भरतपुर । राजनीतिमा पक्षधरता हुन्छ । प्रतिस्पर्धा पनि तीव्र हुन्छ । अनि चुनावी गरगर्मीमा त प्रतिशोध र आफ्ना प्रतिस्पर्धीप्रति अनेकन टीकाटिप्पणीसमेत गरिएको पाइन्छ । तर, त्यो चुनावी मैदानमा मात्र हुन्छ ।
राजनीतिमा प्रतिस्पर्धीको सम्मान पनि हुन्छ । अग्रजप्रति सद्भाव पनि रहन्छ । आजभोलि राजनीतिमा प्रतिस्पर्धीबीच असल संस्कारको अभाव खट्किएको पाइन्छ । तर, हेटौँडा एक विजयी वडाध्यक्षले आफ्ना प्रतिस्पर्धीलाई नै काँधमा बोकेर खुसियाली मनाएका छन् ।
मकवानपुरको हेटौँडा–५ मा नेकपा (एमाले)बाट चेला सुशील घिमिरे र नेपाली कांग्रेसबाट गुरु ह्याग्रीव आचार्य वडाध्यक्षका प्रत्याशी बने । आ–आफ्ना राजनीतिक आस्था बमोजिम दुवै जना चुनावी मैदानमा भिडे । निर्वाचन सकिएपछि जब मतगणना भयो चेला घिमिरे विजयी बने ।
चेला घिमिरेले चुनाव जित्दै गर्दा उनमा जितको उन्मात कत्ति पनि देखिएन । जितेपछि विजयोत्सव मनाउनु स्वाभाविकै थियो । तर, उनले आफ्ना तिनै श्रद्धेय गुरु ह्याग्रीव आचार्यसँग आशीर्वाद थाप्दै उनैलाई काँधमा बोकेर खुसियाली मनाए ।
अहिले यो तस्बिर सामाजिक सञ्जालमा चर्चाको विषय बन्न पुगेको छ । ह्याग्रीव घिमिरेका शिक्षक भएकाले चुनावी प्रतिस्पर्धाका क्रममा पनि उनले सौहार्द्धपूर्ण व्यवहार प्रदर्शन गरेका थिए । यतिसम्म कि ह्याग्रीव घरदैलो अभियानका क्रममा उनको घरमा आउँदा सगुन स्वरुप दही खुवाएर शुभेच्छा प्रकट गरेका थिए ।
गुरुसँग चुनावी प्रतिस्पर्धा गर्न घिमिरेलाई यसकारण पनि बाध्यता आइलाग्यो कि ह्याग्रीवको उमेदवारीअघि नै उनको उमेदवारी निश्चित भइसकेको थियो । कांग्रेसले पनि वडाध्यक्षमा गुरु ह्याग्रीवलाई नै टिकट दियो ।
आफ्नै चेलासँग चुनावी प्रतिस्पर्धा गर्नुपर्दा ह्याग्रीवलाई असहज लाग्नु स्वाभाविकै भयो । दुवै उमेदवारले सौहार्द्धपूर्ण वातावरणमा चुनावमा प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाएका थिए । चेला घिमिरे विजयी भएपछि आफ्ना गुरुप्रति गरेको सम्मान र प्रदर्शन गरेको सौहार्द्धताप्रति यतिखेर आममानिसले प्रशंसा गरिरहेका छन् ।
मानिस जुनकुनै पदमा पुगोस्, आफ्नो संस्कार बिर्सियो भने त्यो काम लाग्दैन । थुप्रै राजनीतिमा लागेकाहरुले आफ्नो राजनीतिक संस्कार भुल्दै गएको परिप्रेक्ष्यमा घिमिरेले आफ्ना गुरुप्रति दर्शाएको सम्मान अनुकरणीय छ । त्यो सबैले सिक्नुपर्छ । तस्बिर : सामाजिक सञ्जाल







प्रतिक्रिया