट्रिय टोलीसहितको नेपाली अल स्टार र ह्युष्टन हुरिकेन सम्मिलित प्रतियोगिता एनआरएनए एनसिसी युएसए कप २०२२  को नामबाट हुँदैछ । प्रतियोगिताका लागि आवश्यक पर्ने खर्च गैरआवासीय नेपाली  संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले प्रबन्ध गर्ने गरी सहयोग संकलनको काम भैरहेको संघका उपाध्यक्ष सुमन थापाले बताए । जतिसक्दो बढि संकलन गरी राष्ट्रका हिरोहरुलाई सहयोग गर्ने संघको चाहना रहेको उनले जानकारी दिए । 
 
नेपालले यहाँ रहँदा अमेरिकासँग दुई र ओमानसँग दुई खेल खेल्नेछ । नेपालको पहिलो खेल जुन ९ मा ओमानविरुद्व हुनेछ । त्यसैगरी जुन ११ मा अमेरिकासँग र जुन १४ मा ओमानसँग र जुन १५ मा अमेरिकासँग नेपालको खेल हुनेछ । 
विश्व कप क्रिकेट लिगअन्तर्गतका खेलहरु भने २८ मे बाट सुरु हुनेछ । २८ मे बाट जुन ४ सम्म अमेरिका, स्कटल्याण्ड र संयुक्त अरब इमिरेट्सबीच सिरिज का खेलहरु हुनेछ भने नेपाल, ओमान र अमेरिकाबीचको सिरिज अमेरिका र ओमानबीचको जुन ८ मा हुने खेलबाट सुरु हुनेछ । 
 
आइसिसी क्रिकेट वल्र्ड कप लिग टु मा रहेका ७ देशहरु  विश्व कपका लागि छनौट हुन प्रतिष्पर्धामा छन् । अहिलेसम्म अंक तालिकामा ओमान ३२ खेल खेल्दै १९ जितसहित ४० अंकसहित शीर्ष स्थानमा रहेको छ । यसैगरी स्कटल्याण्ड १६ खेलमा ११ मा जित निकाल्दै २४ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस्तै, युएई १८ खेलमा १० जित निकाल्दै २२  अंकका साथ तेस्रो स्थानमा, नामिबिया १४ खेलमा ७ मा जित निकाल्दै १४ अंकका साथ चौथो स्थानमा, युएसए १६ खेलमा ७ मा जित निकाल्दै १४ अंकका साथ पाँचौ स्थानमा , नेपाल १२ खेलमा ६ मा जित निकाल्दै १२ अंकका साथ छैठौं र पपुवा न्यूगिनी २० खेलमा १ मा जित निकाल्दै २ अंकका साथ सातौं स्थानमा रहेको छ । 
 
नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेट किपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहेका छन् ।
 

शेयर गर्नुहोस:

675
Shares