मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एमसिसीको बारेमा गलत प्रचार गरियो : प्रवक्ता महत

एमसिसीको बारेमा गलत प्रचार गरियो : प्रवक्ता महत


चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमसिसीका बारेका नियोजितरुपमा गलत प्रचार गरिएको बताएका छन् ।
 
पूर्वसांसद् स्वर्गीय एकनाथ रानाभाटको प्रथम स्मृतिसभामा उनले एमसिसीको बारेमा सबै दलहरुको समर्थन रहेको रहेको भन्दै केही अमूक मान्छेहरुले गलत प्रचार गरिरहेको बताए । एमसिसी नेपालको विकासका लागि उत्कृष्ट सम्झौता रहेको भन्दै पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका महतले यो सबैभन्दा ठूलो अनुदान सहयोग रहेको बताए ।
 
एमसिसी पास भयो भने अमेरिकी सेनाले नेपालमा कब्जा जमाउँछ, विकास निर्माणमा हस्तक्षेप हुन्छ, नेपाल अर्काको अधीनमा जान्छ भन्नेजस्ता गलत प्रचार गरेर ठूलो विदेशी अनुदानलाई संकटमा पार्न खोजिएको उनको भनाइ थियो । 
 
‘एमसिसीका बारेमा अहिले भएको विरोध नियोजित हो’, उनले भने, ‘एमसिसीलाई राजनीतिकरण गर्न खोजियो ।’ एमसिसीका विषयमा अन्योल खडा नगरी संसद्बाट पास गर्नुपर्ने उनको जिकिर थियो ।
 
एमसिसीमा अहिलेसम्म सरकारमा सहभागी दलहरुको सहभागिता रहेको उनले बताए । ‘एमसिसी सहयोग नेपालको स्वार्थका आधारमा आएको हो’, उनले भने, ‘बखेडा झिक्नु गलत प्रवृत्ति हो ।’सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको भन्दै उनले  सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद्मा पेश गर्छु, यो गर्दिनँ भन्न नमिल्नेसमेत बताए ।
 
अर्को प्रसङ्गमा नेता महतले कांग्रेसको जिल्ला अधिवेशनको प्रभाव स्थानीय तहको निर्वाचनमा पर्न नहुने बताए । पार्टीको लक्ष्य प्राप्तिको लागि निर्वाचन जित्नैपर्ने भन्दै उनले एकढिक्का भएर निर्वाचनमा केन्द्रित हुन आग्रह गरे । नेता महतले नेपालका कम्युनिस्ट शक्तिहरु जुनसुकै बेला मिल्न सक्ने भएकाले कांग्रेस सर्तक हुनुपर्ने बताए ।
 
‘कम्युनिस्टहरु जतिसुकै झगडा गरे पनि तुरून्तै मिलेर भोट हाल्न सक्छन्’, उनले भने, यसतर्र्फ कांग्रेस सर्तक हुनुपर्छ ।’ नेता महतले गठबन्धनको स्थायित्वका विषयमा कांग्रेसले आवश्यकताका आधारमा निर्णय लिने बताए । 
 
‘निर्वाचनमा गठबन्धन गर्दैनौँ भन्यो भने कम्युनिस्टहरु मिल्न सक्छन्’, उनले भने, ‘त्यसको विषयमा कांग्रेसले पछि निर्णय लिने छ ।’
 
नेपाली कांग्रेस चितवन क्षेत्र नं १ प्रदेश ‘ख’ समितिले आयोजना गरेको कार्यक्रममा एकनाथ रानाभाटका भाइ होमनाथ रानाभाटले एकनाथको जीवनीको बारेका प्रकाश पारेका थिए ।
 
समितिका सभापति गोविन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु दिनेश कोइराला, अञ्जनी श्रेष्ठ, टेकप्रसाद गुरूङ, पूर्वशिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, जिल्ला सभापति जीतनारायण श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नेपाली कांग्रेस चितवन क्षेत्र नं १ प्रदेश ‘ख’ समितिका सचिव देवेन्द्र भुजेलले सञ्चालन गरेका थिए ।
 
यसैबीच, शनिबार भरतपुरमा पत्रकारसँग कुरा गर्दै नेता महतले सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको बताएका छन् । उनले भने, “सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद्मा पेश गर्छु, यो गर्दिनँ भन्ने जिम्मेवारीभित्र पर्दैन ।” संसद्मा छलफल भए यस विषयमा निकास निस्कने उनको भनाइ छ ।
 
स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ कि हँुदैन भन्ने पत्रकारको प्रश्नमा उनले यस विषयमा अहिले बहस गर्ने समय नभएको बताए । उनले भने, “गठबन्धनका विषयमा समय आएपछि छलफल हुन्छ ।” दलहरुले आ–आफ्नो आवश्यकतानुसार छलफल गरेरमात्रै गठबन्धनका विषयमा टुङ्गो लाग्ने उनले जानकारी दिए । फाइदाका आधारमा गठबन्धनको निर्णय हुने उनको भनाइ थियो ।

शेयर गर्नुहोस:

162
Shares