काठमाडौँ । नेपाल डेमोक्रेट युनियनले तिब्बतको मुक्ति आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेको छ । ‘६३औं टिबेटन अपराइजिङ डे’ का अवसरमा बिहीबार युनियनका अध्यक्ष सिद्धार्थ गौतमले संयुक्त राष्ट्रसंघलाई एक स्मरण पत्र लेख्दै तिब्बतीयन आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।
उक्त स्मरण पत्रमा तिब्बतमाथिको अतिक्रमण तत्काल फिर्ता लिई तिब्बती जनताको स्वतन्त्रता र प्रजातन्त्रको सम्मान गर्न कम्युनिस्ट चीनलाई अपिल गरिएको छ। अन्यथा विश्व समुदायबाट बहिस्कृत हुने र आफ्नो पतनको दिनगन्ती सुरु गर्नुपर्ने दिन कम्युनिस्ट चीनले चाँडै देख्नुपर्ने चेतावनीसमेत दिइएको छ ।
‘कम्युनिस्ट चीनको तिब्बतमाथिको अतिक्रमणविरुद्ध, स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा तिब्बती जनताले ६३ वर्षदेखि गरिरहेको संघर्षलाई अभिवादन गर्दै नेपाल डेमोक्रेट युनियन ६३औँ टिबेटन अपराइजिङ डे का अवसरमा समस्त तिब्बती जनताप्रति शुभकामना व्यक्त गर्दछ’ स्मरण पत्रमा भनिएको छ, ‘तिब्बत मुक्ति आन्दोलन चीनको पञ्जाबाट मुक्त हुन चाहने तिब्बती जनताको आन्दोलनमात्र नभएर न्याय, स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्रप्रेमी विश्व समुदायको आन्दोलनकै एक अङ्ग हो । नेपाल डेमोक्रेट युनियन विश्वभरका प्रजातन्त्रप्रेमी जनता र सरकारका साथै नेपाली जनताको तर्फबाट तिब्बत मुक्ति आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछ।’
चीनलाई धम्कीपूर्ण भाषामा चेतावनी दिँदै स्मरण पत्रमा लखिएको छ, ‘तिब्बती जनताको स्वतन्त्रता र प्रजातन्त्रको अदम्य चाहनाको लागि विश्वभर छरिएर पनि तिब्बत मुक्ति आन्दोलनमा एकढिक्का भएर लागेका तिब्बती जनतालाई अभिवादन गर्दै नेपाल डेमोक्रेट युनियन आफूलाई प्रजातन्त्रप्रेमी मान्ने सबै पार्टी र नेताहरुलाई तिब्बत मुक्ति आन्दोलनका पक्षमा सहयोग तथा समर्थन गर्नसमेत आग्रह गर्दछ।’
युनियनले विश्वमा शान्ति, स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्रको संरक्षण सम्वद्धनको जिम्मेवारी बोकेको संयुक्त राष्ट्र संघले तिब्बती जनताको स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्रको प्रत्याभूमिको निम्ति आवश्यक कदम चालोस् भन्ने चाहना पनि व्यक्त गरेको छ।
यसका साथै तिब्बतलाई कम्युनिस्ट चीनको विस्तारवादी सर्वसत्तावादी कब्जाबाट मुक्ति दिलाउने वातावरण तयार गरोस् भन्ने विशेष आग्रहसमेत गरिएको छ।








प्रतिक्रिया